+
+

चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याइँदै, प्रस्ताव आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १३:५३

२४ साउन, काठमाडौं । भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार टन चिनी आयात गरिने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म/कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ ।

बुधबार आह्वान भएको सूचना अनुसार पाँच दिनभित्र यस्ता कम्पनीले चिनी आयातका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।

चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको छ ।

१९ हजार टनभन्दा बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २ हजार ६ सय टन कोटा नघट्ने गरी समानुपातिक रूपमा कोटा बाँडफाँट गरिने समेत विभागले जनाएको छ ।

सातभन्दा बढी कम्पनीबाट आवेदन पर्‍यो भने सुरुमा आउने आवेदनलाई पहिलो प्राथमिकता दिइने भएको छ ।

कोटाको चिनी आयात गर्न भारतले तोकेको समयावधि आगामी ३० सेप्टेम्बरसम्म मात्र छ । आउन लागिरहेको मुख्य चाडपर्व लक्षित गरी चिनी आयात गर्न लागिएको विभागको भनाइ छ ।

अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए अनुमति खारेज हुने समेत विभागले स्पष्ट पारेको छ । अनुमति पाएका कम्पनीले चिनी आयात गर्न नसक्ने भए १५ दिन भित्रै जानकारी दिनुपर्ने भएको छ ।

अनुमति प्राप्त कम्पनीले विभागबाट अनुमति प्राप्त गरेको मितिले साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातित चिनी बजारमा बिक्री गर्नुपर्ने सर्त तोकिएको छ ।

चिनीको गुणस्तर समेत सरकारले तोके बमोजिम हुनुपर्ने सर्त छ । अनुमति प्राप्त कम्पनीबाट आयातित चिनी मौज्दात, मूल्य, गुणस्तर र बिक्री विवरण साप्ताहिक रूपमा विभागमा बुझाउनुपर्ने समेत सर्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?