+

शेर्पाका कथावाचक

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
हिमाली शेर्पाहरूबारे विश्वभरि किताब लेखिएका छन्, तर प्रदीप र अंकितले लेखेको शेर्पा पुस्तक अरूभन्दा विशेष बन्नुका पछाडि उनीहरूले छानेका पात्र र तिनका कथा नै मुख्य हुन् ।
प्रदीप बस्याल/अंकितबाबु अधिकारी

हिमाली शेर्पाहरूको बारेमा संसारभरि थुप्रैले पुस्तक लेखेका छन् । तर यतिबेला दुई नेपाली तन्नेरीले अंग्रेजीमा लेखेको एउटा पुस्तकले तहल्का पिटिरहेको छ । त्यो पुस्तकको नाम हो– शेर्पा । लेखक हुन्, प्रदीप बस्याल (३३) र अंकितबाबु अधिकारी (३४) ।

सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणमा आरोहीको सहयोगी काम गरेर जीविका चलाउने शेर्पा समुदायका व्यक्तिको जीवनकथा समेटिएको यो पुस्तकका कारण उनीहरू विश्वभर चिनिएका छन् । उनीहरूले पुस्तक लेख्दा जुन ठाउँ पुगे र जस्ता पात्रहरूको कथा छाने, त्यसैले उनीहरूलाई अरू लेखकभन्दा विशेष बनाइदियो ।

बेलायतको प्रख्यात प्रकाशन गृह ह्याचेटबाट प्रकाशित यो पुस्तक बेलायत, अष्ट्रेलिया, भारत, नेपाल सहितका देशमा धेरै बिक्री भएको छ । बेलायतमा मात्र ५० हजार प्रति बिक्री भएको जानकारी प्रकाशकले लेखकलाई गराएका छन् । अनलाइन पसल अमेजनको माउन्टेनियरिङ क्याटेगोरीमा यो पुस्तक धेरै पटक बेस्ट सेलर बनेको छ ।

पर्वतारोहण क्षेत्रको बुकर पुरस्कार भनिने ब्रोडमन टास्कर अवार्ड फर माउन्टेनियरिङ लिटरेचरमा यो पुस्तक शीर्ष ५ को सूचीमा पनि पर्‍यो । यो पुस्तक अंग्रेजीपछि इटालियन र चेक भाषामा प्रकाशन भइसकेको छ भने यसै वर्ष नेपालीमा पनि प्रकाशित हुँदैछ ।

रूपन्देही मणिग्रामका प्रदीप र काठमाडौं बुद्धनगरका अंकित आफूहरूलाई कथावाचक (स्टोरी टेलर) भन्न रुचाउँछन् । शेर्पाको कथा उनीहरूकै तर्फबाट लेख्ने प्रयास गरेको लेखकद्वयको भनाइ छ । ‘हामी प्रदीप वा अंकित पुस्तकमा कतै छैनौं, हामी विशुद्ध कसैको कथा भनिरहेका छौं, उनीहरू जस्तो जीवन बाँचेका छन्, त्यसको चित्र उतारेका छौं’, अंकित भन्छन् ।

मान्छेले आफ्नो कथा आफैंले मात्र सबैभन्दा राम्रोसँग भन्न सक्छ । त्यस हिसाबले हिमालसँग जोडिएको शेर्पाको कथा उनीहरूले जति राम्रोसँग अरूले भन्न सक्दैन । अंकित अगाडि भन्छन्, ‘शेर्पाको कथा शेर्पाले नै लेख्दा झन् राम्रो हुन्थ्यो, तर हामी शेर्पासँग विदेशी भन्दा त नजिक छौं नि, त्यस हिसाबले सकेसम्म इमानदार भएर लेखेका छौं ।’

कथावाचकले कथा भन्दा जुन इमानदारी देखाउनुपर्छ, त्यो आफूहरूले प्रयास गरेको प्रदीप बताउँछन् । ‘हामीले सुरुदेखि सल्लाह गरेको कुरा के हो भने राम्रो कथावाचक बन्नुपर्छ, पुस्तक पढ्दा निबन्ध पढे जस्तो भाव थोरै पनि आउनुहुन्न, म कथा पढिरहेको छु, शेर्पासँगै घुमिरहेको, हिमाल चढिरहेको अनुभव हुनुपर्छ भन्ने सोच राखेका थियौं, अहिले हामीलाई आएका प्रतिक्रिया र सञ्चारमाध्यमहरूमा प्रकाशित समीक्षा पढ्दा त्यसमा सफल भयौं भन्ने लाग्छ ।’

