+

फेरिएको रणनीतिले इरानसँग मिठो बदला

२०८१ साउन  २२ गते २२:०७ २०८१ साउन २२ गते २२:०७
फेरिएको रणनीतिले इरानसँग मिठो बदला

२२ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा आइतबार जित नजिक पुगेर इरानसँग ३-२ को सेटमा पराजित मात्र भएन, शीर्ष स्थानमा रहने अवसर गुमायो ।

शनिबार भारतलाई पहिलो पटक हराएको नेपालले इरानलाई पनि जित्न सकेको भए फाइनल प्रवेशका लागि चौथो स्थानको श्रीलंकासँग खेल्दा पुग्यो । दशरथ रंगशालास्थित भलिबल कभर्ड हलमा शनिबार भएको खेलमा नेपाल १६–२५, २५–१६, २३–२५, २५–१५ र १५–१३ ले पराजित हुन पुग्यो ।

अनि मंगलबार त्यहीँ इरानसँग सेमिफाइनल खेल्नुपर्ने भयो । दुई दिनअघि मात्र हराएको टोलीसँग खेल्नुपर्दा नेपाल दबावमा थियो । तर नेपालले इरानलाई इरानलाई ३–० को सोझो सेटमा हरायो, अनि फाइनलमा भारतसँग भेट पक्का गर्‍यो ।

कभर्डहलमा भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हरायो । इरानको खेल अध्ययन गरेर आउँदा सहज भएको कप्तान अरुणा शाही बताउँछिन् ।

लिगमा इरानले नेपाललाई हराउँदा डिफेन्स र मानसिक खेल खेलेको थियो । तर मंगलबार नेपालले आफ्नो रणनीति परिवर्तन गर्‍यो । उसले मानसिक खेल खेल्यो । पहिलो खेलमा जस्तो शक्तिशाली स्पाइकको सट्टा स्लो र प्लेसमेन्टबाट अंक बटुल्यो ।

पहिलो सेटको सुरुवातमा ५-१ ले पछि परेको नेपाल टाइम आउट लिँदै खेलमा फर्किएको थियो । ५ अंकमा इरानसँग बराबरी गरेको नेपाल त्यसपछि अगाडि लाग्यो र सहज रुपमा २५-२१ ले पहिलो सेटमा जित हात पार्‍यो ।

दोस्रो सेटमा पनि नेपाल १३-७ को अवस्थामा थियो । तर पछि इरानले उत्कृष्ट पुनरागमन गर्दै १९-१९ को बराबरी गर्‍यो । इरान एक समय त २४-२१ को अवस्थामा थियो । इरानलाई दोस्रो सेट जित्न जम्मा १ प्वाइन्ट चाहिएको थियो ।

तर उषा भण्डारीले उत्कृष्ट स्पाइकमा लगातार तीन अंक जोडेपछि खेल २४-२४ को बराबरी भएको थियो । २६-२५ को अवस्थाबाट निरुता ठगुन्नाले लगातार तीन अंक जोड्दै नेपाललाई यादगार २८-२६ को जित दिलाएकी थिइन् ।

तेस्रो सेटमा ६ अंकसम्म हाराहारी थियो । तर इरानले चार अंकको अग्रता लिएपछि १२-८ को अवस्थामा पुग्यो । इरान १४ अंकमा पुग्दा नेपालले बराबरी गर्‍यो । इरानका खेलाडीको गल्तीमा नेपालले अग्रता लियो । त्यसपछि १७ बराबरीबाट पछि छाड्दै २५–२० को सहज जित हात पारेको थियो ।

नेपालले तीनवटै सेटमा पछाडि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै नजिता आफ्नो पक्षमा पारेको थियो । त्यसमा नेपालको मनोबल, फेरिदो रणनीति मुख्य कारण हुन् । साथै इरानले बारम्बार गरेको गल्तीले पनि नेपाललाई लाभ भयो ।

पहिलो सेटमा १२, दोस्रोमा ११ र तेस्रोमा ४ प्वाइन्ट नेपाललले इरानको गल्तीबाट पाएको थियो । यसले पनि जित निकाल्न सहज भयो । नेपालका लागि स्पाइकर उषा भण्डारीले सर्वाधिक १६, निरुता ठगुन्ना १४, सफिया पुन र सरस्वती चौधरीले ७-७ प्वाइन्ट जोडेका थिए ।

‘हामी डोमिनेट गरेर खेल्नुपर्छ भन्ने मानसिकताका साथ आएका थियौं । त्यसले पनि हामीलाई सहयोग गर्‍यो’, खेलपछि कप्तान अरुणा शाहीले भनिन्, ‘हामी पछाडि परेको अवस्थामा पनि त्यही आत्मविश्वासका साथ खेलेका थियौं । २४-२१ को अवस्थामा पुगिसकेको दोस्रो जित्नुको कारण यही हो ।’

काभा वुमन्स नेसन्स लिग भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय