+

बालीघरे हजामको शैलुन क्रान्ति

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
परम्परागत हजाम पेशालाई आधुनिक बनाउँदै व्यावसायिक शैलुनमा बदल्ने सफल उद्यमी हुन्, मोहन ठाकुर । बालीघरे ‘हजाम’ बाट उठेर अहिले उनी अढाइ करोड रुपैयाँ लगानीमा पाँच ‘आउटलेट’ र एकेडेमी सहितको ‘चेन बिजनेस’ सञ्चालन गरिरहेका छन् ।
मोहन ठाकुर

रूपन्देहीको देवदहमा निम्न वर्गीय परिवारमा जन्मिएका मोहन ठाकुर (३६) को पुर्ख्यौली पेशा ‘बालीघरे हजाम’ हो । मोहनका हजुरबा गोली ठाकुर र बुबा रामविनोद गाउँमा स्थानीयको घर–घर पुगेर दाह्री र कपाल काटिदिने र वर्षभरिको ज्याला बापत एकमुष्ट अन्नबाली लिएर परिवारको गुजारा गर्थे ।

मोहन पनि सानैदेखि घर–घर पुगेर स्थानीयको दाह्री, कपाल काटेर बुबालाई सघाउँथे । २०५० को दशक सुरुआतमा देवदहको शीतलनगर चोकमा मोहनका बुबाले पहिलो पटक टंकी (काठको सानो घर) मा पसल खोले । त्यहाँ उनले बुबाको साथी भएर ग्राहकको दाह्री, कपाल काट्न सिके । मोहनले १२ कक्षा उत्तीर्ण गर्दासम्म यो क्रम चल्यो ।

दिउँसो बुटवलको अक्सफोर्ड कलेजमा पढ्न जाने मोहनले बिहान र साँझ टंकीमै बसेर काम गर्थे । हजाम पेशा गर्दा हेपिनुपरेको र गुजाराभन्दा बढी कमाइ नहुने भएकाले छोराले अरू नै पेशा वा सरकारी जागिर खाओस् भन्ने बुवाको चाहना थियो । उनी छोरालाई बारम्बार सम्झाउँथे, ‘हजाम पेशामा भविष्य छैन, यता नलाग् !’

गैरसरकारी संस्था हुँदै शैलुनतिरै

२०६५ सालमा मोहन बुटवल बहुमुखी क्याम्पसमा मानविकी संकायमा स्नातक तह पढ्न थाले । पढाइसँगै उनले एउटा गैरसरकारी संस्थामा स्वास्थ्य सम्बन्धी परियोजनामा सहायक भएर काम गर्न थाले । बीए पास गरेपछि मोहनले अर्को अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा झण्डै दुई वर्ष बढी काम गरे । उनी कार्यरत संस्थामा सीपलाई रोजगारीसँग जोड्न मिहिनेत गरिरहेका थिए ।

मोहनलाई त्यतिबेलै लाग्यो, परम्परागत सीपलाई रूपान्तरण गरेर नयाँपन दिनसके, फरक ढंगले काम गर्न सके यही पेशामा पनि केही गर्न सकिन्छ । उनलाई एउटा प्रश्नले लखेट्न थाल्यो– ‘बुबाले हजाम पेशा गरेरै आफूलाई बीएसम्म पढाउनुभयो, राम्रै जागिर खानेसम्म बनाउनुभयो । अब मैले पुर्ख्यौली पेशालाई ‘अपग्रेड’ गरेर आधुनिक किन नबनाउने ?’

उनी शैलुन व्यवसायबाट धेरै राम्रो आम्दानी हुने बारे जानकार थिए । अन्ततः उनले अधिकृतस्तरको जागिर छाडे र शैलुनको आधुनिकीकरण गर्ने प्रतिज्ञा गरे । तर उनको निर्णय विरुद्ध बुबा रामविनोद सँगै सिंगो परिवार उभियो । केही समय त उनको घरमा बोलचाल नै बन्द भयो ।

‘कपाल काट्ने काम नै गर्नु थियो भने किन बीएसम्म पढेको ? कसले यसरी मति भ्रष्ट बनायो भनेर बुबा बेस्सरी रिसाउनुभयो’ मोहनले विगत सम्झँदै भने, ‘व्यवसाय सुरु गर्न बुबाको नाममा रहेको जग्गा धितो राखेर बैंकबाट कर्जा लिनुपर्ला भन्ने सोचेको थिएँ, त्यो दिनुभएन, मलाई घरबाट केही सहयोग भएन ।’

यो प्रतिकूलताका बावजुद पनि मोहनले आफ्नो उद्देश्यसँग सम्झौता गरेनन् । बुटवलको राम्रो ठाउँमा अरूको भन्दा फरक र स्तरीय शैलुन खोलेरै छाड्ने तयारीमै रहे । आधुनिक शैलुनका लागि गुगल सर्च गर्नेदेखि काठमाडौं, दिल्लीहुँदै बैंककसम्म पुगेर हेयर स्टाइलका विभिन्न एड्भान्स कोर्स गरेर आफैं पूर्ण दक्ष बने ।

