+

किसानको डिजिटल हाटबजार

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
नेपालमा स्थापित इ–कमर्स हो ‘मेरो किसान ।’ यो ‘प्लाटफर्म’ मार्फत किसानले आफ्ना उत्पादन बिक्री गर्न र उपभोक्ताले चाहिएको कृषि सामग्री किन्न सक्छन् । बिचौलियाको बिगबिगी मुक्त यो डिजिटल बजारको केन्द्रमा छन्, अविनाश सिलवाल ।
अविनाश सिलवाल

२०७६ सालमा कोभिड–१९ महामारी सुरु हुँदा गोरखाका अविनाश सिलवाल (३१) कृषि अर्थशास्त्रमा स्नातकोत्तर गर्दैथिए । काठमाडौंको गोल्डेन गेट कलेजमा पढ्दा उनले तरकारी र खाद्यान्नको आयात र निर्यातको तथ्यांकहरू हेर्नुपर्थ्यो । ‘मैले पढ्दा के महसुस गरें भने नेपालमा सबै परिवर्तन हुँदा पनि कृषि क्षेत्रमा उत्पादन र आयात उही रहेछ । बिचौलियाको कारण किसानहरूलाई परेको समस्या पनि उस्तै थियो’, सिलवाल भन्छन् ।

सिलवालले बिचौलियाको अवस्था अध्ययनको क्रममा थाहा पाए । बिचौलियाको पनि तह हुन्छ— किसानको बारीबाट किन्ने, ढुवानी गरेर स्थानीय तरकारी संकलन केन्द्रमा लैजाने, त्यसपछि मण्डीमा पुर्‍याउने, मण्डीबाट ठेला वा पसलमा पुर्‍याउने । सँगै यो पनि थाहा पाए कि उत्पादक किसानको भन्दा मूल्य निर्धारणमा बिचौलियाको प्रभाव ज्यादा र प्रभावकारी थियो ।

‘बिचौलियाको विषयमा अध्ययन गर्दैगर्दा यसको न्यूनीकरण गर्न अझ भनौं यसको तह घटाउन संसारभरिको अभ्यास हेरें । विकसित देशहरूको अभ्यास हेर्दा नेपालमा पनि प्रविधिको प्रयोग गरेर बिचौलियालाई केही हदसम्म रोक्न सकिन्छ भनेर आइडिया आयो’ सिलवाल आफ्नो सोच फुरेको सम्झना गर्दै भन्छन्, ‘आइडिया त थियो तर सुरु गर्न सकिरहेको थिइनँ, त्यही बेला लकडाउन भयो, अनलाइन डेलिभरीको उपयुक्त समय मानेर सुरु गरें ।’

कोभिडले जन्माएको ‘इ–कमर्स’

‘मैले पढिरहेको विषय पनि त्यही र विदेशका अनलाइन साइटहरू हेरिरहेको थिएँ’ सिलवाल भन्छन्, ‘यही बेला लकडाउन सुरु भयो, अब किसानको तरकारीलाई बजार र बजारका उपभोक्तालाई तरकारी सहितका कृषि सामग्री पुर्‍याउने उपयुक्त संयन्त्र चाहिएको थियो । अनि सुरु भयो ‘मेरो किसान ।’

अहिले नेपालमा स्थापितमध्येको एउटा इ–कमर्स हो— मेरो किसान । यो यस्तो प्लाटफर्म हो जहाँ किसानले आफ्ना उत्पादन बिक्रीस्थलका रूपमा प्रयोग गर्न सक्छन् भने उपभोक्ताले आफूलाई चाहिएको तरकारी यहाँबाट किन्न सक्छन् ।

‘सुरुमा हामीले साइटसँगै मार्टहरू पनि चलायौं, सिक्दै जाँदा यसलाई मार्ट भन्दा धेरै इ–कमर्सकै रूपमा अघि बढाउनु उचित देख्यौं’ सिलवाल भन्छन्, ‘हामी एप्लिकेसनबाट उपभोक्तालाई तरकारी दिन्छौं, किसानहरूका लागि यो तरकारी बेच्ने पसल हो । हामी सूचना र जानकारी पनि उपलब्ध गराउँछौं । त्यसैले यो उपभोक्ताका लागि सूचनापाटी पनि हो ।’

अहिले मेरो किसानका आफ्नै बाहेक २०० किसानका नियमित उत्पादनहरू यो अनलाइन बजारमा उपलब्ध छन् । दैनिक करिब ५०० अनलाइन अर्डरबाट डेलिभरी हुने गरेको छ । दराज लगायत अन्य प्लाटफर्मबाट पनि दैनिक सय वटा भन्दा धेरै डेलिभरी हुने गरेको छ । ६०–७० स्थानमा नियमित आपूर्ति छ ।

