+

पशुपालकका सचेतक

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
व्यावसायिक पशुपन्छी पाल्दा आहार र खोप कुन समयमा दिने, नश्ल सुधार कसरी गर्ने, निरोगी कसरी राख्ने भनेर सामाजिक सञ्जालबाट लाखौं कृषकलाई परामर्श दिन्छन्, डा. कमलेश्वर । कृषकका लागि विशेषज्ञ सचेतक हुन्, उनी ।
डा. कमलेश्वर भाट

पशु चिकित्सक डा. कमलेश्वर भाट (३२) लाई बिहान उठेदेखि राति सुत्ने बेलासम्म घरपालुवा पशुपन्छीको स्वास्थ्य, तिनको आहार, गोठ तथा खोर र बीमासम्मका कुरा गरिरहनुपर्छ । किसानहरूले खोज्दा मात्रै हैन उनी नखोजे पनि यो विषयमा खोज, अध्ययन र चिन्तनमा हुन्छन् ।

किसानका समस्या नसुनी र समाधानको उपाय नदिई प्रायः उनका दिन ढल्दैनन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सिसैयामा २३ माघ २०४९ मा जन्मिएका पशु चिकित्सक भाट अहिले धेरै पशुपालक कृषकको प्रिय बन्नुको कारण पनि यही हो ।

कञ्चनपुरमै उच्च शिक्षा हासिल गरेपछि २०६७ सालबाट आमाको प्रेरणामा भेटेरिनरी पढ्ने निर्णय लिएपछि नै कमलेशलाई पशु स्वास्थ्यबारे घोत्लिन कर थियो । काठमाडौं आएर हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी (हिकास्ट) मा करिब ६ वर्षको अध्ययनपछि उनी पशु चिकित्सक (भेटेरिनरी डाक्टर) बने ।

सन् २०१६ मा कमलेश डोटीको भागेतडास्थित कृषि अनुसन्धान केन्द्रमा सरकारी स्तरको कृषि खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत रहेर बोयर जातका बाख्राको अनुसन्धानमा संलग्न हुन पाए । डेढ वर्ष डोटी बसेर फर्किएपछि उनी झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भए । उनी अहिले पनि सो संस्थामा कृषि युनिट प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

यही क्रममा उनी गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुर पालन गर्ने कृषकहरूसँग हरेक दिन भेट्ने र परामर्श गर्न थाले । ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो’— यो भनाइ हरेकको मुखमा झुण्डिएको पाइन्छ । तर नेपालमा अधिकांश पशुपालन सरोकारवालाहरू यस्तो नगर्ने रहेछन् ।

फिल्डमा खटिंदा उनले थाहा पाए कि धेरै पशु चिकित्सक र प्राविधिक उपचारमै बढी केन्द्रित हुने रहेछन् । कृषकहरू पनि पशुपन्छीलाई सही र व्यवस्थित तरिकाले पाल्ने भन्दा बढी उपचारकै विषयमा जान्न उत्सुक हुने रहेछन् ।

कमलेश्वर फिल्डमा पुगेपछि उपचार मात्रै गर्दैनथे, कृषकहरूलाई गोठ, खोर सहित पशु आहारको व्यवस्थापन र रोगबाट जोगाउने उपायहरू सिकाउन बढी रुचाउँथे । यही बानीले उनी झापाका स्थानीय क्षेत्रमा रुचाइएका पशु चिकित्सक बने ।

२०७६ चैतमा जब कोरोना महामारीका कारण लकडाउन भयो, उनी झापामै रहनुपर्‍यो । दैनिक रूपमा कृषकसँग भेट्ने, परामर्श दिने बानी परेका उनलाई कोठामा थुनिएर बस्न सकस भयो । त्यतिबेला संस्थागत बैठकदेखि सामान्य कृषि परामर्शका कामसम्म सबै कुरा डिजिटल प्लाटफर्म नै हुन थालेका थिए ।

उनले त्यतिबेलै आफ्नो ज्ञान बाँड्ने र पशुपालन सम्बन्धी सचेतना जगाउने सोच बनाएर फेसबुकमा ‘कृषि क्रान्ति’ नामक पेज अनि युट्युब च्यानल पनि खोले । त्यतिबेला यो काम सुरु गर्न उनकी साथी (हालकी जीवन साथी) डा. वेबिना पाण्डेले साथ दिइन् ।

डा. भाट अहिले पनि आफ्ना भिडियो मार्फत पशुपालन सम्बन्धमा प्राविधिक पक्षहरूबारे जानकारी दिन्छन् । उनी दैनिक रूपमै फेसबुकमा नछुटाई भिडियो अपलोड गर्छन् । यसो गर्दा आफूलाई पनि दैनिक नयाँ विषयमा सोधखोज गर्न प्रेरणा मिलेको र त्यसबाट कृषकको समस्या समाधानमा समेत सहयोग पुगेको डा. भाटको भनाइ छ ।

