+

काभा नेसन्स लिग : नेपाललाई इरानविरुद्ध बदला लिने अवसर

२०८१ साउन  २२ गते ८:४७ २०८१ साउन २२ गते ८:४७
काभा नेसन्स लिग : नेपाललाई इरानविरुद्ध बदला लिने अवसर

२२ साउन, काठमाडौं । घरेलु कोर्टमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्य राखेको नेपालले आज महत्वपूर्ण खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ ।

नकआउट खेल भएकोले मंगलबार इरानविरुद्ध सेमिफाइनल खेल्न कोर्ट उत्रँदा नेपालसामु जितको विकल्प हुने छैन ।

लिग चरणमा इरानसँग मात्र पराजित भएको नेपाल त्यसको बदला लिंदै फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपाल र इरानबीचको खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो ३ बजे भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

लिग चरणमा नेपालले भारतमाथि पाँच सेटमा ऐतिहासिक जित हात पार्दा इरानसँग पाँचै सेटमै पराजित भएको थियो । यस्तै भारतले इरानलाई ३-१ ले पराजित गरेको थियो । यही तीन टिममध्ये दुई टिम नै फाइनल पुग्ने सम्भावना बलियो छ ।

लिग चरणमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो । शनिबार भारतलाई हराएपछि लगातार खेल्नुपरेकोले आइतबार इरानसँग पराजित भएको मुख्य प्रशिक्षक जगदिश भट्टले बताएका थिए ।

सोमबार लिगको अन्तिम खेलमा नेपालले सेटका खेलाडीहरुलाई आराम दिंदै दोस्रो रोजाइका खेलाडी खेलाएको थियो । जसले गर्दा खेलाडीले रिकभरीको लागि समय पाएका थिए ।

इरानी टोलीमा एक खेलाडी बाहेक सबै खेलाडी १९ वर्षमुनिका छन् । उनीहरुले लिग चरणमा नेपालविरुद्ध डिफेन्समा उत्कृष्ट प्रदर्शन गरेका थिए । हजारौंको संख्यामा रहेका नेपाली समर्थकविरुद्ध पनि इरानले एकजुट भएर नआत्तिकन खेल प्रदर्शन गरेको थियो । जुन जितको अर्को कारण थियो ।

लिग चरणमा गरेको गल्तीलाई सच्याउँदै सेमिफाइनलमा इरानविरुद्ध राम्रो प्रदर्शन गर्ने नेपालको लक्ष्य छ ।

सेमिफाइनलमा नेपाललाई गल्ती गर्ने छुट नभएको मुख्य प्रशिक्षक भट्ट र कप्तान अरुणा शाहीले बताएका छन् । ‘इरान विरुद्ध यसअघिको खेलमा हामीले सामान्य गल्ती गर्‍यौं । अब हामीले गल्ती गर्नुहुँदैन भन्ने खेलाडीले पनि बुझेका छन्,’ भट्टले लिगको अन्तिम खेलमा माल्दिभ्सलाई हराएपछि भनेका थिए ।

कप्तान अरुणा शाहीले पनि इरानसँगको खेलमा आफूहरूलाई गल्ती गर्ने कुनै छुट नभएको बताउँदै राम्रो प्रदर्शन गर्ने बताइन् । ‘उपाधि जित्ने लक्ष्य राखेपछि हामीलाई गल्ती गर्ने छुट छैन,’ कप्तान अरुणाले भनिन् ।

यसअघि रिसिभ र डिफेन्समा कमजोर रहेको र त्यसमा राम्रो प्रदर्शन गरे इरानलाई हराउन सकिने उनको भनाइ छ ।

कप्तान अरुणासँगै आउटसाइड हिटरद्वय निरुता ठगुन्ना र उषा भण्डारी, अपोजिट स्पाइकर सरस्वती चौधरीको प्रदर्शन नेपालको लागि महत्वपूर्ण बन्न सक्छ ।

पहिलोपटक सिनियर टिमबाट खेलिरहेकी मिडल ब्लकर सुमित्रा रेग्मीले पनि राम्रो प्रदर्शन गरिरहेकी छन् । यस्तै नेपालको डिफेन्समा लिबेरो सलिना श्रेष्ठ हुनेछिन् ।

नेपालले अहिलेसम्म इरानसँग खेलेका दुवै खेलमा पराजित भएको छ । सन् २०१७ मा भएको एफआईभिबी वुमन्स भलिबल क्वालिफिकेसनमा नेपाल इरानसँग सोझो सेटमा पराजित भएको थियो भने यसपटक घरेलु कोर्टमै पराजित भयो ।

काभा नेसन्स लिगमा भारतलाई हराउने लक्ष्य पूरा गरेको नेपालको अब अर्को लक्ष्य उपाधि जित्ने छ । त्यसका लागि सेमिफाइनलमा इरानलाई हराउनुपर्नेछ र त्यसपछि फाइनल जित्नुपर्नेछ । श्रीलंका तुलानात्मक रुपमा कमजोर रहेकोले भारत फाइनल पुग्नका लागि बलियो दाबेदारको रुपमा छ ।

काभा नेसन्स कप काभा वुमन्स नेसन्स कप नेपाली भलिबल नेपाली भलिबल टोली महिला भलिबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय