+

च्याउ बेच्ने करोडपति केटो

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
हिजो गाउँ–गाउँमा च्याउ बेच्न हिंड्ने प्रेमराज युवा उमेरमै करोडौंको व्यवसायका मालिक बनेका छन् । उनको यो लोभलाग्दो व्यावसायिक सफलता र प्रेरणादायी व्यक्तित्व ‘स्वदेशमा केही छैन’ भन्नेका लागि त गतिलो जवाफ हो ।
प्रेमराज भट्ट

कैलाली अत्तरियाका प्रेमराज भट्ट (३१) अहिले जुन व्यावसायिक मुकाममा छन्, सायद यो उनको कल्पना बाहिरको कुरा थियो । उनले जे सोचेर व्यवसायमा हात हालेका थिए, त्यसलाई सफल बनाउन र मुकाम छुन सानोतिनो मिहिनेतले पुग्नेवाला थिएन । यति चाहिं उनलाई पक्कै थाहा थियो ।

अनि, प्रेमराज यसरी दिलोज्यान दिएर काम गर्न थाले, यति अथक् मिहिनेत गरे आखिरमा सफलताले पनि उनलाई पछ्याउन करै लाग्यो । दिनरात नभनी गरेको मिहिनेतकै कारण प्रेमराजले ‘दिन दुई गुणा रात चौगुणा’ का हिसाबमा सफलता हात पार्दै गए ।

कैलाली गोदावरी नगरपालिका अत्तरियाका प्रेमराजले ‘कलिलो’ उमेरमा प्राप्त गरेको यो सफलताको ‘राज’ थाहा पाउन उनको जीवनी खोतल्नुपर्छ ।

बस भाडा नभएर पैदल यात्रा

यो २०६४ साल वैशाख पहिलो साताको कुरा हो । डोटी जोरायल गाउँपालिका–३ घर भएका प्रेमराजले भर्खरै ९ कक्षा सकेका थिए । भाइको पढाइ अझै अगाडि बढाउन कैलाली अत्तरिया बस्दै आएकी दिदीले बोलाइन् ।

दिदीले त बोलाइन्, तर त्यहाँसम्म जान उनीसँग बसभाडा थिएन । खेती–किसानीबाट छाक टार्दै आएका बुबा नारायणदत्तसँग पनि छोरालाई अत्तरियासम्म पठाउने पैसा भएन । छिमेकीसँग ऋण माग्न गए पाएनन् । किनकि उनका अधिकांश छिमेकी उनी जस्तै थिए ।

सानै उमेरदेखि पढाइमा अब्बल प्रेमराजलाई अझै पढ्न अत्तरिया जसरी पनि जानुपर्छ भन्ने लाग्यो । अनि, कसरी अत्तरिया पुग्ने भन्ने ध्याउन्नमा लागे उनी । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने उक्ति प्रेमराजले सुनेका थिए । बस्, अब उनले त्यसलाई चरितार्थ गर्न बाँकी थियो ।

उनले एउटा गम्भीर निर्णय गरे– जोरायलबाट हिंडेर अत्तरिया पुग्ने । ४ वैशाख २०६४ मा प्रेमराज पोकोपन्तुरो कसेर बिहान सखारै ६ बजे अत्तरिया हान्निए । कलिला गोडा दिनभरि हिंडेपछि राति अबेर अत्तरिया पुगे । उनको खुसीको सीमा रहेन । भाइ देखेर दिदी पनि गद्गद् ।

त्यसपछि प्रेमराज दिदीको घर बसेर अत्तरियास्थित दुर्गालक्ष्मी माविमा १० कक्षामा भर्ना भए । २०६५ सालमा एसएलसी पास गरे । र, रुचि अनुसार कञ्चनपुर गुलरियास्थित कृष्ण उच्च माविमा कृषि जेटीए पढ्न थाले ।