साहारा नेपालबाट विभिन्न सचेतना कार्यक्रमहरू चलाएको अनुभवलाई उपयोग गर्दै उनीहरूले फेसबुक लाइभबाटै कार्यक्रमहरू चलाउन र भिडियोहरू बनाएर हाल्न थाले । लकडाउनका बेला धेरै मान्छे डिजिटल प्लाटफर्ममा जोडिएको समय भएकाले धेरै कृषकले त्यसलाई रुचाए ।

त्यतिबेला उनीहरूले ‘जूम’ मार्फत पनि धेरै किसानलाई पशुपालन र तरकारी बाली बारेका अनलाइन तालिमहरू दिन थाले । ‘यो निकै प्रभावकारी भयो, दूरदराजका किसानहरूले अनलाइन कक्षा र भिडियोहरूबाट लाभ लिन पाउनुभयो’ कमलेश भन्छन्, ‘किसानलाई जागरुक बनाउन पनि यो प्रयासले सार्थकता पायो ।’

डा. भाट अहिले पनि आफ्ना भिडियो मार्फत पशुपालन सम्बन्धमा प्राविधिक पक्षहरूबारे जानकारी दिन्छन् । उनी दैनिक रूपमै फेसबुकमा नछुटाई भिडियो अपलोड गर्छन् । यसो गर्दा आफूलाई पनि दैनिक नयाँ विषयमा सोधखोज गर्न प्रेरणा मिलेको र त्यसबाट कृषकको समस्या समाधानमा समेत सहयोग पुगेको डा. भाटको भनाइ छ ।

अहिले कृषि क्रान्ति फेसबुक पेज १ लाख ८६ हजारले फलो गर्छन् । युट्युबमा २० हजार सब्स्क्राइबर छन् । फेसबुक ग्रुपमा ४० हजार कृषक जोडिएका छन् । ‘हाम्रो पेज र च्यानलको ग्रोथ अर्गानिक हो, हामीले कुनै पनि रकम तिरेर बुस्ट गरेका छैनौं’ डा. भाट भन्छन्, ‘टिकटकमा पनि हामी ३५ हजार फलोअरलाई सचेतना बाँड्छौं, हालै इन्स्टाग्राममा पनि सुरु गरेका छौं ।’

डा. भाट अहिले पनि जूमका माध्यमबाट कृषकलाई तालिम दिन्छन् । कृषकहरूले पनि उनलाई फिल्ड भिजिटमा बोलाउँछन् । विभिन्न संघ–संस्थाले उनलाई तालिमका लागि बोलाउँछन् । यिनै कारणले जहाँ पुग्दा पनि कृषकहरूको स्नेह र सम्मान पाउने गरेको अनुभव उनी सुनाउँछन् ।

उनी साहारा नेपालमा जागिर पनि गर्ने भएकाले सबै कृषकले बोलाएको समयमा उपलब्ध हुन त सक्दैनन् । ‘तर, कुनै न कुनै माध्यमबाट परामर्श दिने गरेको छु’, उनी भन्छन् । कृषकले नै बोलाएपछि उनी काठमाडौं आसपासका जिल्लाहरू झापा, इलाम, सुनसरी, मोरङ सहित पूर्वी नेपाल र मकवानपुर, चितवन, रूपन्देही, दाङ, कञ्चनपुर, कैलालीदेखि बैतडीसम्म पुगेका छन् ।

‘काठमाडौं वरपरका कृषकले बोलाउनुभयो भने त्यहाँ जाने सन्दर्भ पारेर मैले आउने वचन दिन्छु र जान्छु पनि’ उनी भन्छन्, ‘व्यावसायिक पशुपालन हुने नेपालका धेरै क्षेत्रमा म कृषकहरूले बोलाएकै कारण जान पाएको छु ।’

त्रिभुवन विश्वविद्यालयबाट पशु आहारा (एनिमल न्युट्रिसन) मा स्नातकोत्तर सकेका डा. भाट व्यावसायिक पशुपन्छी पालन गर्दा कसरी व्यवस्थित बनाएर राख्ने, कस्ता आहार र खोप कुन समयमा दिने, नश्ल सुधार कसरी गर्ने, निरोगी कसरी राख्ने भन्नेबारे बढी परामर्शहरू दिन्छन् । नयाँ फार्म खोल्नेहरूले पनि सुरुमै उनीबाट परामर्श लिन खोज्छन् ।

कमलेशले आफूले नभ्याएर विज्ञ पशु चिकित्सकलाई समेत पठाउँछन् । ‘कुन औषधि कुन बेला खुवाउने भन्ने एउटा समयतालिका हुन्छ, अवस्था अनुसारको कुन पोषण तत्व कहिले कसरी दिने भन्ने विषय म फार्ममै गएर पनि सिकाउँछु’, उनले भने ।

