+
+

जिल्ला प्रशासन कार्यालय रुपन्देही कार्यसम्पादनमा उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते ८:४९

२३ साउन,बुटवल । गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार बढी अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको हो ।

गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको हो ।

यस्तै ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो र ९७.६२५ अंक प्राप्त गरी बागलुङ तेस्रो भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल जिल्लामा आएपछि व्यक्ति र संघसंस्थाहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लडमनि जुटाउने लगायत कामको नेतृत्व गरेका थिए ।

अर्यालले संविधान सभा सदस्य कमलेश पुरी गोस्वामीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११, मसिनामा आफ्नै घरसँग जोडिएको सार्वजनिक जग्गा र बाटो अतिक्रमण गरी बनाएको पोखरी र बगैंचा खाली गराएका थिए ।

साउदी अरबमा रहेका यादवलाई मृत्युदण्डबाट जोगाउन रामाशिस यादवबाट साउदीमा हत्या भएका दुर्गाप्रसाद शर्माको परिवारलाई सहमत गराउन तथा पीडित परिवारले माग गरेको ब्लडमनी वापतको रकम जुटाउन आफैंले ५० हजार रुपैयाँ सहयोग रकम दिएर उद्योगी व्यवसायीसँग अनुरोध गरी ४६ लाख रुपैयाँ संकलन गरेका थिए ।

अर्यालले कारागारका कैदीसँग बिदाका दिन र चाडपर्वमा सँगै बसेर मनाउने र खाना खाने तथा उनीहरुलाई जेल जीवनपछि राम्रो कार्यमा लाग्न उत्प्रेरणामूलक प्रशिक्षण समेत दिने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?