+

कविता कन्सर्टका स्पटलाइट

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
किशोरदेखि बुढापाकासम्म, देशदेखि परदेशसम्म जोड्ने आजका काव्यिक रसायन हुन् कवि नवराज पराजुली । उनको कविता सुन्नकै लागि अधीर साथ पर्खनेहरूको जमात जताततै छ ।
नवराज पराजुली

‘बाबु, तपाईं कवितामा आउनुभएन भने तपाईंलाई कविताको पाप लाग्छ’ थर्रथराउँदै गरेको हातले उनको हात समातेर राष्ट्रकवि माधवप्रसाद घिमिरेले यत्ति भनेका थिए ।

त्यसअघि उनी के थिए ? त्यसपछि उनी के भए ? कविवरको त्यही आशीर्वचनलाई भूमध्यरेखा मानेर नवराज पराजुली (३७) लाई दुई कित्तामा राखौं ।

त्यसअघि उनी कवि थिएनन् । मामुली मान्छे थिए । लोकसेवा आयोगको तयारी गर्दै थिए । परराष्ट्रमा अधिकृतको नाम निकालेर ऐसको जिन्दगी बिताउने सोच्दै थिए । साथीभाइले भनेका थिए, ‘परराष्ट्र मन्त्रालयमा अधिकृत भइयो भने जीवनभरमा ६ वटा देश डुल्न पाइन्छ ।’ आफूले ताकेको जागिरमा यो खास चुम्बकीय प्याकेज थियो ।

उनी कम्तीमा अधिकृत हुन र ६ वटा देशको सयर गर्न चाहन्थे । त्यसैले त कीर्तिपुरको कुनै डेरामा बसेर मोटा–मोटा किताब घोकिरहेका हुन्थे । कर्णालीको लम्बाइ कति छ ? कोतपर्व कहिले भयो ? इत्यादि ।

विस्मात्को कुरा के थियो भने, उनी कर्णालीको बखान गर्न सक्थे तर लम्बाइ याद गर्न सक्दैनथे । कोतपर्वको निबन्ध लेख्न सक्थे तर तिथिमिति स्मरण गर्न सक्दैनथे । किनभने संख्या वा अंकहरू उनको दिमागमा त्यति सजिलै घुस्दैनथ्यो ।

तैपनि ६ वटा मुलुक डुल्नु नै थियो, लोकसेवा पास गर्नु नै थियो । घुम्ने मेचमाथि बसेर सरकारी सेवा गर्नु नै थियो । यसका लागि थानका थान लोकसेवाका ठेलीहरू नपल्टाई धरै थिएन । बेपर्वाह देश–परदेश चहार्ने चाहले अधीर बनाएको थियो । तर आफू हुर्केको परिधिभन्दा धेरै टाढासम्म पुगेकै थिएनन् । टाढा पुगेका भनेको सिलगढीे, जहाँ उनी चिनी किन्न गएका थिए ।

एकदिन प्राध्यापक डा. सनतकुमार वस्तीले मनकै कुरा भने, ‘हिंड, राष्ट्रकविकहाँ ।’

नेपाली साहित्य पढाउने वस्तीले आफ्ना विद्यार्थीलाई राष्ट्रकविसँग भेटाउने मेसो मिलाएका रहेछन् । त्यसैमा सम्मिलित भए, नवराज पनि । उनीहरूको समूह लैनचौरस्थित कविवरको घर पुग्यो । अचानक प्राध्यापक वस्तीले नवराजलाई सोधे, ‘के राष्ट्रकविलाई कविता सुनाउने हो ?’

नवराज यही मौकाको पर्खाइमा थिए । उनीसँग केही थान कविता थिए, जो उनले मूलधारका अखबारहरूमा प्रकाशनार्थ पठाएका थिए । तर सबैबाट अस्वीकृत भयो । न कविता छापिन्छन्, न कतै सुनाउने ठाउँ पाइन्छन् ।

ती कविता साथीभाइलाई सुनाउँदा प्रतिक्रिया आएको थियो, ‘गज्जब छ ।’ तर साथीभाइ भनेका साथीभाइ न हुन्, जो सत्यभन्दा बढी मीठो कुरा बोलिदिन्छन् । उनलाई आफ्नै कविताप्रति संशय जागेको थियो । के मैले लेखेका यी हरफहरू कविता हुन् ? कविता भए वा भएनन् ?

