+
+

प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा : पार्टीकै नेताहरु आश्वस्त पार्ने प्रयास

सइन्द्र राई सइन्द्र राई
२०८१ साउन २३ गते २१:३३

२३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता निर्माणको खेलमा नअल्मने बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि पार्टी गतिविधिमा फर्केका प्रचण्डले पछिल्ला कार्यक्रमहरुबाट सत्ता निर्माणको खेलमा नअल्मलिने बताइरहेका हुन् ।

मंगलबार विराटनगरमा आयोजित प्रशिक्षणमा त प्रचण्डले अवसर आए पनि यो संसदीय कार्यकालभर आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार लामो समय नजाने अनुमान गर्दै प्रचण्डले भनेका थिए, ‘सरकारमा जाने सम्भावना भएपनि म जादिनँ, पार्टीकै अर्कै साथीलाई सरकारको नेतृत्व गर्न पठाउँछु ।’

प्रचण्डले प्रधानमन्त्री नबन्ने घोषणा गर्दा केही भावुक पृष्ठभूमि सुनाएका थिए । विशेषगरी शान्ति प्रक्रियामा आइसकेपछि संघर्ष र संविधान निर्माणको कार्यदिशा सँगसँगै तयार पार्दा पार्टी विभाजनको आधार तयार भएको रियलाइजेसन प्रचण्डको थियो ।

‘… हामी जनयुद्धको तयारी गर्ने, जनयुद्ध उठाउने, हजारौं मान्छेहरुको बलिदानपूर्ण महान् क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेहरुलाई हेर्दाहेर्दै पार्टी सिद्धिन लागेको कुरा त कम पीडादायी हुन्छ होला त !’, प्रचण्डले भनेका थिए ।

माओवादी कमजोर बन्नुमा विभाजन नै मुख्य कारण भएको उनको निष्कर्ष थियो । तर ‘माओवादी अब बन्दैन’ भन्ने भाष्य परिवर्तन गर्न सम्भव रहेको र आफू त्यसमा लागिपरेको प्रचण्डले बताएका छन् । पार्टी पुनर्निर्माणको प्रतिवद्धताकै क्रममा प्रचण्डले फेरि प्रधानमन्त्री नबन्ने प्रतिवद्धता गरेका हुन् ।

नेताहरुका अनुसार प्रचण्डमाथि पार्टीभित्र परेको दबावका कारणले सत्ताको खेलमा नअल्मलिने र अवसर आए पनि आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका हुन् ।

‘माओवादी बनाउने हो भने सत्ताको खेलमा फेरि नअल्मलिने र प्रधानमन्त्री हुनतिर नलाग्ने प्रचण्डले प्रतिबद्धता गर्नुपर्छ भन्ने आवाज बलियो छ’, एक नेताले भने, ‘विराटनगरको कार्यक्रममा पनि कोशीका नेताहरुले फेरि सत्ताको खेलमा नेताहरु फस्ने आशंका गरे, त्यसैको जवाफ अध्यक्षले दिनुपरेको हो ।’

कोशी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि विराटनगर पुगेका प्रचण्डलाई जिल्ला नेताहरुले नै सत्ताको खेलमा नअल्मलिने प्रतिवद्धता मागेका थिए । ‘कांग्रेस र एमालेको जालो तोडेरै २०६४ सालमा हामीले जितेका थियौं । फेरि पनि एक्लै लड्न तयार छौं । तर नेतृत्वले वातावरण बनाउनुपर्छ भन्ने नेताहरुले कुरा राख्नुभयो’, उक्त प्रशिक्षणमा सहभागी एक नेताले भने ।

तर फेरि गठबन्धन निर्माण र प्रधानमन्त्रीको खेलमा फस्ने हो भने पार्टीलाई उठाउन गाह्रो पर्ने नेताहरुले सुनाएका थिए । विगत ९ वर्षसम्म सत्ताको खेलमा लाग्दा पार्टी सक्किदै गएको उनीहरुको निष्कर्ष थियो ।

‘आगामी चुनावसम्म सरकारमा जानै हुँदैन । सत्तामा गएर पार्टी बिग्रियो’, उक्त प्रशिक्षणमा सहभागी केन्द्रीय सदस्य ध्रुब बुढाथोकी धिरेनले भने, ‘सत्तामा हुँदा सबै साथीहरुले भाग नपाउने भयो, भाग नपाउनेहरु रिसाउँदा पार्टी बनेन ।’