पुस्तकका अनुसार नेपालमा शेर्पा समुदायको जनसंख्या १ लाख ५० हजार हाराहारी छ । उनीहरूको मुख्य बसोबास सोलुखुम्बुको खुम्बु क्षेत्र हो, त्यसबाहेक दोलखाको रोल्वालिङ र संखुवासभाको मकालु क्षेत्रमा पनि उनीहरूको बाक्लो बसोबास छ । सोलुखुम्बुको खुम्बु क्षेत्र नेपालको धेरै हिमाल आरोहण गर्न जाने बाटो हो ।

शेर्पाहरू सानैदेखि हिमालसँगै खेलेर हुर्किए, त्यहीं खेती किसानी र घाँस–दाउरा गरे । चिसो हावापानी सहन सक्ने क्षमता उनीहरूमा विकास भयो । शेर्पा समुदायको बसोबास समुद्र सतहदेखि दुई हजार मिटरदेखि पाँच हजार मिटर बीचमा रहेको प्रदीप र अंकितले पुस्तकमा लेखेका छन् ।

बेलायती पत्रिका द स्पेक्टेटरले यो पुस्तकबारे लेखेको छ, ‘शेर्पाज् आर नाउ हिरोज एण्ड हेरोइन अफ देयर ओन स्टोरी ।’

राणाशासन रहँदासम्म नेपाल विदेशीका लागि खुला थिएन । त्यसैले हिमाल आरोहण गर्न कोही विदेशी आउन पाउँदैनथे । सगरमाथा आरोहण गर्नेहरू तिब्बततिरबाट आरोहण गर्थे । त्यतिबेलासम्म शेर्पा समुदायले हिमालबाट लाभ लिन सकेको थिएन, जीवनस्तर निकै कमजोर थियो । उनीहरू कामको खोजीमा दार्जीलिङतिर जाने गरेको पुस्तकमा उल्लेख छ । त्यहाँ कतिपयले हिमाल आरोहणमा सहयोगीको काम पनि पाउँथे ।

नेपालमा पहिलो सगरमाथा आरोहण सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले गरेका थिए । त्यसपछि विस्तारै नेपालतर्फबाट पनि आरोहण बढ्न थाल्यो । पछि चीनले तिब्बतमा प्रतिबन्ध लगाएपछि भने सगरमाथाको आरोहण नेपालतर्फबाट हुन थाल्यो, शेर्पाहरूले विस्तारै काम पाउन थाले । अहिले धेरै शेर्पाहरू हिमाल आरोहणमा सहयोग गरेर राम्रो आम्दानी गर्न सफल भएका छन्, कतिपयले होटल व्यवसाय गरेका छन् । धेरै शेर्पाहरू नेपालमा मात्र नभई विदेशका हिमाल आरोहणमा पनि सहयोगी भूमिका निर्वाह गर्छन् ।

तर शेर्पाहरूको कथा राम्ररी कहीं आइरहेको थिएन । अन्तर्राष्ट्रिय समुदायले उनीहरूलाई राम्ररी चिनेकै छैनन् ।

यो पुस्तकले शेर्पाहरूको कथा राम्रोसँग भनेको छ । यसमा करिब १०० हाराहारी शेर्पा पात्रहरू छन् । उनीहरू कसरी हुर्किए, कसरी हिमाल आरोहणमा लागे, त्यस क्रममा धेरै संकटहरू सामना गरे, परिवारका सदस्य गुमाए ती विषयहरू पुस्तकमा समेटिएका छन् ।

बेलायती पत्रिका द स्पेक्टेटरले यो पुस्तकबारे लेखेको छ, ‘शेर्पाज् आर नाउ हिरोज एण्ड हेरोइन अफ देयर ओन स्टोरी ।’

ख्यातिप्राप्त बेलायती आरोही सर क्रिस बोनिङ्टन, जसले सन् १९६० मा नै अन्नपूर्ण हिमाल चढेका थिए, उनले लेखकद्वयलाई बेलायतको एक भेटमा भनेका थिए, ‘तिमीहरूले शेर्पा र हिमाल आरोहणको क्षेत्रलाई ठूलो गुन लगाएका छौ ।’

पुस्तक लेख्दा उनीहरूले सबैभन्दा बढी अप्ठेरो महसुस गरेको विषय पनि कथा सही ढंगले भन्न सकिन्छ कि सकिंदैन भन्ने थियो । यो पुस्तक लेख्ने क्रममा उनीहरू सगरमाथाको आधारशिविर (उचाइ) र खुम्बु आइसफलको तल्लो क्षेत्रसम्म पुगे ।

