+
+

नागलाई खुसी पार्न नागपूजा गरिने

रासस रासस
२०८१ साउन २४ गते १४:१८

२४ साउन, लेखनाथ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइँदैछ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ ।

पोखरा–२६ विजयपुर निवासी पण्डित गणेश अधिकारीले नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहिआएको बताए । ‘अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । यस दिन नागदेवताको पूजाअर्चना गर्न दूध, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ’, उनले भने, ‘सामान्यतया अगाडि सर्पनै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा पूजा गरिन्छ ।’

यसदिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प, बिच्छीलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको अधिकारीले जानकारी दिए । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहँदै आएको उनले बताए ।

‘प्रत्येक घरमा नाग हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शयनमा फणको छाता ओढी बस्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो’, पण्डित अधिकारीले भने, ‘प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा लिइन्छ। दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएका कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ।’

श्रावण शुक्ल पञ्चमीका दिन पोखरा–१३ स्थित कमलपोखरी र नागको मूर्ति भएका सार्वजनिक स्थान, पोखरा–८ स्थित नागढुङ्गा, पोखरा–१३ आर्वास्थित नागेश्वर मन्दिरलगायत स्थानमा विशेषरुपमा पूजाआजा गरी नागलाई गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायत परिकार प्रसादका रुपमा चढाउने गरिन्छ ।

पोखरा–१३ स्थित कमल पोखरीको मध्यमागमा रहेका नागको पूजा गर्न जिल्ला बाहिरबाटसमेत भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको स्थानीय शोभाकान्त सिग्देलले बताए । परापूर्वकालदेखि कमल पोखरीमा पाइने कमलको फूल र कमलका पात श्रावण शुक्ल पञ्चमीका दिन घरघरमा लाने प्रचलन रहेको उनले जानकारी दिए ।

पोखरा–८ नागढुङ्गामा सयौँ वर्षदेखि सामूहिक रुपमा नागको पूजाआजा गर्दै आएको नागढुङ्गास्थित नाग मन्दिर संरक्षण समितिका संरक्षक युवराज लामिछानेले जानकारी दिए । सयौँ वर्षअघि चौताराको नजिकै ठूलो ढुङ्गामा नागको आकृति भएकाले यस ढुङ्गामा नागको पूजा गरिने भन्दै अहिले पनि यसलाई संरक्षण गरी सामूहिक नाग पूजा गर्दै आइएको उनले बताए ।

‘यस ठाउँको नाम नागढुङ्गाबाट प्रसिद्ध छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ’, पोखरा–१३ निवासी पण्डित सुरेन्द्र बरालले भने। नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंबदन्ती प्रचलित छन् ।

‘किंबदन्ती अनुसार एकजना किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेरआउँदा आफ्ना सबै बच्चा मरेको देखेपछि किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दयाँ गरी किसानकी छोरीलाई छोडिन् ।

मृत्युको मुखबाट बाचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोड्षोपचारले पूजा गरी दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ बर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी बर मागिन् ।

प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन्। यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी भएकाले सो दिन नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनविश्वास छ’, पण्डित बरालले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?