+
+

एक वर्षमा ११ हजार पटक बजार अनुगमन, १७८ विरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १४:४९

२३ साउन, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष २०८०/८१ मा ११ हजार २०३ पटक बजार अनुगमन गरेको छ । विभागले बुधबार २०८०/८१ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य तथा दाना बजार अनुगमन ३ हजार ६६३, खाद्य तथा दाना उद्योग अनुगमन ३ हजार २७७, होटल रेस्टुरेन्ट अनुगमन २ हजार ५८५, रेपिड रेस्पोन्स अनुगमन ५४३, हाट बजार/मेला महोत्सव अनुगमन ११६, संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन १ हजार १९ पटक गरी कुल ११ हजार २०३ पटक अनुगमन भएको छ ।

अनुगमनका क्रममा मापदण्ड नरहेका करिब १ करोड १ लाख ६४ हजार ६ सय रुपैयाँ मूल्य बराबरको अखाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको विभागले जनाएको छ ।

निरीक्षण अनुगमनका क्रममा खाद्य तथा दाना ऐन नियमानुसार ३ हजार १२५ नमुनाहरू संकलन भएको विभागले जनाएको छ ।

खाद्यान्न/दलहन, फल तथा सागपात जन्य पदार्थ, तेल तथा घ्यूजन्य पदार्थ, मसला, चिया/कफी, प्रशोधित पिउने पानी,   दूध तथा दुग्ध पदार्थ, मासु तथा मासुजन्य पदार्थ, दाना लगायत गरी २ हजार ६५९ वटा नमुना परीक्षण गर्दा १०९ वटा अर्थात ४.१० प्रतिशत नमूना प्रतिकूल पाइएको विभागले जनाएको छ ।

खाद्य तथा दाना पदार्थ ऐन बमोजिम संकलित नमूनाको विश्लेषण प्रतिवेदन अनुसार प्रतिकूल पाइएका खाद्य तथा दाना पदार्थहरू उत्पादन तथा बिक्री वितरण गर्ने उद्योगी एवम् व्यवसायीमाथि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

आव २०८०/८१ मा सम्बन्धित जिल्ला प्राशासन तथा जिल्ला अदालतमा १७८ वटा मुद्दा भएको विभागले जनाएको छ । जसमा प्रशोधित पिउने पानीका ४५, खाद्यान्न/दलहनका २९, गुलियो पदार्थ/कन्फेक्सनरीका२२,  तेल तथा घ्यूजन्य पदार्थका १८, दूध तथा दुग्ध पदार्थका १६, फल तथा सागपात जन्य पदार्थका ३,  चिया/कफीका ३, अन्य खाद्य पदार्थका २१ र दाना पदार्थका १२ वटा मुद्दा रहेका छन् ।

यसैगरी ६१ वटा मुद्दा दूषित, ५९ न्यून गुणस्तर, ३५ वटा लेबलिङ र २३ मुद्दा खाद्य ऐन नियम निर्देशिक उल्लंघन सम्बन्धी रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?