तर यो पुस्तकमा आधारशिविर भन्दा माथिको क्षेत्र क्याम्प फोर, हिलारी स्टेप, साउथ कोल आदि क्षेत्रको बारेमा राम्रो बयान छ । सगरमाथा चढेर फर्केका धेरै जना शेर्पाहरूसँगको लामो लामो कुराकानी, विदेशी आरोहीहरूको पुस्तक पढेर त्यहाँ पाएका साना–साना संकेतहरूलाई जोड्दै जोड्दै उनीहरूले सगरमाथा चढ्ने बाटोको राम्रो बयान गरेका छन् । जसले पाठकलाई हिमालमै पुर्‍याउँछ ।

अंकित भन्छन्, ‘रुटको फिगर आउट गर्न धेरै च्यालेन्ज भयो, के पछि के आउँछ, बाटोमा कहाँ घुम्ती आउँछ, कहाँ बाधा–अवरोध बढी देखिन्छ, हामीले नितान्त रिसर्चमा आधारित भएर र त्यहाँ जाने शेर्पाहरूको कुराकानी सुनेर लेखेका हौं ।’

यसमा प्रदीप थप्छन्, ‘धेरैले डेथ जोन, साउथ कोल, एल्लो ल्याण्डको यति राम्रो विवरण दिएका छैं भन्छन्, किताब लेख्ने बेलामा हाम्रो संघर्ष नै त्यसमा भयो । हामीले हरेक पाठक हिमाल पुगेको महसुस गर्नुपर्छ, त्यहाँ पुग्न सकिरहेको छैन भन्ने महसुस गर्नुहुन्न, त्यसमा मिहिनेत गर्नुपर्छ भनेर लाग्यौं, त्यसका लागि एकै जनासँग १० घण्टासम्म कुराकानी गरेका छौं, एक जनाले भनेको कुरालाई अर्कोसँगको कुराकानीमा दाँजेका छौं ।’

प्रदीप र अंकितको सहकार्य सन् २००८ देखि नै हो । त्यसबेला अंकित काठमान्डू पोस्ट अंग्रेजी दैनिकमा काम गर्थे र प्रदीप कान्तिपुर दैनिकको साप्ताहिक परिशिष्टांक हेलो शुक्रबारमा लेख्थे । उनीहरूले पहिलो पटक सन् २००८ मा काठमाडौंको झोंछेबारे लामो समाचार सामग्री तयार पारेका थिए । सन् १९६० को दशकमा धेरै हिप्पीहरू काठमाडौं आउँथे, झोंछेका गल्लीहरूमा निर्वाध गाँजा खाइरहेका हुन्थे, जुन नयाँ पुस्ताका लागि कथा जस्तो भइसकेको छ । उनीहरूले त्यो बेलाको झोंछेबारे लेख्न त्यहाँको गल्लीगल्ली सँगसँगै हिंडे, धेरै मानिसहरूसँग कुरा गरे र ‘रिमेम्बरिङ फ्रिक स्ट्रिट’ भनेर लामो समाचार लेखे ।

त्यसपछि उनीहरूले उपल्लो मुस्ताङको लोमान्थाङबारे लेखे । यो क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्ने प्रयास भइरहेको त्यही बेला सर्वोच्च अदालतले मुस्ताङी राजाको जग्गा अंशबण्डा हुने फैसला गरेपछि अन्योलको अवस्था आएको थियो । यो पनि काठमान्डू पोस्टमा नै प्रकाशित भयो ।

त्यसपछि उनीहरूले तेस्रो संयुक्त काम राउटे बारेको समाचारमा गरे । सरकारले राउटेलाई मासिक भत्ता दिन थालेपछि उनीहरूको पुरानो जीवनशैली खल्बलिएको बारेमा एसियन जिओग्राफिकमा समाचार सामग्री प्रकाशन भएको थियो ।
प्रदीप भन्छन्, ‘ती स्टोरीले हामीलाई सँगसँगै काम गर्न सकिन्छ, हाम्रो सहकार्य जम्न सक्छ भन्ने कुरा नजानिंदो किसिमले विकास गरिरहेको थियो ।’

सन् २०१४ मा उनीहरू पहिलो पटक सगरमाथा क्षेत्रमा जान पाए । हिमाललाई नजिकबाट देखेको र हिमाली क्षेत्रमा काम गर्ने मजदुरहरू पनि उनीहरूले त्यही बेला देखे । एभरेष्ट म्याराथनको रिपोर्टिङका लागि जाँदा उनीहरूले सगरमाथा आरोहीका भरियाहरू त्यति चिसो ठाउँमा पनि चप्पल लगाएर काम गरिरहेको देखे ।

अंकित संगीत क्षेत्रमा पनि सक्रिय थिए, उनले काठमाडौंमा एउटा कन्सर्ट आयोजना गर्ने र त्यसबाट भएको आम्दानीले भरियाहरूलाई जुत्ता किनेर सहयोग गर्ने जुक्ति निकाले, यद्यपि त्यो काम उनीहरूले गरेनन् । त्यो यात्रामा उनीहरूले विभिन्न योजनाहरू बनाए, म्यागजिन निकाल्ने, लामा लामा र विषयका गहिराइमा पुगेका समाचार सामग्री प्रकाशन गर्ने सल्लाह पनि गरे ।

तर उनीहरूको यो योजना योजनामै सीमित भयो । पढाइका क्रममा अंकित दैनिक पत्रकारिताबाट टाढिंदै गए । उनले वासिङ्टन पोस्टमा बेला बेला लेख्थे । प्रदीप भने नियमित पत्रकारितामा थिए । उनले हिमालबारे लेखिरहेका थिए । वासिङ्टन पोस्टमा कुनै समाचार लेख्दा अंकितले कतिपय सूचनाका लागि प्रदीपसँग सहयोग माग्थे । उनीहरूको साथीको सम्बन्ध नियमित थियो, तर संयुक्त रूपमा काम भइरहेको थिएन ।

सन् २०१९ को अन्त्यतिर जब विश्वव्यापी कोरोनाभाइरसको महामारी सुरु भयो, कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गर्‍यो । त्यही बेलाको एक भेटमा उनीहरूले पुस्तक लेख्ने योजना बनाए । त्यसका लागि दुई पेजको अवधारणा बनाए र विदेशी प्रकाशकहरूलाई इमेल लेख्न थाले, विदेशमा रहेका साथीहरूलाई पनि इमेल पठाए र सहयोग मागे ।

उनीहरू शेर्पाबारे नै किताब लेख्ने र विदेशी प्रकाशन गृहबाटै प्रकाशन गर्नेमा दृढ थिए । प्रदीप भन्छन्, ‘हामी धेरै किताब लेखिरहने मान्छे होइन, मज्जाले लेख्ने हो, त्यो चाहिं बिग हुनुपर्छ भन्ने थियो ।

उनीहरूले २०/२२ जना शेर्पाहरूको सूची बनाएका थिए, उनीहरूकै दुःख–सुख, हिमाल चढ्दाको अनुभवबारे लेख्ने उनीहरूको योजना थियो, यही कुरा अवधारणा पत्रमा लेखेर इमेल पठाइरहेका थिए ।

अंकित भन्छन्, ‘नेपालबाट अन्तर्राष्ट्रियस्तरको केही काम गर्ने हो भने के कुराले महत्व राख्छ त, जुन हाम्रो पनि रुचिको विषय हुनुपर्‍यो, रिडर्स कम्युनिटीले पनि एसेप्ट गर्नुपर्‍यो भनेर छलफल गर्‍यौं । हामी दुवै जनालाई सजिलो लागेको र दुवै जनाको दिमागमा आएको विषय शेर्पा नै भयो ।’

विश्वभर हिमाल आरोहणबारे धेरै पुस्तक लेखिएका छन् । विदेशी आरोहीहरूले हिमाल आरोहणपछि आत्मकथा लेखेका छन् । कतिपयले हिमाल, हिमाली क्षेत्रको चिनारी गराउने गरी पुस्तकहरू लेखेका छन् । तर शेर्पाको कथा आइरहेको थिएन । आरोहीहरूले आफ्नो गाथा लेख्दा शेर्पाहरूको प्रसंग मात्र फाट्टफुट्ट लेख्थे ।

प्रदीप भन्छन्, ‘उनीहरू जहिले पनि पश्चिमा आरोहीको छायाँमा, सहयोगी र सहायकको रूपमा मात्र व्याख्या गरिए, म हिमाल चढ्दा मसँग ५ जना शेर्पा थिए, १० जना शेर्पा थिए, शेर्पाहरूले बाटोमा सहयोग गरे भनेर लेखिएका हुन्थे, यसरी नाम समेत नभनी शेर्पाहरूलाई अंकमा मात्र लेख्थे, हिरो म नै हो, शेर्पाहरू सहायक हुन् भने जसरी किताबहरू लेखिन्थे ।’

