+

प्रत्येक ४० सेकेण्डमा एक जनाले गर्छन् आत्महत्या, यस्ता छन् ८ भ्रम

२०८१ साउन  २४ गते १६:३१ २०८१ साउन २४ गते १६:३१
प्रत्येक ४० सेकेण्डमा एक जनाले गर्छन् आत्महत्या, यस्ता छन् ८ भ्रम

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार प्रत्येक वर्ष करिब आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ । यो संख्या प्रत्येक ४० सेकेन्डमा एउटा आत्महत्या बराबर हुन्छ ।

एकातर्फ आत्महत्या रोक्नु चुनौतीको विषय बनेको छ भने अर्कोतर्फ आत्महत्याबारे केही यस्ता भ्रम फैलिएका छन् जसले आत्महत्याको प्रयास गरेकालाई सामान्य जीवनमा फर्किन कठिन बनाइरहेको छ ।

आत्महत्यासम्बन्धी केही यस्ता भ्रम छन्, जसलाई चिर्नु आवश्यक छ ।

भ्रम : मानसिक समस्याबाट गुज्रिरहेका वा यसको औषधि तथा परामर्श लिइरहेकाहरूमा आत्महत्याको इच्छाबारे सोधिएको खण्डमा उनीहरू झनै आत्महत्या गर्न प्रेरित हुन्छन् ।

– यसमा कुनै सत्यता छैन । यसले उनीहरूलाई आत्महत्या गर्ने सोच ल्याउँदैन । बरु आत्महत्या वा स्वयंलाई हानि पार्ने विचारबारे प्रश्न सोधेको खण्डमा दिमागमा आएका अनेकौं कुराहरु बताएर मन हलुका पार्न मद्दत गर्छ ।

आलोचना र भयरहितको उचित वातावरण दिएर यसरी सोधपुछ गरिएको खण्डमा व्यक्तिले आफ्ना भावनाको सुनुवाइ भएको र सुरक्षित महसुस गर्छन् ।

यदि आत्महत्याको चाहना छ वा अघिल्ला दिनमा प्रयास गरिएका छन् भने अधिकांशले खुलेर व्यक्त गर्छन् । यतिसम्म कि कहिलेकाहीं व्यक्तिले आउने दिनहरूका निम्ति बनाएका आत्महत्याका योजना समेत व्यक्त गर्छन् ।

यस्ता विचार भएको पत्ता लागेमा ढिलो नगरी समयमै आवश्यक औषधि उपचार, परामर्श लिन सचेत बनाउन सकिन्छ । समयमै पहिचान भए इच्छाशक्ति र आत्मबल प्रदान गरी साधारण दिनचर्यामा फर्किन मद्दत गर्छ ।

भ्रम : आत्महत्याका भावना साटेका व्यक्तिले आत्महत्या गर्दैनन् । आत्महत्याका घट्ना सधै अचानक हुन्छन् । आत्महत्याबाट ज्यान गुमाउने व्यक्तिले चेतावनीमूलक संकेत दिदैनन्

– यदि आत्महत्या गर्ने सुरमा कोही छ भने चेतावनी दिने खालका संकेतहरु देखिएका हुन्छन् । कुनै प्रकारका मानसिक समस्या, तनाव वा सो समस्याका लागि औषधि लिइरहेकाले आत्महत्याको चाहना कुनै न कुनै माध्यमबाट व्यक्त गरिरहेका हुन्छन् ।

आफ्ना निकटका साथीभाइ, परिवारजन, इष्टमित्रमाझ आफूलाई निरन्तर उदास महसुस भइरहेको, पहिले रमाइला लाग्ने क्रियाकलापमा हर्षित महसुस हुन नसकेको, निरन्तर दिक्दारीपन, जीवन मूल्यहीन, भविष्यप्रति आशाहीन, निरर्थक हुन थालेका भावना करिब ८० प्रतिशतले साटेका हुन्छन् । ‘कतिपयले त बाँचेर के काम, मर्न पाए हुन्थ्यो’ भनेर साथीभाइ वा परिवारमा कुनै न कुनै बेला भनेको हुनसक्छ ।

आत्महत्याको सफल प्रयास गरेका अधिकांशले पछिल्लो एक वा दुई सातामा मनोचिकित्सक वा मनोपरामर्शदातासँग सम्पर्क गरेको तथ्य पनि केही अध्ययन तथा अनुसन्धानले देखाएको छ ।