सँगसँगै उनले प्लस टु पनि अघि बढाइरहेका थिए । कृषि जेटीए पढिरहँदा व्यावसायिक खेती गरे आत्मनिर्भर मात्र नभई अर्थोपार्जन पनि हुने थाहा पाए । त्यो बेलासम्म उनी दिदीकोबाट गोदावरी नगरपालिका–२ तेघरीस्थित परिवारले ५० हजारमा ऐलानी जग्गा किनेर बनाएको कच्ची टहरोमा सरिसकेका थिए ।

च्याउ बेच्ने केटो, आज करोडपति

जेटीए पढिरहँदा कृषिलाई व्यावसायिक रूपमा अघि बढाउन उनीसँग लगानी गर्न पैसा थिएन । तर, थोरै लगानीमा गर्न सकिने र राम्रो प्रतिफल दिने च्याउ खेतीमा उनको ध्यान मोडियो ।

प्रेमराजले अध्ययनका क्रममा खाजा खर्च जोगाएर १ हजार रुपैयाँ बचत गरेका थिए । बजारमा एक पोकाको २०० रुपैयाँमा च्याउका बेर्ना पाइने थाहा पाएपछि त्यही पैसाले चार पोका बीउ किने । आफू सुत्ने घरको कोठामा खाटमुनि राखेर च्याउ खेती सुरु गरे ।

कृषिमा व्यवसायको दायरा बढाउँदै जान थालेपछि उनको आर्थिक हैसियत पनि सुधार हुँदै जान थाल्यो । बस भाडा नभएर डोटीबाट हिंडेर २०६४ सालमा कैलाली अत्तरिया झरेका प्रेमराजले नौ वर्षमा आफूलाई कृषि व्यवसायमा स्थापित गरेपछि उनको परिचय नै फेरियो ।

‘धेरै ठूलो लगानी गरेर व्यावसायिक रूपमा कृषि गर्न सक्ने अवस्था थिएन, तर मैले आफूसँग भएको १ हजार रुपैयाँमा चार पोका च्याउको बीउ ल्याएर कोठामा राखेर उत्पादन गरेको थिएँ’ प्रेमराज सम्झिन्छन्, ‘त्यो च्याउ गाउँ–गाउँ पुगेर बेचें । कृषि जेटीएको पढाइ पनि जारी राखें ।’

यो नै प्रेमराजको व्यावसायिक सुरुवात थियो । ऐलानी जग्गामा सानो टहरो बनाएर परिवारसँगै बसोबास गर्दै आएका उनलाई व्यावसायिक रूपमा ठूलो खालको च्याउ खेती गर्ने इच्छा जागिसकेको थियो । तर, लगानीको कुरामा गएर नै रोकिन्थे । कोठामा च्याउ उत्पादन गर्दागर्दै उनको कृषि जेटीएको पढाइ पनि सकियो ।

च्याउ खेती थप विस्तार गर्ने उनको चाहना अत्तरियामा रहेकी दिदीले जग्गा धितोमा राखेर पूरा गरिदिइन् । अन्ततः २०६७ सालमा दिदीको नाममा रहेको जग्गा कृषि विकास बैंकमा धितो राखेर प्रेमराजले २ लाख रुपैयाँ ऋण लिए ।

१ हजार रुपैयाँले च्याउ खेती थालेका उनलाई २ लाख रुपैयाँ हात परेपछि भने व्यावसायिक च्याउ खेती गर्ने ऊर्जा अझै थपियो । उनले गोदावरी नगरपालिका तेघरीमा चार कट्ठा र चुरे खानीडाँडामा पाँच रोपनी जग्गा भाडामा लिएर दुवै ठाउँमा व्यावसायिक च्याउ खेती अगाडि बढाए ।