प्रशिक्षणमा सहभागी नेताहरुले पनि सत्ताको खेल धेरै नै भएको बताएका थिए । ‘हामी लामै समय सत्तामा रह्यौं । तर पार्टी  कमजोर भइरह्यो’ माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क लिम्बु मिक्सोले भने, ‘अहिले प्रमुख प्रतिपक्षमा छौं, यो पार्टी बनाउने एउटा अवसर पनि हो ।’

तर उनी पनि सत्ताको खेलमा माओवादी केन्द्र लाग्न नहुनेमै जोड दिन्छन् । ‘हाम्रो प्रदेशका अधिकांश नेताहरुको भनाइ पार्टीले गठबन्धनमा होइन, कार्यकर्ता र पार्टीमा विश्वास गर्नुपर्छ भन्ने छ’, मिक्सो भन्छन्, ‘प्रचण्डलाई पनि हामीले त्यही भनेका छौं । माओवादीलाई जनताले हेर्ने दृष्टिकोण बदलिएको सुनाएका छौं ।’

विशेष गरी प्रचण्ड प्रधानमन्त्री हुँदा ठूला भ्रष्टाचारका मुद्दाहरुविरुद्ध गरिएको कारबाहीले जनताको दृष्टिकोण बदलिएको निष्कर्ष बैठकमा सहभागी अधिकांशले सुनाएका थिए । ‘सुशासनको पक्षमा पार्टीले जस्तो कदम चालेको छ । त्यसले हामीलाई हेर्ने बदलिएको छ’ केन्द्रीय सदस्य धिरेन भन्छन्, ‘यसैबेला हामीले ‘एक घर, एक सदस्यः एक टोल एक कमिटी’ अभियान चलाउनुपर्छ । भ्रष्टाचारका मुद्दाहरुको भण्डाफोर गर्नुपर्छ ।’

कतिपयले भने २१ औं शताब्दीको जनवादलाई लागू गरेर जानुपर्ने सुझाव दिएका थिए । २०५७ सालमा ल्याइएको यो कार्यक्रमले पार्टी, सत्ता र वैचारिक नेतृत्वबारे प्रष्ट पार्ने उनीहरुको सुझाव थियो ।

तर उनीहरुको सर्त एउटै थियो, सत्ताको खेलमा पार्टी लाग्न हुन्न । दुई दिनसम्म विराटनगर बसेर नेताहरुको कुरा सुनेपछि प्रचण्डले पनि प्रधानमन्त्रीको दौडमा नरहेको बताउनु परेको थियो ।

जवाफी सम्बोधनमा प्रचण्डले भनेका थिए, ‘सरकार प्राथमिकतामा राख्दिनँ । सरकार बनाउने र गिराउने खेलमा लाग्दिनँ ।’ अब देशभर पार्टी निर्माणको अभियान चलाउने पनि प्रचण्डले बताएका छन् ।

‘पार्टी निर्माणको यो एउटा अन्तिम अवसर हो । यसलाई टर्निङ प्वाइन्टका रुपमा लिनुपर्छ’, प्रचण्डले भनेका छन्, ‘सक्किने अथवा अगाडि बढेर समाजवादी यात्रा तय गर्ने भन्ने कुरा यही मोडले निर्धारण गर्छ ।’

माओवादी केन्द्रीय कोषाध्यष श्रीराम ढकाल अध्यक्ष प्रचण्डले गरेको प्रतिबद्धता पार्टीकै कार्यक्रम भएको बताउँछन् । ‘आगामी संसदीय चुनावमा एक्लै लडेर जित्ने भनेका छौं । त्यसअघि सत्ताको खेलमा नलाग्ने कुरा पार्टीकै नीति हो’, ढकाल भन्छन् ।

उनका अनुसार आगामी २५ साउनदेखि बस्ने स्थायी समिति र भदौ पहिलो सातातिर बस्ने केन्द्रीय कार्य समितिमा पार्टी निर्माणको कार्यक्रमबारे छलफल हुनेछ । ‘स्थायी समिति र केन्द्रीय समितिको बैठकबाट एउटा निष्कर्षमा पुगेर जनतामा जाने भनिरहेका छौं । त्यसो हुँदा यो कार्यकालभर सत्ता प्राथमिकतामा छैन’, उनले भने ।

विराटनगरबाट फर्केपछि बुधबार केन्द्रीय मूख्यालय पेरिसडाडाँमै आयोजित एक कार्यक्रममा पनि प्रचण्डले यो कार्यकाल प्रधानमन्त्री नबन्ने र पार्टी निर्माणमा जुट्ने अभिव्यक्ति दोहोर्‍याएका छन् । ‘कार्यकर्ता पंक्तिमा पार्टी बन्छ भन्ने आश्वस्त पार्न पनि अध्यक्षले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिवद्धता गर्नु परेको हो । यसले राम्रै गर्छ’, एक नेता भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?