+
+

कम जन्मिदैछन् छोरीहरू, लैङ्गिक अनुपात चीनकै समान

अच्युत पुरी अच्युत पुरी
२०८१ साउन २५ गते २०:१२

२५ साउन, काठमाडौं । नेपालमा पछिल्लो लैङ्गिक अनुपात खतराउन्मुख देखिएको छ । यसले भोलिका दिनमा लैङ्गिक अनुपात बिग्रने र विवाहका लागि जोडी नपाउनेदेखि प्राकृतिक नियम नै प्रभावित हुनसक्ने जानकारहरु बताउँछन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार राष्ट्रिय जनगणनाको बालबालिका सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार हाल देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) छन् । तर बालकको तुलनामा बालिकाको संख्या थोरै छ ।

त्यसमा पनि जनगणना भएको एक वर्षको अवधिमा लैङ्गिक अनुपातः ११२ रहेको छ । अर्थातः हरेक १०० बालिकाको जन्म हुँदा ११२ जना बालक जन्मिएका छन् ।

‘विश्वभर मृत्युदर महिलाको तुलनामा पुरुषको धेरै हुन्छ, त्यसकारण लैङ्गिक अनुपात १०५ सम्म सही मानिन्छ,’ कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मी भन्छन्, ‘नयाँ जन्ममा ११२ को लैङ्गिक अनुपात खतराउन्मुख अवस्था हो ।’

जन्मजात नै बालक जन्मिरहेको भए त्यसलाई सामान्य लिन सकिन्छ, तर जानाजान छोरी नजन्माउने प्रवृत्ति बढेको भए त्यो डरलाग्दो अवस्था हुने उनको चेतावनी छ । यसले भविश्यमा लैङ्गिक अनुपात बिग्रने र विवाहका लागि जोडी नपाउनेदेखि प्राकृतिक नियम नै प्रभावित हुने खतरा बढ्ने उनी बताउँछन् ।

समग्र जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छ । २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६९ हजार ५८३ छ । यसमा पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाख धेरै छ ।

तर बालबालिकाको मात्र प्रवृत्ति अध्ययन गर्दा बालिकाको तुलनामा बालक धेरै छन् । त्यसमा पनि एक वर्ष अवधि भित्रको जन्मले लैङ्गिक असन्तुलनतर्फ संकेत गरेको डा. रेग्मीले जानकारी दिए ।

प्रदेशगत रुपमा हेर्दा नयाँ जन्ममा सबैभन्दा डरलाग्दो अवस्था मधेश प्रदेशमा देखिन्छ । यस प्रदेशमा हरेक १०० बालिका जन्मिँदा १८ जना बालक जन्मिएका छन् । अर्थातः यहाँ १०० बालिका जन्मिँदा ११८ बालक जन्मिएका छन् ।

कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ११६ छ । बागमती र गण्डकीमा यो अनुपात १११ छ । कर्णालीमा १०९ देखिन्छ । सबैभन्दा कम कोशी प्रदेशमा १०६ रहेको छ ।

विश्वका विभिन्न मुलुकको प्रवृत्ति हेर्दा चीन र नेपालमा लैङ्गिक अनुपात समान ११२ देखिन्छ । भारतमा १०८, थाइल्याण्ड र दक्षिण कोरियामा १०६, जापान र बंगलादेशमा समान १०५ देखिएको छ ।

शून्यदेखि १७ वर्षसम्मको उमेर समूहमा लैङ्गिक अनुपात हेर्दा १०७.६ रहेको छ । अर्थातः यो उमेर समूहमा प्रति १०० बालिका हुँदा बालकको संख्या १०७.६ रहेको छ । समग्र जनसंख्यामा लैङ्गिक अनुसमिान ९५.६ छ । त्यसैले समग्र जनसंख्याको तुलनामा पछिल्लो प्रवृत्ति बढी खतराउन्मुख मानिएको छ ।

जन्मदर नै घट्नु अर्को चिन्ता

एकातर्फ बालक र बालिकाको संख्याको अन्तर बढ्दो छ भने अर्कोतर्फ जन्मदर नै ऋणात्मक लागेको छ ।

२०६८ को जनगणना अनुसार शून्यदेखि १७ वर्षसम्मका बालबालिकाको संख्या १ करोड १० लाख हाराहारी थियो । अहिले यो उमेर समूहका बालबालिकाको संख्या ९८ लाख ६९ हजारमा झरेको छ । यसले पछिल्लो १० वर्षमा बालबालिकाको जन्मदर खुम्चिन पुगेको देखिएको छ । अघिल्लो दशकसँग तुलना गर्दा बालबालिकाको जनसंख्या वृद्धिदर –१.१ प्रतिशतले खुम्चिन पुगेको छ ।