तर, उत्पादित च्याउ बेच्न सजिलो थिएन । पहिलो, बजार अभाव थियो । अर्काे, मानिसलाई किनेर खानुपर्छ, स्वास्थ्यलाई लाभदायक हुन्छ भन्ने सचेतना पनि कम थियो । त्यसैले उत्पादित च्याउ बेच्न चुुनौतीपूर्ण थियो । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने जस्तै प्रेमराजले च्याउको फाइदाबारे आफंै सचेतना फैलाउने र ग्रामीण बस्तीका घर–घर पुगेर बेच्ने अभियान चलाए ।

‘सबैभन्दा ठूलो नै बजारको समस्या थियो । त्यसमाथि च्याउ विषालु हुन्छ, खायो भने मरिन्छ भन्ने मान्यता थियो’ उनी विगत सम्झिन्छन्, ‘झन्, किनेर खाने कुरा असम्भव जस्तै थियो । घर–घर गएर च्याउका फाइदाबारे सचेतना फैलाउँदै बेच्नुपरेको थियो ।’ दुःख भए पनि सफलता हात लाग्दै गयो ।

व्यावसायिक च्याउ खेतीबाट खर्च कटाएर वार्षिक ३ लाखसम्म बचत गर्न थालेका प्रेमराजले लगत्तै अर्को सम्भावना देखे– कुखुरापालन । सोही अनुसार २०६८ सालमै तेघरीमा एक बिघा जग्गा भाडामा लिएर व्यावसायिक कुखुरा पालन थाले । कृषि व्यवसायमा एउटा इँटा थपे । सँगै कुरिलो खेती पनि थाले । ५०० चल्लाबाट कुखुरा पालन सुरु गरेका उनले दुई वर्षमा व्यवसाय विस्तार गर्दै १० हजार कुखुरा पाल्न थालिसकेका थिए ।

निरन्तरको मिहिनेत र संघर्षले च्याउ खेती जस्तै कुखुरा पालन व्यवसायमा पनि राम्रो आम्दानी गर्न थालेका प्रेमराजले कृषि व्यवसायमा एकपछि अर्को सफलता प्राप्त गर्दैै गए । २०६९ सालमा तेघरीमै थप पाँच कट्ठा जग्गा भाडामा लिएर बंगुर पालन थाले । पोखरी भाडामा लिएर माछा पालन पनि सुरु गरे । उनी यतिमै रोकिएनन्, २०७३ सालमा स्थानीय दुई विद्यालयको ६ बिघा जग्गा भाडामा लिएर कुरिलो खेती विस्तार गरे ।

कृषिमा व्यवसायको दायरा बढाउँदै जान थालेपछि उनको आर्थिक हैसियत पनि सुधार हुँदै जान थाल्यो । बस भाडा नभएर डोटीबाट हिंडेर २०६४ सालमा कैलाली अत्तरिया झरेका प्रेमराजले नौ वर्षमा आफूलाई कृषि व्यवसायमा स्थापित गरेपछि उनको परिचय नै फेरियो ।

८ माघ २०५० मा नारायणदत्त र यशोदा देवी भट्टका कान्छो छोराका रूपमा जन्मिएका प्रेमराज अहिले वर्षमा कम्तीमा १० देखि १५ लाख आम्दानी गरिरहेका छन् । यहीबीच उनले अत्तरियामै डेढ कट्ठा जग्गा जोडेर घरबास समेत बनाइसकेका छन् ।

उनी व्यावसायिकतामा मात्रै सीमित छैनन् । सानै उमेरदेखि लगनशील र सामाजिक सेवाभाव भएका प्रेमराजले अरूलाई पनि कृषि व्यवसायमा लाग्न प्रेरित गर्दै आएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न आश्रममा रहेका असहाय तथा सडक मानवको सेवामा समेत उनी सक्रिय छन् ।

उनी आफ्नो व्यवसाय सुदूरपश्चिम प्रदेशभरि फैलाउन चाहन्थे । निरन्तर परिश्रम र लगनशीलताले सफलताको मुकाम पुर्‍याउँछ भन्ने मान्यता स्थापित गरेर प्रेरणा पात्र बनेका प्रेमराजले २०७४ सालमा अत्तरियामै कुखुराका चल्ला र दाना बिक्री पसल खोलेर चाहना पूरा गरे ।

