+
+

कांग्रेस सहमहामन्त्रीहरुले देउवालाई भने : हामीलाई काम दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १३:५९
कांग्रेस सहमहामन्त्री महेन्द्र यादव

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्रीहरुले पार्टीमा भूमिका खोजेका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको छलफलमा सहमहामन्त्रीहरुले पार्टीमा आफूहरुलाई कामको जिम्मेवारी नदिएकामा असन्तुष्टि जनाएका हुन् ।

कांग्रेसको विधानमा अरु पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार उल्लेख छ तर सहमहामन्त्रीको छैन । त्यसैले सहमहामन्त्रीलाई कामको जिम्मेवारी दिने अधिकार सभापति शेरबहादुर देउवालाई छ ।

पदाधिकारी निर्वाचित भएको दुई वर्ष भन्दा बढी भइसक्दा पनि सहमहामन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । कांग्रेसका समावेशी सिद्धान्त अनुसार विभिन्न ८ क्लस्टरबाट एक एक जना सहमहामन्त्री छन् ।

सहमहामन्त्री महेन्द्र यादवले आठ सहमहामन्त्रीको जिम्मेवारी स्पष्ट गर्न पार्टी बैठकमा धारणा राखेको सुनाए । ‘सहमहामन्त्रीलाई अधिकार दिने बारेमा हामीले कुरा राख्यौं’, यादवले भने, ‘सबै सहमहामन्त्रीलाई अधिकार देऊ भनेर सबैले भनेका छौं । के गर्छन् थाहा छैन ।’

गत महाधिवेशनमा मुस्लिमबाट फरमुल्लाह मन्सुर, थारुबाट उमाकान्त चौधरी, महिलाबाट महालक्ष्मी उपाध्याय ‘डिना’, आदिबासी जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेशीबाट महेन्द्र यादव, खसआर्यबाट किशोरसिंह राठोर, दलितबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सहमहामन्त्री निर्वाचित भएका थिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति बारेमा जानकारी गराएका थिए । कांग्रेस, एमाले र माओवादी केन्द्रका तीन नेता सम्मिलित कार्यदलले टीआरसी विधेयकको विवादित विषयमा राजनीतिक सहमति जुटाएको थियो ।

बैठकमा सहभागी पूर्वउपसभापति गोपालमान श्रेष्ठले गृहमन्त्री लेखकले टीआरसीमा भएको सहमति विस्तृतमा सुनाएको जानकारी गराए । लेखकको भनाई उधृत गर्दै श्रेष्ठले भने, ‘कार्यदलमा भएको सहमति अब नेतृत्व तहमा पेश गर्छौं । उहाँहरुको सहमति भएपछि विधेयक अघि बढ्छ ।’

सत्ता समीकरणका लागि जुन दलसँग मिलेपनि पार्टीभित्र विरोध हुने गरेको भन्दै सहमहामन्त्री यादवले आपत्ति जनाएका थिए । पुरानो गठबन्धनलाई पनि पार्टीमा विरोध हुने गरेको र अहिले पनि विरोध नै गरिएकाले आपत्ति जनाएको विषय आफूले उठाएको यादवले बताए ।

‘विरोधै गरिराखेर हामीले गर्ने चाहिं के हो ? रोडमा आउने ? कांग्रेसलाई एकथरी साथीहरुले रोडमै राख्न खोजेका छन्’, आफूले बैठकमा राखेको धारणाबारे यादवले भने । अहिलेको गठबन्धनलाई बलियो बनाएर जानुपर्ने र एक वर्षपछि मात्रै सरकारको कमीकमजोरी बारे छलफल हुनुपर्ने उनको भनाइ छ ।

२३ साउनदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा बारे छलफल गर्न देउवाले सोमबार शीर्ष नेताको बैठक बोलाएका थिए । २०८० को ७ देखि १० फागुनसम्म भएको महासमिति बैठकले उक्त बैठकमा प्रस्तुत प्रतिवेदनहरु परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्ने निर्णय गरेको थियो । तर पाँच महिनासम्म केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिकको प्रस्ताव पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?