मेरो किसान अहिले त्यति ठूलो भइसकेको छैन । तर, सिलवालको सपना भने निकै ठूलो छ – मेरो किसानलाई भारतमा ‘श्वेतक्रान्ति’ गर्ने ‘अमुल’ जस्तै बनाउने उनको योजना छ ।

महिनाको १० लाख माथिको व्यापार गरिरहेको मेरो किसानका अध्यक्ष अविनाश सिलवाल मेरो किसान यहाँसम्म आइपुग्नुमा आफ्नो बजारप्रतिको ज्ञान र लगावलाई कारण मान्छन् । ‘समय अनुकूल अगाडि बढ्ने इच्छाशक्ति र बजार हेर्ने धैर्य हुँदा कम्पनी नाफामा छ । प्याकेजिङ र डेलिभरीमा २४ जनालाई प्रत्यक्ष रोजगारी दिएका छौं’, उनी भन्छन् ।

मेरो किसान अनलाइन सुरु गर्दा कर्मचारी अभाव भोग्नुपरेको अनुभव सिलवालसँग छ । ‘सुरुमा हामीले भोगेको चुनौती कर्मचारी अभाव थियो । खोल्दा थोरै समय लकडाउन होला भन्ने सोचेको थियौं तर त्यो बेला डेलिभरी र प्याकेजिङ गर्ने मान्छे नहुँदा धेरै समस्या भयो । त्यसको असर पछिसम्म पर्‍यो ।’

‘अमुल’ सपनाः किसानको कम्पनी

मेरो किसान अहिले त्यति ठूलो भइसकेको छैन । तर, सिलवालको सपना भने निकै ठूलो छ – मेरो किसानलाई भारतमा ‘श्वेतक्रान्ति’ गर्ने ‘अमुल’ जस्तै बनाउने उनको योजना छ ।

‘म सामान्य किसान परिवारको युवा हुँ । अहिले पनि गोरखामा मेरा बा–आमा जीवन निर्वाहमुखी खेती गरिरहेका छन् । नेपालको कृषि अर्थतन्त्रमा बिचौलियाले कसरी किसान र उपभोक्तालाई शोषण गरेका छन् भन्ने मैले देखेको छु’ सिलवाल भन्छन्, ‘यसलाई प्रविधिको माध्यमबाट चिर्दै जसरी भारतमा दूध उत्पादन क्षेत्रमा अमुल छ, नेपालमा मेरो किसानलाई त्यस्तै बनाउने मेरो उद्देश्य छ ।’

१० वर्षपछि नेपालमा किसानहरूको एउटा ठूलो कम्पनी निर्माण गर्ने लक्ष्य सिलवालले लिएका छन् । ‘हामी किसानलाई चाहिने स्रोत–साधन दिने, त्यसपछि किसानहरूबाट नै किनेर सप्लाई चेन म्यानेजमेन्टको रूपमा काम गर्ने हुँदा यो किसानहरूकै ठूलो कम्पनीको रूपमा स्थापित हुनेछ’, सिलवालले भने ।

मेरो किसानलाई पब्लिक कम्पनी बनाएर सार्वजनिक शेयर निष्कासन गर्नेसम्मको योजना रहेको उनले बताए । ‘यो पब्लिक हुन्छ, किसानहरूलाई नै जोडेर किसानहरूकै अपनत्व हुने सार्वजनिक कम्पनीका रूपमा लैजाने हो । किसानले सीधै उपभोक्तालाई बेच्न त सक्दैनन्, हो त्यस्तो अवस्थामा मेरो किसानले बेच्छ र त्यसको नाफा पनि किसानले नै पाउँछन्’, उनले भने ।

सिलवालको योजना अब मेरो किसानको बजार विस्तार र रैथाने बालीको ब्रान्डिङ हो । ‘तरकारी त जसले पनि उत्पादन गर्छ, बजारमा ल्याउँछ तर विश्वबजारमा हाम्रो रैथाने खाद्यान्न बालीको ठूलो बजार हुनसक्छ, त्यसतर्फ हाम्रो ध्यान हुन्छ’, उनले भने ।

अहिले तरकारी तथा फलफूल सेक्टरमा काम गरिरहेको भन्दै उनले अरू सेक्टरमा पनि काम गर्ने योजना सुनाए । ‘अब तरकारी, फलफूल मात्रै होइन, यहाँका रैथाने खाद्यान्नहरूलाई ब्रान्डिङ गरेर बृहत् रूपमा काम गर्छौं । मार्सी, कोदो, मह जस्ता वस्तुहरू राम्रो प्याकेजिङ गरेर विश्वबजारमा लैजान्छौं’, सिलवालले अनलाइनखबरसँग भने ।