भ्रम : आत्महत्याको प्रयास गर्ने वा आत्महत्याबाट ज्यान गुमाउनेहरू कायर, कमजोर, स्वार्थी र ध्यान साधक हुन्छन् । आत्महत्या जस्तो सजिलो बाटो रोज्छन्

– आत्महत्याको प्रयास गर्ने वा आत्महत्याबाट ज्यान गुमाउनेहरू गहिरो रूपमा मानसिक रुपमा ग्रसित र अस्वस्थ हुन्छन् । उनीहरूले कष्टकर जीवन बिताएका हुनसक्छन् । उनीहरूलाई जीवनको उत्तिकै माया हुन्छ । उनीहरू जीवन समाप्त गर्न नभई असहनीय पीडा समाप्त गर्ने चाहनामा आत्महत्याको बाटो रोज्छन् ।

भ्रम : आत्महत्या गर्न दृढ संकल्प भएका व्यक्तिलाई कही केही गरे पनि बचाउन सकिदैन

– पूर्व चेतावनीमूलक संकेत र सूत्र पहिचान गरी आलोचना र भयरहितको उचित वातावरण सिर्जना गरी व्यक्तिलाई समयमा उपचार र मनोपरामर्श प्रदान गर्न सकिएको खण्डमा आत्महत्याको रोकथाम सम्भव छ ।

भ्रम : आत्महत्या गर्ने व्यक्तिको पूर्ण अभिप्राय मर्नु नै हुन्छ ।

– आत्महत्या गर्ने अधिकांश व्यक्तिले पहिला मर्छु नै भनेर सोचिरहेको नहुन पनि सक्छ । उनीहरूले मर्ने वा जीवित रहनेबारे पछिसम्म ठोस निर्णय गरेका हुँदैनन् ।

भ्रम : एकपटक आत्महत्याको सो आएका र असफल प्रयास गरेका व्यक्तिलाई सधै आत्महत्याको सोच आइरहन्छ

– यसमा पनि कुनै सत्यता छैन । पहिले आत्महत्याको सोच आएका वा प्रयास गरेर अस्पताल भर्ना समेत भएका व्यक्ति पनि पूर्ण रूपमा निको भई अन्य सरह सामान्य जीवनमा फर्केर देश र समाजलाई पूर्ण क्षमतामा योगदान दिन सक्छन् ।

भ्रम : आवेगमा आएर मात्र आत्महत्याको प्रयास हुन्छ ।

– आवेगमा आएर वा एक्कासि तनावपूर्ण अवस्थामा आएर आत्महत्या गर्ने व्यक्ति केवल पाँच प्रतिशत जति मात्र हुन्छन् । अधिकांश व्यक्ति कुनै न कुनै मानसिक समस्याबाट ग्रसित भएको तथ्य अध्ययन- अनुसन्धानले पुष्टि गरेका छन् ।

भ्रम : आत्महत्याको प्रयास गरेका वा आत्महत्याबाट ज्यान गुमाएका व्यक्ति मानसिक समस्या वा कडा मानसिक रोगले पीडित हुन्छन् ।

– आत्महत्याको प्रयास गरेका वा आत्महत्याबाट ज्यान गुमाएका व्यक्ति प्राय: अत्यन्तै दु:खी हुन्छन् । जीवनदेखि निराश हुनसक्छन् । यद्यपि उनीहरूमा मानसिक रोग नै हुन्छ भन्ने छैन ।

त्यसैले आत्महत्याको रोकथाम धेरै हदसम्म सम्भव छ । आत्महत्या गर्ने वा हानि–नोक्सानी पुर्‍याउने खालका सोच आएमा वा आफ्ना नजिकका इष्टमित्र, परिवारजनमा यस्ता संकेत देखिएमा आत्महत्या रोकथामको लागि नेपालको राष्ट्रिय हटलाइन नम्बर ११६६ मा सम्पर्क गरी जानकारी दिन सकिन्छ ।

चौबीसै घण्टा खुला रहने यो सेवामा भयरहित वातावरणमा गोपनीयता सुनिश्चित गरिंदै सक्दो आवश्यक सहयोग प्रदान गर्न सकिन्छ ।

आत्महत्या डा. समीक्षा घिमिरे मानसिक स्वास्थ्य
डा. समीक्षा घिमिरे
लेखक
डा. समीक्षा घिमिरे
मनोचिकित्सक

डा. घिमिरे स्वास्थ्य मन्त्रालय अन्तर्गत लगनखेलस्थित पाटन मानसिक अस्पतालमा कार्यरत छिन् । एमबीबीएसपछि मनोचिकित्सामा एमडी गरेकी उनको मेडिकल दर्ता नम्बर १३६३६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?