उनले सञ्चालन गरेको पिके पोल्ट्री एन्ड फिड सप्लायर्स मार्फत अहिले सुदूरपश्चिमभरि कुखुराका चल्ला र दाना बेचिरहेका छन् । एक वर्षपछि चौमालामा समेत शाखा विस्तार गरेका उनले पूर्वी कैलाली र छिमेकी जिल्लामा समेत चल्ला र दाना आपूर्ति गरिरहेका छन् ।

कृषि व्यवसायमा प्रेमराजले १५ करोड बढी लगानी गरिसकेका छन् । विस्तारै च्याउ खेती, बंगुरपालन र माछापालन छाड्दै कुखुरा फार्म र दाना उत्पादनमा अघि बढेका उनले हाल ८० जनालाई प्रत्यक्ष र ३०० जतिलाई आंशिक रोजगारी दिएका छन् ।

‘मेरो सोच स्वदेशमै केही गर्नुपर्छ भन्ने थियो । कृषि जेटीए अध्ययन गरेपछि मैले यो क्षेत्रमा सम्भावना देखेर लागेको थिएँ । एकदिन अवश्य सफल हुन्छु भन्ने लागेको थियो’, प्रेमराज भन्छन् । गाउँमा सामान्य खेतीकिसानी गरिरहेका उनका बुबा भन्थे, ‘उत्तम खेती, मध्यम व्यापार, तुच्छ नोकरी !’

‘बुवाको त्यही भनाइले पनि मलाई कृषि व्यवसायमा लाग्न प्रेरित गरेको थियो । अनि, ३–४ कक्षामा नेपाल कृषि प्रधान देश हो भनेर पढिएको थियो । यो कुरा पनि मनमा गढेर बसेको थियो’ उनी भन्छन्, ‘त्यसैले पनि मैले कृषि पेशा रोजेको थिएँ ।’

उनको लोभलाग्दो सफलता देखेर गाउँ, समाज, साथीभाइ र आफन्तले उनीमाथि थप विश्वास गर्न थालिसकेका थिए । त्यही भएर उनीसँग व्यावसायिक साझेदारी गर्न अरू पनि तयार भए । फलतः २०७७ सालमा अन्य आठ साझेदारसँग मिलेर प्रेमराजले ४० करोड लगानीमा रोयल फिड इन्डस्ट्रिज नामक उद्योग स्थापना गरे । यो उद्योगमा उनको १० करोड लगानीे छ । यो उद्योगले कुखुरा, बंगुर, गाईभैंसीको दाना उत्पादन गर्दै आएको छ ।

उद्योगले सुदूरपश्चिममा मात्र नभएर अन्य प्रदेशमा पनि दाना आपूर्ति गर्दै आएको छ । वार्षिक १ अर्बभन्दा बढी कारोबार गर्ने यो उद्योगले राज्यलाई ५ करोडजति वार्षिक कर तिर्ने गर्छ । यो उद्योग बाहेक प्रेमराजले हाल व्यक्तिगत फार्ममा मात्र १५ करोड लगानी गरेका छन् । वार्षिक १ करोड आम्दानी गर्ने उनी ३५ देखि ४० लाख बचत हुने बताउँछन् ।

इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए स्वदेशमै ‘सुन फलाउन’ सकिन्छ भन्ने शिक्षा प्राप्त भएको प्रेमराज बताउँछन् । ‘त्यो बेला स्वदेशमा केही छैन भनेर मसँगै पढेका दौंतरी विदेश गए’ उनी थप्छन्, ‘तर, मैले कृषिलाई निरन्तरता दिइरहें । विदेश होइन स्वदेशमै सम्भावना छ भन्ने कुरा आज आएर पुष्टि भयो ।’

जनक विष्ट