+
+

कर्मचारीकै मिलेमतोमा पूँजी बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको छ : प्रकाशशरण महत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १८:०२

२४ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले कर्मचारीकै मिलेमतोमा पूँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै महतले आफू अर्थमन्त्री भएको बेलामा नेप्सेभित्रका सूचना लिएर इन्साइडर ट्रेडिङ हुने गरेको धितोपत्र बोर्डले नै जानकारी दिएको बताए ।

नेप्सेमा लिस्टेड भएका कम्पनीका मान्छे नेप्सेकै कर्मचारी रहेको र उनीहरूकै सूचनाका आधारमा बजारमा इन्साइडर ट्रेडिङ कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको उनको भनाइ छ ।

धिातोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएको देखाएकाले नियामक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने उनको सुझाव थियो । यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको उनको भनाइ थियो ।

आफू अर्थमन्त्री भएको समयमा छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न उनले बोर्डसँग आग्रह गरे ।

सेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको उनको भनाइ थियो । उनले पूँजीबजारले अर्थतन्त्र धान्नुभन्दा पनि कतैकतै चलखेल हुने गरेको बताए ।

उनले अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाइराख्न चुनौतीपूर्ण रहेको बताए । बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रक्रिया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको उनको भनाइ छ ।

‘मैले संसदमा बोलेको कुरालाई लिएर प्रश्न उठाउनु भएको छ । कुनै पनि संस्थाको पक्ष र विपक्षमा बोल्ने काम हाम्रो होइन । तर, आमजनता र लगानीकर्ताको विषयमा आफूले बुझे जानेसम्म सुसूचित र खबदारी गर्ने काम गरेको हुँ,’ उनले भने, ‘सेयर बजार बढ्न हुँदैन थियो भनेर मैले भनेको छैन ।’

‘अरुले के भने उनीहरूले नै उत्तर दिन्छन् । मैले केही संस्थाहरूको सेयर मूल्य वृद्धि भएको छ । त्यो स्वभाविक देखिएको छैन । त्यसैले लगानीकर्ताले होसियारी पूर्वक सम्बन्धित संस्थाहरूको आधार के हो ? त्यसले कस्ता प्रतिफल दिइरहेको छ ? दीर्घकालमा त्यसको सस्टेन हुने आधारहरू के छन् ? त्यसलाई मध्येनजर राखेर लगानीकर्ताले पनि लगानी गर्नुपर्छ,’ उनले भने ।

नियमन गर्ने निकाय धितोपत्र बोर्ड भएको भन्दै उनले नियामक निकायहरूले पारदर्शी अभ्यास भएको छ वा छैन भनेर अध्ययन गर्नुपर्ने बताए ।

आम लगानीकर्ताको पूँजी फस्नु हुँदैन भनेर सचेत गराउँदा कतिपयले विज्ञप्ति नै निकालेर आफ्नो विरोध गरेको उनले सुनाए ।

‘नियमक निकायले पनि सूक्ष्मढंगले नियमन गरोस् । नेप्सेबाट सूचना लिएर बजारलाई म्यानुपुलेट गर्ने प्रवृत्ति पनि सक्रिय हुँदैनन् भन्ने छैन । लगानीकर्ताले पनि राम्रोसँग ध्यान दिएर लगानी गर्नुपर्छ । त्यो नाजायज होइन । मैले आम लगानीकर्ताहरूकै हितमा बोलेको हुँ । त्यसमा मलाई केही खेद छैन । नेप्सेभित्र इन्साइडर ट्रेडिङ भन्ने शब्दावली भन्ने शब्द प्रयोग गरिन्छ । त्यहाँभित्र सूचना लिएर नेप्सेमा लिस्टेड भएका कम्पनीहरू छन् । उनीहरुकै मान्छेहरु त्यहाँ काम गर्छन् । यो कुरा धितोपत्र बोर्डकै अध्ययनले देखाउँछ,’ उनले भने ।

पूँजीबजारलाई लिएर आफूले नकारात्मक धारणा नराखेको उनको भनाइ थियो । उनले सेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेन्ट नै जारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?