कमलेश्वरका अनुसार उनलाई दिनमा १०० भन्दा बढी कृषकको फोन आउँछ, काममा व्यस्त हुँदा उनले उठाउन पाउँदैनन् । सकेसम्म फुर्सदमा कल ब्याक गर्ने गरेको उल्लेख गर्दै ह्वाट्सएपमा पनि कृषकहरूले परामर्श माग्ने गरेको बताउँछन् । ‘भिडियो कल मार्फत किसान मात्रै हैन, नयाँ पशु चिकित्सकदेखि ग्रामीण कृषि प्राविधिकहरूलाई पनि मैले परामर्श दिने गरेको छु’ उनले भने, ‘सकेसम्म टेलिमेडिसिन र काउन्सिलिङ सेवा दिएर भए पनि समस्या सुनेर समाधानको उपाय सुझाउँछु ।’

फिल्ड भिजिटमा जाँदा आफूले सेवा शुल्क भने लिने गरेको डा. भाट बताउँछन् । कतिपय किसानले फोनबाट परामर्श लिएपछि स्वेच्छिक रूपमै सेवा शुल्क समेत दिने गरेका छन् । ‘नियमित रूपमै परामर्श लिनेहरूले मैले नमाग्दा पनि शुल्क दिनुहुन्छ’, उनी भन्छन् ।

‘किसानले अनेकन् दुःख झेलेर उत्पादन गरेको कृषि उपजको बजार यहाँ नै छ’ उनले भने, ‘तर; ती उत्पादनले भारतको सस्तो लागतका उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्, यो विडम्बनालाई अन्त्य गर्नुपर्छ ।’

डा. भाट दैनिक रूपमा कृषकहरूको समस्या समाधानमा प्रभावकारी ढंगले काम गर्न पाएकोमा गर्व महसुस गरेको सुनाउँछन् । आफूले दिएको सुझावले राम्रो काम गरेको किसानले नै खुशीसाथ सुनाउने गरेको कुराले आफूलाई खुशी मिल्ने भाट बताउँछन् । ‘अरूको खुसीको कारण बन्न पाउँदा नै सन्तुष्टि मिल्छ’, उनी भन्छन् ।

कमलेश्वरले कृषि क्रान्तिको पेजमा बजार अभावले समस्यामा परेका किसानले अनुरोध गरेमा नबिकेका उत्पादनबारे जानकारी दिएर निःशुल्क सहयोग गर्छन् । उनका फेसबुक तथा युट्युबमा गोठ सफा राख्ने तरिका, पशुपन्छीको आहार र स्याहारका उपायहरू, रोगका लक्षण तथा उपचार विधि सम्बन्धी भिडियो हेर्न पाइन्छ ।

यति मात्रै होइन, पशुवस्तुको तौल अनुमान गर्ने तरिका, पशु स्वास्थ्य तथा प्राथमिक उपचार सम्बन्धी जानकारीदेखि बियाउने र बियाएको पशुवस्तु स्याहारका विधि सिकाइएका उनका भिडियो नियमितजसो आउँछन् । कमलेश्वर भिडियोबाटै गोठबाट झिङ्गा धपाउने तरिकादेखि गर्भाधानको विधि र गाभिन (बाली लागेको अर्थात् बियाउने) पशु चिन्ने टिप्ससम्म सिकाउँछन् । दानाको तयारीदेखि पशु बीमासम्मका जानकारी उनका भिडियोहरूबाट पाइन्छन् ।

डा. भाट फिल्डमा पुग्दा कृषक र सरकारको उपलब्धता तथा सेवा बीचको खाडल भेट्छन् । सरकारले कृषि क्षेत्रलाई उकास्न अनुदान वितरणमा जोड दिइरहेको भए पनि त्यो वास्तविक किसानको पहुँचमा नभएको उनको बुझाइ छ । जो राजनीतिक र प्रशासनिक पहुँचमा नजिक छन्, उनीहरूले नै राज्यको प्राथमिकतामा रहेको भन्दै भाट सरकार कृषि ज्ञान, व्यवसाय, बजारका कुराहरूबारे कृषकले सही समयमा जानकारी नपाएको बताउँछन् ।

‘ज्ञानका लागि तालिम, अभिमुखीकरण र सचेतना कार्यक्रमहरू आर्थिक वर्ष अन्तिममा लिएर गइन्छ, त्यतिबेलासम्म कृषक ज्ञानकै अभावमा कृषि व्यवसायमा अप्ठेरोमा परिसकेका हुन्छन्’ उनले भने, ‘सानो बजेटको कार्यक्रम सक्नका लागि मात्रै कृषि ज्ञान बाँड्ने काम बन्द गरेर सचेतना पनि समयमै दिने व्यवस्था हुनुपर्छ ।’

व्यावहारिक किसिमले तालिम दिनेभन्दा पनि एक–दुई वटा विषयमा पढाएर भत्ता दिएर घर फर्काउने गर्दा किसानले लाभ लिने अवस्था बन्न नसकेको उनको टिप्पणी छ । ‘किसानले अनेकन् दुःख झेलेर उत्पादन गरेको कृषि उपजको बजार यहाँ नै छ’ उनले भने, ‘तर; ती उत्पादनले भारतको सस्तो लागतका उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्, यो विडम्बनालाई अन्त्य गर्नुपर्छ ।’

रवीन्द्र घिमिरे