मोहनले २०७८ सालयता दुई वर्षको अवधिमा तिलोत्तमाको मणिग्राम, नवलपरासीको बर्दघाट, पोखरा, कपिलवस्तुको जितपुरमा गरी समृद्धिका पाँचवटा शाखा विस्तार गर्न सफल भए ।

घरबाट पैसा र साथ पाएनन् त के भयो, साथीभाइसँग सापट मागेर २०७३ सालमा बुटवल अमरपथको सिंह कम्प्लेक्समा ३६५ वर्गफिट क्षेत्रफल भाडामा लिएर १० लाख लगानीमा मोहनले शैलुन सञ्चालन गरे । त्यतिबेलाको चर्चित ब्रान्ड नील डेभिडको फ्रेन्चाइजी लिएर दुई जना कर्मचारी सहित उनले युनिसेक्स शैलुन चलाए । त्यो बेला बुटवल र आसपासका क्षेत्रमा वातानुकूलित (एसी) कोठामा आधुनिक र सुविधासम्पन्न अनि एकैथलोमा पुरुष र महिलाको कपाल काट्ने शैलुन खुलेकै थिएनन् ।

सानो टिनको बाकसमा कैंची र ब्लेड बोकेर ढुंगा वा काठको मुढामा बसेर दाह्री कपाल काट्ने गरेका हजुरबा र बुबाको पुस्ताबाट मोहनले पेशालाई परिमार्जित र व्यावसायिक बनाउँदै शैलुन सुरु गरे, जसले बजारमा उल्लेख्य चर्चा कमायो ।
शैलुन सुविधासम्पन्न बन्यो, दररेट पनि महँगो हुने भइहाल्यो । धेरैको अनुमान थियो, ‘यति महँगोमा कसले कपाल काट्छ ? यो शैलुन छिट्टै बन्द हुन्छ ।’ तर उद्यम भनेको सोच पनि रहेछ । बुटवलमा अरू सामान्य शैलुनमा डेढ सय तिरेर कपाल काट्नेहरू कम्तीमा तीन सय तिरेर मोहनको शैलुन धाउन थाले । ग्राहकको सन्तुष्टि पछ्याउँदै गुणस्तरीय सेवा दिएपछि मान्छेहरूको अनुमान गलत साबित भयो । उनको शैलुनमा आकर्षण दिनप्रतिदिन बढ्न थाल्यो ।

नयाँ पुस्ताले केही फरक खोज्छ नै । यही कुरा बुझेका मोहन भन्छन्, ‘वातानुकूलित कोठामा आरामदायी कुर्सीमा बसेर कपाल काट्न पाइने, व्यक्तित्व सुहाउँदो हेयर स्टाइलको परामर्श, औजारहरूको निर्मलीकरण, कपाल काटेपछि टाउको नुहाउने सुविधा, सरसफाइ, हाइजिन जस्ता सुविधाले गर्दा सुरुको दिनदेखि नै पछाडि फर्केर हेर्नुपरेन’ मोहनले भने, ‘६ महिनापछि महिलाको हेयर ट्रिटमेन्ट, कलरिङ, स्ट्रेटनिङ, फेसियल जस्ता सुविधा थपेपछि शैलुनप्रति बुटवल बाहिरबाट पनि ग्राहक थपिंदै गए ।’

सफा टावेल र राम्रो साबुनको व्यवस्था भएपछि अफिस हिंडेका मानिस कपाल काटेर शैलुनमै नुहाउने सुविधा पाउँछन् ताकि नुहाउनैका लागि घर फर्कनु नपरोस् । कामकाजी मान्छेहरूको पनि रोजाइ बन्न थाल्यो मोहनको शैलुन ।

त्यसपछि एकेडेमी पनि, कलेज सपना

बुटवल बाहिरबाट समेत ग्राहक आउन थालेपछि शैलुनलाई ठाउँ अपुग भयो । दुई पटकसम्म ठाउँ थपेसँगै अहिले उनको शैलुन २२ सय स्क्वायर फिटमा फैलिएको छ । तीन वर्षपछि मोहनले नील डेभिडको फ्रेन्चाइजीलाई छाडेर आफ्नै ब्रान्ड ‘समृद्धि हेयर ड्रेसिङ शैलुन’ बनाए ।

ग्राहकको रुचि र चाहना अनुसार सेवाहरू थप्दै अघि बढेका मोहनले २०७८ सालयता दुई वर्षको अवधिमा तिलोत्तमाको मणिग्राम, नवलपरासीको बर्दघाट, पोखरा, कपिलवस्तुको जितपुरमा गरी समृद्धिका पाँचवटा शाखा विस्तार गर्न सफल भए ।

छोटो समयमा नयाँ ब्रान्डको रूपमा पस्केर विभिन्न जिल्लामा चेन व्यवसाय विस्तार गर्दै अघि बढेका मोहनले गत वर्षको चैतबाट कपाल र सौन्दर्यसँग सम्बन्धित तालिमहरू दिने एकेडेमी पनि सञ्चालनमा ल्याएका छन् । हालसम्म शैलुन र एकेडेमीमा गरी साढे २ करोड बढी लगानी भएको मोहनले बताए । ‘एकेडेमीमा हेयर केमिकल, स्किन, नेल, मेकअप, हाइड्रा फेसियल आदि विषयमा १५ दिनदेखि ६ महिनासम्मका तालिम सञ्चालन गरिरहेका छौं’, उनी भन्छन् ।

कपाल काट्ने सीप र हेयर ड्रेसिङ सीपको स्वदेश र विदेशमा उच्च माग भएकाले यस सम्बन्धी कलेज नै खोल्न जरूरी ठान्छन् मोहन । ‘यस सम्बन्धी सीपहरूलाई पाठ्यक्रममै राखेर सिकाउन जरूरी छ । विदेशका कैयौं विश्वविद्यालय तथा कलेजहरूमा यस सम्बन्धी पढाइ हुन्छ’ मोहनले भने, ‘अब हामीले पनि कुनै कलेज नै सञ्चालन गरेर यस्ता विषयमा पठनपाठन गराउन जरूरी छ ।’

यस्तो कलेज खोलेर नेपाली युवालाई तालिम दिन सके सीमावर्ती भारतीय शहरबाट नेपालमा आएर शैलुन व्यवसाय गर्नेलाई विस्थापित गरी नेपालीलाई नै व्यवसायी बनाउन र रोजगारी सिर्जना गर्न सकिने मोहन बताउँछन् । यसो गर्न सके शैलुन व्यवसायलाई हेय भावले हेर्ने समाजको दृष्टिकोण पनि परिवर्तन हुने र नेपाली पैसा विदेश जान पनि रोकिने उनको बुझाइ छ ।

शैलुनका ५ वटा शाखा र तालिम दिने एकेडेमीमा गरी समृद्धिमा ५० जना युवाले रोजगारी पाएका छन् । ‘एक वर्षमा सरदर १३ हजार ग्राहक सेवा लिन आउने गरेकामा ८० प्रतिशत महिला छन्’ उनी भन्छन्, ‘पहिले सौन्दर्यको परिभाषा महिला र त्यसमा पनि अनुहारमा सीमित थियो, हामीले पुरुष र कपाल पनि सौन्दर्यका अभिन्न पाटो हुन् भन्ने यो क्षेत्रमा स्थापित गर्‍यौं ।’

विदेशमा महँगो हुने भएकाले वैदेशिक रोजगारीका क्रममा छुट्टीमा आएका नेपालीहरू पनि उल्लेख्य संख्यामा समृद्धिमा सेवा लिएर जाने गरेको मोहन बताउँछन् । ग्राहक पछ्याउन माहिर मोहन भन्छन्, ‘निकट भविष्यमा दुबई र काठमाडौंमा शाखा विस्तार गर्ने तयारीमा छु ।’

‘सापटी खोजेको १० लाख रुपैयाँबाट सुरु गरेको व्यवसाय ७ वर्षमा आइपुग्दा साढे दुई करोड बढी लगानी पुगेको छ’ मोहनले भने, ‘हिजो यो पेशा गर्न हुन्न, इज्जत छैन, राम्रो कमाइ पनि हुन्न भनेर रिसाएको मेरै परिवार अहिले शैलुनको प्रगति र आम्दानी देखेर अचम्म र दंग छ ।’

शैलुनका नियमित ग्राहक गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले स्नातक पढेको युवाले लाखौं लगानी गरेर खोलेको शैलुनमा थुप्रै युवालाई रोजगारी दिनु साँच्चिकै गज्जब भएको बताए । ‘परम्परागत कामलाई नयाँ तरिकाले गर्दा व्यावसायिक हिसाबले सफल हुन सकिने उदाहरण मोहनको शैलुन बनेको छ’ अध्यक्ष अर्यालले भने, ‘यस्ता युवा र व्यवसायलाई प्रोत्साहन दिनुपर्छ ।’

विगतमा कपाल काट्ने काम गर्छु भन्दा अप्ठ्यारो मान्नुपर्ने अवस्था थियो अहिले त्यो सोच बदलियो । व्यावसायिक ढंगले काम गरे जुनसुकै पेशा गर्व गर्नलायक हुन सक्दोरहेछ भन्ने तथ्यलाई समृद्धि शैलुनले सावित गरिदिएको बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेशमान सिंह बताउँछन् ।

‘साढे २ करोड रुपैयाँ लगानी, ५ वटा शाखा, ५० जना भन्दा धेरैलाई रोजगारी, बुटवलमा घर जोडेर, झण्डै करोड रुपैयाँको गाडी चढेर शैलुनको चेन हाँक्नु एउटा युवाले गरेको क्रान्ति नै हो’, सिंह भन्छन् ।

टोपराज शर्मा