यो अर्को समस्याका रुपमा रहेको डा. रेग्मी बताउँछन् । यसरी घटेको संख्यामा पनि बालकको तुलनामा बालिकाको संख्या ४ प्रतिशत विन्दुले घटेको छ ।

देशभर रहेको बालबालिकाको जनसंख्या ९८ लाख ६९ हजार ५८३ जना कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो । कार्यालयका अनुसार देशभर रहेको बालबालिको संख्यामध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेका देखिन्छ । कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाखले धेरै देखिएको छ । बालबालिकाको मात्र हिसाव गर्दा बालक भन्दा बालिका ३.६ लाख कम छन् । बालबालिकामध्ये १० देखि १४ वर्षसम्मका बालबालिकाको संख्या अधिक देखिएको छ । यस वर्गमा कुल बालबालिकाको २९.५ प्रतिशत हिस्सा देखिन्छ । त्यसपछि क्रमशः ५ देखि ९, ४ वर्ष भन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका देखिएका छन् ।

एकल परिवार बढे

नेपालका ७१.३ प्रतिशत परिवारमा कम्तिमा एक जना १८ वर्ष मुनीका बालबालिका रहेको देखिएको छ ।

देशभर ६६ लाख ६६ हजार ९३७ परिवार छन्, जसको ७१.३ प्रतिशत परिवारमा बालबालिका छन् । सबभन्दा धेरै तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिका भने सबैभन्दा कम पहाडका परिवारमा रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।

अर्धशहरी (७६.४ प्रतिशत) र ग्रामीण (७०.५ प्रतिशत) क्षेत्रको तुलनामा शहरी क्षेत्रमा सबैभन्दा कम (६५ प्रतिशत) परिवारमा बालबालिका रहेको देखिन्छ । बागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम देखिन्छ । तथ्यांक अनुसार एकल परिवारमा ५४.१ प्रतिशत र संयुक्त परिवारमा ४५.९ प्रतिशत परिवारमा कम्तिमा एक जना बालबालिका रहेको देखिन्छ । यसले नेपालमा परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको देखिएको छ ।

साढे ३१ हजार बालबालिका घरमुली

देशभर साढे ३१ हजार बालबालिका घरमुलीको भूमिकामा रहेको पाइएको छ । तथ्यांक अनुसार अहिले नेपालमा ३१ हजार ५१२ जना बालबालिका घरमूलीको भूमिकामा देखिएका छन् । यो कुल बालबालिकाको संख्याको ०.४७ प्रतिशत हो ।

परिवारमूली बालबालिकामध्ये ५३ प्रतिशत बालक र ४७ प्रतिशत बालिका रहेको देखिन्छ । प्रदेशबीच तुलना गर्दा बालिका परिवारमूली हुने परिवार सबैभन्दा कम मधेश र सबैभन्दा धेरै बागमतीमा रहेको छ ।

बालविवाहको प्रवृत्ति कस्तो ?

तथ्यांक अनुसार अहिले १० देखि १७ वर्ष उमेर समूह भित्रका १.६ प्रतिशतको विवाह भइसकेको छ । समग्र देशैभर हेर्दा भने बालविवाह भएको जनसंख्या १४.१ प्रतिशत छ । जसमा महिलाको बाहुल्य छ । यो सूचक १८ वर्ष उमेर नपुग्दै विवाह गरेका जनसंख्याका आधारमा निकाल्ने गरिन्छ ।

देशभर रहेका बालबालिकामध्ये ९४.१ प्रतिशत बालबालिका साक्षर रहेका छन् । साक्षरमध्ये ४६.१ प्रतिशतले प्राथमिक तह पार गरेका छन् । अझै पनि ५.४ प्रतिशत बालबालिका कहिल्यै विद्यालय गएका छैनन् । बीचमै विद्यालय छाडेका बालबालिका ५.३ प्रतिशत छन् । यो प्रवृत्ति मधेश प्रदेशमा सबैभन्दा धेरै छ ।

१० देखि १७ वर्षका बालबालिकामध्ये ३० प्रतिशत कुनै न कुनै आर्थिक काममा संलग्न रहेको देखिएको छ । पहाडमा यो दर सबैभन्दा धेरै ३३ प्रतिशत छ ।

नेपालमा ०.०३ प्रतिशत बालबालिका घरेलु कामदारको हैसियतमा काम गरिरहेको देखिएको छ । कुल बालबालिकामध्ये ७८ प्रतिशत आमा बुबा दुबै सँग बस्ने गर्छन् । बालबालिकामध्ये १.२ प्रतिशतमा अपांगता रहेको छ । देशभर १५ हजार १२५ जना किशोरी आमा रहेको समेत देखिएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?