+
+

इन्जिनियर्स एसोसिएसन निर्वाचन : कांग्रेसविरुद्ध वाम गठबन्धनको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २५ गते २०:१७

२५ साउन, काठमाडौं । दुई ठूला दल कांग्रेस र एमाले सत्ता सहयात्रामा छन् । नेकपा एमालेले माओवादी नेतृत्वको सरकार छाडेर कांग्रेसको समर्थनमा नयाँ सरकार बनाएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा भने एमालेले वामपन्थी दलहरुको मोर्चा बनाएर कांग्रेसलाई चुनौती दिने तयारी गरेको छ । देशभरका इन्जिनियरहरूको छाता संगठन इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी तथा तेस्रो प्रदेश समिति निर्वाचन आगामी २८ भदौमा हुन तय भएको छ ।

एसोसिएसनमा कांग्रेससम्वद्ध सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसियसन (सीडेन)को पकड बलियो छ ।

एमालेसम्वद्ध प्रोग्रेसिभ इन्जिनियर्स एसोसियसन नेपाल (पीन), माओवादी सम्वद्ध नेस्नल इन्जिनियर्स अर्गनाइजेसन अफ नेपाल (नियोन) र एकीकृत समाजवादी सम्वद्ध समाजवादी इन्जिनियर्स एसोसियसन नेपाल (सीन) बीच मोर्चाबन्दीका लागि सम्वाद सुरु भएको छ ।

‘अहिलेसम्म वामहरु फरक फरक ढंगले उभिएका छन्, तर एकै ठाउँमा ल्याउने कोशिस सुरु भएको छ’ पीनका महासचिव डा.भेषराज थापा भन्छन्, ‘त्यसको लागि वार्ता समिति बनेको छ ।’

पीनको वार्ता समिति संयोजक देउकाजी गुरुङका अनुसार निरन्तर सम्वाद भइरहेको छ, तर कुनै निष्कर्षमा भने पुगिनसकेको छैन ।

६२ वर्ष अघि २०१९ सालमा स्थापित नेपाल इन्जिनियर्स एसोसिएसनमा निरन्तर सीडेनको पकड थियो ।

३२औं केन्द्रीय कार्यकारिणी निर्वाचनमा एमाले र माओवादी मिल्दा पीनले अध्यक्ष र नियोनले महासचिव जितेको थियो । ३३औं निर्वाचनमा सबैले अलग अलग उम्मेदवारी दिए । सीडेनमा विवाद भयो । बागी उम्मेदवारी पर्यने, तर आधिकारिक उम्मेद्वार हरिबहादुर दर्लामी अध्यक्षमा र रविभूषण झा महासचिवमा निर्वाचित भएका थिए ।

यसपटक सीडेन एकतावद्ध छ । त्यसेले वामपन्थी दलहरुले पनि मिलेर लड्ने प्रयास थालेका हुन् ।

तर उम्मेदवारी दिइसकेकाले कसलाई अगाडी बढाउने वा कसलाई हटाउने भन्ने समस्या भएको छ । नियोनबाट महासचिवमा उम्मेदवारी दिए राजेन्द्रबहादुर क्षेत्रीले भन्छन्, ‘एकजुट भएर अगाडी बढौं भनेर छलफल भइरहेको छ । तर उम्मेदवारी दिइसकेपछि कसलाई हटाउने कसलाई अगाडी बढाउने भन्ने कुराले समस्या भइरहेको छ ।’

सीडेन भने जित्नेमा ढुक्का देखिन्छ । केन्द्रीय अध्यक्ष लक्ष्मण केसी भन्छन्, ‘गत निर्वाचनमा हामीभित्रै समस्या हुँदा समेत हामीले प्यानल नै जित्यौं । यो पटक त झन हामी सबै एकजुट भएकोले हाम्रै पक्षमा हुन्छ भन्ने उच्च मनोबलका साथ मुद्दाहरुमा केन्द्रित छौं ।’

निर्वाचन समितिले बुधबार प्रकाशन गरेको उम्मेदवारहरुको प्रारम्भिक नामावलीमा विहिबार र शुक्रबार दाबी विरोध गर्ने समयावधि तोकेको थियो । आइतबारदेखि ३१ साउनसम्म उम्मेदवारी फिर्ता लिने समय छ भने ३२ साउनमा अन्तिम नामावली प्रकाशन गर्नेछ ।

त्यसअघि नै वाम संगठनहरुबीच सहमति जुटाउने गरी छलफल भइरहेको पीनका महासचिव थापाले बताए । उनले अनलाइनखबरसँग भने, ‘पार्टीहरुको तहमा जस्तो समीकरण भएपनि इन्जिनियरिङमा चाँहि एउटै भएर जाने भन्ने हिसाबले प्रयास जारी छ ।’

इन्जिनियरिङ कलेजबाट स्नातक(बी.ई) गरेर इन्जिनियरिङ परिषदबाट लाइसेन्स प्राप्त इन्जिनियरहरु यस संस्थाको सदस्य हुन पाउने प्रावधान छ । २८ भदौमा काठमाडौं, विर्तामोड, विराटनगर, इटहरी, जनकपुर, वीरगंज, हेटौंडा, भरतपुर, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढी गरी १४ स्थानमा मतदान केन्द्र रहनेछन् ।

निर्वाचन समितिले प्रकाशन गरेको केन्द्रीय प्रारम्भिक सूचीअनुसार अध्यक्षमा ६, उपाध्यक्षमा ७, महासचिवमा ६ तथा उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा ७/७ जनाले उम्मेदवारी दिएका छन् । १२ सदस्य पदका लागि ७४ जनाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?