+
+

९ कक्षा पढिरहेका नवीन भन्छन् : ६२ वर्षमा एमबीबीएस गरिएला नि !

रासस रासस
२०८१ साउन २४ गते १५:११

२४ साउन, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका ५१ वर्षीय नवीन भट्टको दैनिकी अचेल केही फेरिएको छ । दुई छोरा र एक छोरीलाई हुर्काइसकेका उनी स्कुल जान थालेका छन् ।

पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसकेका भट्टलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि स्कुल भर्ना भएका हुन् । पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना भएका छन् ।

भट्ट स्कुलमै बसेर पढ्ने व्यवस्था मिलाएका छन् । ‘अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,’ उनले भने, ‘शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ ।’ बुढेसकालमा पढ्न थालेको भन्दै कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताए ।

‘जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ’, नवीन भन्छन्, ‘अनुशासित भएर पढ्छु र राम्रोसँग एसइई पास गरेर प्लस टूमा साइन्स र सकेदेखि ब्याचलरमा एमबीबीएस पढ्छु भन्ने लागेको छ ।’

०५३ सालमा एसएलसीमा फेल भएपछि पढाइ छोड्नु भएका नवीनले करिब २९ वर्षपछि फेरि विद्यालयमा पढ्न थालेका हुन् । कक्षा १२ सम्म पढ्न विद्यालयले खर्च नलाग्ने भनेकाले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ ।

कक्षामा पहिलो दिन आफ्ना छोराछोरीको उमेरका नानीबाबुसँग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै संगत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उनी बताउँछन् । ‘नियमित रुपमा पढेर पास गर्न सके भने ६२ वर्षमा त एमबीबीएस पूरा गर्छु’, उनले भने, ‘त्यतिबेला मेरो जागिर खाने अवस्था त हुँदैन तर गाउँघरमा एक्लै बसेका बूढाबूढीको सेवा गर्ने धोको छ ।’

भट्टलाई कहिलेकाहीँ बेलैमा पढ्न सकेको भए राम्रो जागिर खान सकिने रहेछ भन्ने पनि लाग्ने गर्छ । ‘इच्छाशक्ति भए नहुने भन्ने हुँदैन भन्ने लागेर फेरि पनि पढ्न थालेको हुँ’, उनले भने ।

विद्यालय र कक्षाकोठामा सहपाठीले अङ्कल दाइ, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नवीन बताउँछन् । घर छोडेर सदरमुकाममा बसेर पढ्न थालेपछि नवीनकी श्रीमती छोरी लिएर माइत बस्न थालेकी छन् ।

विद्यालयमा नवीनमा आफूले नजानेको कुरा तत्कालै शिक्षक तथा सहपाठीहरुसँग सोध्ने र सिक्ने बानी रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताए । ‘विद्यार्थीका रुपमा नवीनको उपस्थितिले अरूलाई पनि प्रोत्साहन मिलेको छ,’ प्रधानाध्यापक आर्चायले भने, ‘उहाँले देखाउनुभएको अनुशासन र लगनशीलताका कारण शिक्षक तथा विद्यार्थीहरु सबै प्रभावित भएका छौँ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?