यो आर्थिक वर्षदेखि नै रैथाने बालीमा काम गर्ने योजना सुनाउँदै उनले बालाजुमा रहेका आफ्नो फार्म र अन्य फार्मको उत्पादन पनि बजारमा ल्याउने बताए । ‘हामी आफ्नै उत्पादन, आफ्नै मार्टबाट बजारमा ल्याउँछौं । ती अर्गानिक र आफ्नै उत्पादन हुने हुँदा उपभोक्तालाई ढुक्क भएर किन्ने वातावरण बनाउँछौं’ सिलवालले भने, ‘यसअघि हामीले मार्ट चलाउँदा अन्य स्थानबाट ल्याएको तरकारी तथा फलफूलको भर नहुँदा समस्या थियो, त्योबाट सिकेर आफ्नो मार्टमा आफ्नै उत्पादन मात्रै राख्न लागेका छौं ।’

किसानका लागि काम

नेपालमा किसानका लागि काम नभएको भन्ने उनलाई लाग्छ । त्यसैले सरकारलाई किसान लक्षित काम गर्न उनको अनुरोध छ । ‘सीमा नाकामा विषादी परीक्षण अनिवार्य गरिदिए हाम्रो अर्गानिक उत्पादनले बजार पाउँछ, त्यसको फाइदा मानव स्वास्थ्य र अर्थतन्त्र दुवैमा छ’ उनी भन्छन्, ‘सरकारले भारतबाट तरकारी, फलफूल आयातको तथ्यांकलाई समीक्षा गरेर नियमन नगर्ने हो भने २० वर्षपछि नेपालमा कृषि हुन नै छोड्छ ।’

सरकारले किसानको मनोबल बढाउने किसान कार्ड, किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ । ‘अहिले किसान भन्ने वित्तिकै केही काम गर्न नसकेर गरेको काम जस्तो भन्ने छ, त्यसलाई चिर्न सरकारले नीतिगत व्यवस्था नै गरेर किसानलाई उचित सम्मान दिन आवश्यक छ’ उनले भने, ‘किसान कार्ड लिएको मान्छे सिंहदरबार छिर्न सकोस् अनि पो किसानले आत्मसम्मानको अनुभूति गर्छन् ।’

सरकारले तोकेको जोन, सुपरजोन कार्यान्वयन प्रभावकारी भएमा निश्चित क्षेत्रमा निश्चित बालीको हब हुँदा किसान र उपभोक्तालाई फाइदा हुने र बिचौलिया हावी हुने तह पनि घट्ने उनको भनाइ छ । उनले नेपाली किसानहरूले तरकारी तथा फलफूल खेती गर्दा समय र बजार अध्ययन गर्नुपर्ने बताए ।

‘परम्परागत शैलीमा खेती गरेर मात्रै हुँदैन । नयाँ खेती र प्रविधिलाई साथमा लिएर अगाडि बढ्नुपर्छ’ उदाहरण दिंदै सिलवाल भन्छन्, ‘अब काउली रोप्ने कुरा सामान्य भइसक्यो, बन्दा रोप्ने कुरा पनि त्यस्तै हो, हरियो बन्दा भन्दा रातो रोपौं, हरियो भेंडेखुर्सानी भन्दा रातो, पहेंलो रोपौं, सबै किसानले एकै समयमा एउटै खेती गरेपछि बजार मूल्य हुँदैन नि !’

विश्व बजारको दृष्टिकोणमा नेपालले तरकारी, फलफूल भन्दा यहाँको रैथाने बाली लैजान सक्ने उनको बुझाइ छ । उनले भने, ‘युरोप, एशिया, अमेरिका सबैतिर हुने खेती यहाँ पनि हुन्छ, त्यो निर्यातको लागि भन्दा पनि आयात रोक्न मात्रै केन्द्रित हुनुपर्छ । बरु यहाँको अलैंची, अदुवा, मार्सी धान, हिमाली जडीबुटी निर्यात गर्ने गरी व्यावसायिक खेती गर्नुपर्छ ।’

खेती गर्दा एकै प्रकृतिको तरकारी वा फलफूल छ भने एउटै लटमा निस्कने गरी लगाउन नहुने उनको भनाइ छ । उनले एउटै बाली रोपे पनि २० दिन भन्दा बढीको फरकमा रोपे उत्पादनले बजार लिन सजिलो हुने बताए ।

‘कृषि क्षेत्र लगानी थोरै, धैर्य र मिहिनेत धेरै गर्नुपर्ने क्षेत्र हो । अहिले अधिकांश किसानले एकैचोटि ठूलो लगानी गर्ने तर धैर्य गर्न नसक्ने कारणले पछुताइरहेका छन्, त्यसरी हुँदैन’ उनले भने, ‘बजारको अध्ययन गरेर मात्रै लगानी गर्न सिक्नुपर्छ । यसमा मेरो किसानले सघाउँछ ।’

अमृत चिमरिया