+
+

मौसममा केही सुधार, हट्यो ‘रेड अलर्ट’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते ९:५२

२४ साउन, काठमाडौं । दुई दिन अघिको जस्तो मौसमी अवस्थामा केही सुधार आएको मौसमविद्ले बताएका छन् । यद्यपि मनसुन सिजन जारी रहेकाले केही स्थानमा भारी वर्षा हुने र त्यसबाट क्षति पुग्न सक्ने सम्भावना भने कायमै रहने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले साउन २२ र २३ गते ३४ जिल्लामा अति जोखिम हुने भन्दै रेड अलर्ट जारी गरेको थियो । आज त्यो अवस्था नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । ‘हिजो अस्तीको जस्तो रेड अलर्ट अब छैन,’ उनले अनलाइनखबरसँग भने ।

महाशाखाले २१ गते विशेष बुलेटिन जारी गर्दै २२ गतेदेखि २३ गतेसम्म ३४ जिल्ला अति जोखिममा र ३६ जिल्ला मध्यम जोखिममा रहेकाले सतर्कता अपनाउन भनेको थियो । अति जोखिममा रहेका जिल्लामा रात्रिबस नचलाउन सरकारले निर्देशनसमेत दिएको थियो ।

त्यतिबेला मनसुन न्यूनचापीय रेखा नेपालतर्फ सरेको थियो । मनसुन न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर सर्दा नेपालको आकाशमाथि हुन्छ र नेपालमा बढी वर्षा हुने गर्दछ । अहिले भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (नेपालबाट दक्षिणतर्फ) सरेको छ । त्यसैले अघिल्ला दिनको जस्तो अति जोखिम नरहेको मौसमविद्को भनाइ छ ।

त्यसैले आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौं उपत्यकामा कहिले घाम लाग्ने र कहिले बादल लाग्ने भइरहेको छ । मौसमविद् प्रधानाङ्गका अनुसार आज देशभर नै साधारणतया बदली हुने छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानहरुमा वर्षाको सम्भावना छ । ‘यस्तो अवस्था अझै तीन-चार दिनसम्म कायमै रहन्छ,’ वरिष्ठ मौसमविद् प्रधानाङ्गले भने ।

बुधबार राति सिन्धुपाल्चोक जिल्लामा भने भारी वर्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?