+
+

कांग्रेसमा ७० पुग्यो विभाग, केही टुक्र्याइयो, कुनै थपियो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १९:०६

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय विभागको संख्या थपेर ७० पुर्‍याउने भएको छ । पार्टीको विधानमा ४८ वटा विभाग रहने व्यवस्था भए पनि विषयगत विभागहरु थप गर्दा ७० पुग्ने महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

कतिपय पुराना विभाग विभाजन गरिएको र कतिपय नयाँ थप गरिएको उनले बताए । सभापति शेरबहादुर देउवाले १२ जेठ २०८० मा प्रचार विभागमा मीन विश्वकर्मालाई तोकेदेखि सोमबारसम्म पाँच पटक गरी ५५ जना केन्द्रीय सदस्यलाई विभिन्न विभागको प्रमुख तोकेका छन् । अरु विभागका प्रमुख तोकिन बाँकी छन् ।

विधानतः बनेका विभागका लागि काम, कर्तव्य र अधिकार किटान गरिएको छ । नयाँ थपिएका विभागका हकमा भने उनीहरुको भूमिका स्पष्ट भएको छैन । महामन्त्री शर्माले केन्द्रीय कार्यालयले उनीहरुले गर्ने काम तोक्ने बताए ।

प्रत्येक विभागमा प्रमुखसहित ५१ जनासम्म सदस्य हुने व्यवस्था छ । महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था पार्टी विधानमा भए पनि साढे दुई वर्षसम्म गठन हुन सकेको थिएन ।

विभाग टुक्र्याइयो

कांग्रेसले संघीय मामिला तथा प्रदेश समन्वय विभागलाई छुट्याएर दुईवटा विभाग बनाएको छ । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभागको प्रमुख बनेका छन् भने संघीय मामिला समन्वय विभागको प्रमुख केन्द्रीय सदस्य चन्द्रबहादुर केसी बनेका छन् ।

संवैधानिक तथा कानुन विभागलाई फुटाएर मानबहादुर नेपालीलाई कानुन विभागको जिम्मेवारी दिइएको छ ।

दलित विभागको नाम परिवर्तन गरी दलित समुदाय समन्वय र सशक्तिकरण विभाग बनाइएको छ । यो विभागको प्रमुखमा केन्द्रीय सदस्य लक्ष्मी परियार तोकिएकी छन् ।

वित्तीय तथा सहकारी संस्था समन्वय विभाग टुक्रएर देवेन्द्रराज कँडेललाई सहकारी विभाग र कर्णबहादुर बुढालाई वित्तीय समन्वय विभागको प्रमुख बनाइएको छ ।

नयाँ थपेर जिम्मेवारी

विभागको संख्या बढाउन क्षेत्रगत रुपमा विभिन्न विभागहरु थपिएको छ । मानव अधिकार विभाग थप गरेर प्रमुखमा धना खतिवडालाई मनोनित गरिएको छ । केन्द्रीय सदस्य कल्याण गुरुङ वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख बनेका छन् ।

अन्य थपिएका विभागमा पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा अजयबाबु शिवाकोटी, ऊर्जा तथा जलस्रोत विभागमा अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा डा. जीवन राना, नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागमा लक्ष्मी खतिवडा, व्यवसायिक सीप विकास विभागमा गंगालक्ष्मी अवाल, विपन्न उत्थान समन्वय विभागमा डा. गोपाल दहित, सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी प्रमुख बनेका छन् ।

त्यस्तै धर्म–संस्कृति समन्वय विभागमा ध्यानगोविन्द रञ्जित, पूर्व आप्रवासी समन्वय विभागमा दिनेश कोइराला, जेष्ठ नागरिक समन्वय विभागमा गेहेन्द्र गिरी, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग सीता थपलिया (उर्मिला) ले जिम्मेवारी पाएका छन् ।

गठन हुनै बाँकी छ विभाग
केही विभाग गठन गर्न अझै बाँकी राखिएको छ । शक्तिशाली भनिएका संगठन र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख हालसम्म तोकिएको छैन । सभापति शेरबहादुर देउवाले ती दुई विभागको प्रमुखमा चासो देखाएका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विभाग प्रमुखका लागि ३८ जनाको नाम दिएका थिए । तीमध्ये देउवाले ३७ जनालाई सोमबार जिम्मेवारी दिए ।
गठन हुन बाँकी विभागमा भ्रातृ संघ समन्वय, श्रमिक तथा ट्रेड युनियन, गैर आवासीय नेपाली समन्वय, पूर्वराष्ट्रसेवक विभाग लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?