+

वर्षायाममा छालाको अनेक समस्या, के छ उपचार ?

२०८१ साउन  २२ गते १७:४८ २०८१ साउन २२ गते १७:४८
वर्षायाममा छालाको अनेक समस्या, के छ उपचार ?

वर्षायाम छ । यतिबेला छालाको समस्याले बढी सताउने गर्छ । धेरैलाई छाला चिलाउने, पोल्ने र बिमिरा आउने लक्षणहरू देखिएका छन् । यी लक्षण फंगल इन्फेक्सन (ढुसीजन्य संक्रमण)का कारणले आएको हुनसक्छ ।

वर्षा र गर्मी मौसममा फंगसको सक्रियता बढ्छ । जुन छालामा टाँसिएर असर गर्न थाल्छ ।

के हो फंगस ? किन वर्षायाममा सक्रियता बढ्छ ?

फंगस भनेको एक प्रकारको परजीवी (जीवाणु) हो । यसलाई नेपालीमा ढुसी पनि भनिन्छ । यो बासी, सडेगलेका खानेकुरा, कुहिएको वस्तु र ओसिलो क्षेत्र (भिजिराख्ने ठाँउ)मा सक्रिय हुन्छ ।

वर्षायाममा दिनहुँ जस्तो पानी पर्दा जमिनको सतह ओसिलो भएको हुन्छ । जहाँ  ढुसीहरू पलाउने र विकास हुने गर्छ । जमिनमा ओसिलोका कारणले मात्र नभई शरीर भिज्दा पनि ढुसी आउन सक्छ । जस्तै, पानीले भिजिरहने खुट्टा, जुत्ता र लुगा भिजे पनि नफेरी बस्ने, चिसै लुगा लगाउने गर्दा ढुसी शरीरमा फैलिन सक्छ ।

हात, खुट्टा र काछ सुक्खा नभएमा पनि ढुसीले संक्रमण गर्न सक्छ ।

के कस्ता लक्षण देखिन्छ ?

ढुसीले हातखुट्टा, औंला, काछ, ढाड, काखी, स्तनको तल्लो भाग, टाउको, यौनाङ्ग र नङमा संक्रमण गर्न सक्छ । संक्रमण गरेमा गोलो, फुस्रो, रातो बीचमा सेतो दाग आउने,  चिलाउने, त्यस वरवर कत्ला देखिन सक्छ ।

कहिलेकाहीं सानो कनिका दानाजस्तो दानाहरू देखिन सक्छ । खुट्टाको औंलाको बीचमा दाग देखिएमा फुस्रो, छाला निस्कने र चिलाइराख्ने हुन्छ । जसलाई हिलोले खाएको पनि भन्ने गरिन्छ । काछमा पनि रातो फुस्रो दाग र फोकाहरु देखिन सक्छ ।

को बढी जोखिममा ?

खेतबारीमा भिजेर काम गर्ने किसान, पानीमा काम बढी गर्ने  र पानीमा भिज्ने व्यक्तिमा ढुसीको संक्रमण हुनसक्छ ।

महिला तथा किशोरीहरुमा पनि यो समयमा देखिन सक्छ । त्यसै पनि यौनांग ओसिलो भइराख्ने हुन्छ । जसकारण सुक्खा बनाएर राखेन भने ढुसीले संक्रमण गर्न सक्छ ।

त्यस्तै, अत्यधिक पसिना आउने व्यक्तिमा काखी र काछ ओसिलो भइरहने हुँदा  ढुसीजन्य संक्रमणले सताउन सक्छ ।

रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरूमा पनि ढुसी संक्रमण आउन सक्छ । किनकि, प्रतिरोध शक्ति कम हुने बित्तिकै यस्ता ढुसीहरू छालामा संक्रमण गर्ने अवसर पाउँछन् ।

यो संक्रमण सिधा पानीबाट मात्रै सर्छ भन्ने छैन । ढुसीले संक्रमण गरेको व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ । परिवारमा कसैमा छ भने पनि लुगा, कपडा, तौलिया र साबुनबाट एकबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

पहिचान तथा उपचार

ढुसीले संक्रमण पत्ता लगाउन डर्मोस्कोपबाट छालाको अवस्था हेरिन्छ । र, संक्रमण भएको पाइएमा चिकित्सकको सल्लाहमा एन्टी फंगल औषधि खाने र लगाउने दुवै प्रयोग गर्नुपर्छ । यसले छिटो निको पार्ने र अरूलाई सर्न पनि दिंदैन । यो औषधि लगाउने तर खाने औषधि नखाने गर्नु हुँदैन ।

जथाभावी स्टेरोयड मलम लगाउनु हुँदैन

कतिपयले छाला चिलाएमा ओभर द काउन्टर (चिकित्सकले लेखिदिएको औषधि पूर्जा बेगर) स्टेरोयड औषधि प्रयोग गर्छन् । यस्ता लक्षणमा स्टेरोयड मलम लगाउनु हुँदैन ।

यो औषधिले केही समयसम्म निको भए जस्तो पारे पनि फेरि फैलिन सक्छ । यसले छाता पातलो गर्ने, खत बसाउने, अन्य ठाउँमा फैलाउने, रौं उमार्ने गराउन सक्छ ।

त्यसैले, छालामा कुनै समस्या देखिए छालारोग विशेषज्ञलाई नै देखाएर मात्र औषधि उपचार गराउनुपर्छ ।

कसरी बच्ने ?

वर्षायाममा फंगल (ढुसी) संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । भिजिरहने अंग काखी, गुप्तांग, काछ सुक्खा राख्नुपर्छ । त्यसका लागि सम्भव भएसम्म त्यस ठाँउहरु सफा पानीले पखालिराख्नुपर्छ ।

पसिना आइरहन्छ भने एन्टी फंगल पाउडर राख्न सकिन्छ । मोजा लगाउनुअघि पसिना पुछ्ने, एन्टी फंगल पाउडर लगाइरहयो भने ओसिलो हुन दिंदैन ।

दिनहुँ भित्री वस्त्र परिवर्तन गर्नुपर्छ । बाहिरी लुगा पनि पानीले भिजेको छ भने तुरुन्त परिवर्तन गरिहाल्नुपर्छ । वर्षातको समयमा आपतकालीन अवस्थाका लागि दुई जोडी नयाँ भित्री वस्त्र तयार राख्नुपर्छ ।

त्यस्तै, लुगाहरु घाममा सुकेपछि मात्र लगाउनुपर्छ । तौलिया, साबुन र काइयो व्यक्तिगत बनाउनुपर्छ । कुकुर तथा बिरालो जस्ता घरपालुवा जनावरमा पनि चिसोले ढुसी आएको हुनसक्छ । यस्तोमा उनीहरुबाट पनि सर्ने  उपचार गर्ने यो समस्या देखिए उपचार गर्नुपर्छ ।

छालारोग डा. प्रज्वल पुडासैनी फंगस वर्षायाम
डा. प्रज्ज्वल पुडासैनी
लेखक
डा. प्रज्ज्वल पुडासैनी
छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : १७६०७ एमबीबीएस, एमडी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती  कर्मचारी अस्पताल र भक्तपुरस्थित बीएससीसी क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय