+
+

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगु संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १३:०५

२२ साउन, काठमाडौं । डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार ती व्यक्तिमा दीर्धकालिन स्वास्थ्य समस्या समेत थियो । गत जनावरी देखि हालसम्म ७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगु पोजिटिभ देखिएको महाशाखाले जनाएको छ ।

हालसम्म ५ जिल्लामा एकसय भन्दा बढीमा डेंगु संक्रमित भइसकेका छन् । काठमाडौंमा २८७, कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६ र तनहुँमा ११० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसवर्ष ७३ जिल्लामा डेंगु फैलिसकेको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक डेंगुका बिरामी देखापरेका छैनन् ।

एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । अब डेंगुका बिरामी बढ्नसक्ने महाशाखाको अनुमान छ ।

एडिस एजेप्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।

२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगु संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।

सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

२०२३ मा भने कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए ।

डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।

ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्ने पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?