शेर्पा पनि मान्छे हो, ऊ भित्र पनि भावना हुन्छ, उनीहरूको पनि सुख–दुःख हुन्छ, उनीहरू कसरी यति बलिया भए, हिमाल आरोहणमा किन उनीहरू अपरिहार्य भए भन्नेबारे कथा आएको थिएन । ‘उनीहरूले कति कुरा सकेर गरिरहेका थिए होलान्, जेनेटिक बेनिफिट थियो होला, भौगोलिक सहजता थियो होला, उसको आफ्नै जीवन कहानी छ, प्रेम कहानी छ, कतिपयले हिमालमा परिवारका सदस्य गुमाएका छन्, उनीहरूको दुःख–सुखको कथा आएकै थिएन’, प्रदीप भन्छन् ।

सामग्री छुट्टाछुट्टै संकलन गरे पनि लेख्ने क्रममा भने उनीहरू सँगै बसे र सँगै लेखे । ‘पुस्तकका प्रत्येक शब्दमा हामी दुवैको बराबरी स्वामित्व छ’, उनीहरू एकै स्वरमा भन्छन् ।

यसलाई भाग्य नै ठान्छन् कि उनीहरूको पुस्तक विश्वकै ठूलोमध्येको एक प्रकाशन गृह ह्याचेटबाट प्रकाशन भयो । इमेलबाट धेरैतिर पुस्तकको अवधारणा पत्र पठाउने क्रममा उनीहरूको संयोगवश पुस्तक प्रकाशकका एजेन्ट बेलायती नागरिक बेन क्लर्कसँग सम्पर्क भयो । द सोहो एजेन्सीका सञ्चालक क्लर्कले उनीहरूको अवधारणा पत्र मन पराए र विस्तृत परियोजना र पुस्तकको पहिलो च्याप्टर मागे । उनीहरूले करिब एक वर्ष समय लगाएर पुस्तकबारे आफूहरूको अवधारणाको विस्तृत विवरण र पहिलो पाठ पठाए ।

एजेन्टले उनीहरूलाई यो पुस्तकले प्रकाशक पाउँछ भनेर विश्वास दिलायो र काम अघि बढाउन आग्रह गर्‍यो । प्रदीप र अंकित अझै ढुक्क हुनसकेका थिएनन्, एक महिनापछि क्लार्कले ५/६ वटा प्रकाशन गृहले चासो देखाएको जानकारी गराए । तीमध्ये बेलायती प्रकाशनगृह ह्याचेटले धेरै पैसा दिने भएपछि उनीहरूले उसैसँग सम्झौता गरे । ह्याचेटले प्रकाशनपूर्व नै ४५ प्रतिशत रकम पठाइदियो र नौ महिनाको समयसीमा दियो ।

त्यसपछि उनीहरू पुस्तक लेख्न थाले । त्यसका लागि तीन हप्ता खुम्बुमा बसे । कोरोना महामारीका कारण हिमाल आरोहण नभएकाले शेर्पाहरू फुर्सदमा थिए, उनीहरूले प्रशस्त समय पाए, शेर्पाहरूसँग खुलेर कुरा गरे, उनीहरूको घर–गाउँ सबै घुमे । शेर्पाहरूको बसोबास क्षेत्रलाई उनीहरूले चार खण्डमा विभाजन गरे । खुम्बुमा दुवै जना सँगै गए । दोलखाको रोल्वालिङमा प्रदीप मात्र गए, संखुवासभाको मकालुमा अंकित गए । दार्जीलिङमा दुवै जना गए । पुस्तक लेखनको सामग्री जुटाउन अंकित ४ पटक र प्रदीप ७ पटक शेर्पाको बसोबास क्षेत्रमा गए ।

यसरी सामग्री खोजी गरेपछि उनीहरू पाटनको एक होटलमा सँगै बसेर किताब लेखे । ‘घरमा हाम्रो पुस्तक लेख्ने माहोल नै थिएन, त्यसैले होटलमा बसेर लेखेका थियौं’, प्रदीप भन्छन् ।

सामग्री छुट्टाछुट्टै संकलन गरे पनि लेख्ने क्रममा भने उनीहरू सँगै बसे र सँगै लेखे । ‘पुस्तकका प्रत्येक शब्दमा हामी दुवैको बराबरी स्वामित्व छ’, उनीहरू एकै स्वरमा भन्छन् ।

नेपालमा यस्ता धेरै कथा छन्, जुन लेखिएको छैन । यस्ता कथाहरू पश्चिमा पाठकका लागि धेरै रुचिको विषय हुन सक्छ । प्रदीप र अंकित यस्ता धेरै पुस्तक नेपालीले लेखेर अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउन सक्ने बताउँछन् ।

विनोद ढकाल