
२४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना न्यूनीकरणबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग सुझाव मागेका छन् ।
छलफलमा कतिपय वायु सेवा कम्पनीले नागरिक उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले तोके अनुसारको सेफ्टी मेनेजमेन्ट सिस्टम (एसएमएस) लागु नगरेको तथा विमान चालक तथा प्राविधिक जनशक्तिका लागि आवश्यक सुरक्षा सम्बन्धी तालिममा न्यून लगानी गरेको बारे पूर्वमहानिर्देशकहरूले मन्त्रीलाई जानकारी गराएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त संस्थाबाट विज्ञ मगाउन सकिने सुझाव उनीहरूले दिएका छन् ।
दुर्घटनाको जाँच स्वतन्त्र नहुने गरेको, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने गरेको तथा त्यसको फलोअप नभएकोले त्यस तर्फ मन्त्रालयले ध्यान दिनु पर्ने सुझाव दिइएको छ ।
नागरिक उड्डयन प्राधिकरणको समग्र पक्षमा सूक्ष्म निगरानी गरी सुधार गर्नु पर्ने त्यसका लागि विचाराधीन विधेयक संसदबाट पास गर्नेतर्फ पहल हुनु पर्ने कुरामा पनि जोड दिइएको छ ।
मन्त्री पाण्डेले बिहीबार पूर्व महानिर्देशकरूलाई मन्त्रालयमा बोलाई नेपालको हवाई क्षेत्रका समस्या र सवालबारे छलफल गरेका छन् ।
प्रतिक्रिया 4