यो संशय त्यसबेला अरू उत्कर्षमा थियो, जतिबेला उनी कविवर माधवप्रसाद घिमिरेको सम्मुखमा थिए । नवराजले आफ्नो कविता धीत मरुञ्जेल सुनाइदिए । साना बालकले झैं निकै उत्सुक भएर कविता सुनिसकेपछि कविवर घिमिरेले उही कम्पनयुक्त स्वरमा भने, ‘कविता भएर आयो । तपाईं कवितामा आउनुभएन भने, कविताको पाप लाग्छ ।’

राष्ट्रकविको आशीर्वचनले नवराजको आत्मविश्वासमा लाहाछाप लाग्यो । यी कविता सहीसलामत छन् । त्यसपछि उनी सरासर डेरा फर्के । आफैंमा गद्गद् हुँदै प्रण गरे, ‘म कविता लेख्नेछु ।’

लोकसेवाका किताबहरू एकातिर थन्क्याए । साथीभाइसँग ग्रुप स्टडी चल्दैथियो, उनी त्यहाँ पुगे । साथीहरूले सोधे, ‘खै त किताब ?’ नवराजले निर्धक्क भने, ‘अब म अधिकृत नहुने ।’ साथीहरूले जिल्याए, ‘अनि लन्डन, सिड्नी चाहिं के नि ?’
त्यसअघिसम्म नवराजको प्राथमिक सूचीमा थिए, यी दुई शहर । ६ मुलुक भ्रमण गर्न पाइएमा सबैभन्दा पहिले लन्डन जाने, त्यसपछि सिड्नी ।

‘लन्डन, सिड्नी त जाने नै हो । तर कविता सुनाउन जाने ।’ यो जवाफ नवराजको मुखबाट कसरी फुत्कियो, उनी स्वयम्ले भेउ पाएनन् । त्यसबेलासम्म उनले जम्माजम्मी तीन वटा कविता लेखेका थिए । कविता लेखेरै सपनाको शहर पुग्छु भनेर हाँक दिन उसलाई के कुराले उकास्यो ? थाहा छैन ।

कविता सुनाएर लन्डन, सिड्नी जाने कुरा हास्यास्पद थियो । साथीहरू गलल्ल हाँसे । नवराजको मन कुँडियो । उनले आँखाभरि आँशु बनाएर भने, ‘केटा हो, तिमीहरू लोकसेवा आयोगको तयारी गर । अधिकृतमा नाम पनि निस्कियोस् । तर, सकेसम्म नाम चाहिं चाँडै निकाल्नु । यदि ढिलो गरेमा लोकसेवाको प्रश्नोत्तरमा मेरो नाम पनि हुनेछ ।’

त्यो झोंक थियो । झोंक्किएरै उनले गफ दिएका थिए । तर, समयक्रमले त्यसलाई सत्य बनाइदियो । आज लोकसेवा आयोगको पुस्तकमा दुईवटा प्रश्न समावेश छन्, ‘सगरमाथाका गहिराइका लेखक को हुन् ? २०७३ सालको पद्मश्री साहित्य पुरस्कार कसले पाए ?’

यी दुवैको सही उत्तर हो, नवराज पराजुली ।

०००

धेरै बखान गर्नुपर्दैन नवराज पराजुली को हुन् ?

किशोरदेखि बुढापाकासम्म जोड्ने, देशदेखि परदेशसम्म जोड्ने काव्यिक रसायन हुन् उनी । उनको कविता सुन्नकै लागि अधीरसाथ पर्खनेहरूको जमात जताततै छ ।

उनको कविताले हृदयलाई शान्त त बनाउँछ, तर स्थिर हुन दिंदैन । कवितालाई संगीतसँग, संगीतलाई ध्यानसँग, ध्यानलाई विद्रोहसँग जोड्न सक्ने कवि हुन् उनी ।

कविताको परख गर्नेहरू त छँदैछन्, कविता सुन्दै नसुनेकाहरू पनि उनलाई सुन्न लालायित छन् । यसो हुनुमा उनीद्वारा लिखित कविताको आफ्नै गुरुत्वबल छ र त्यसलाई अरू सम्मोहित बनाएको छ उनको वाचन शिल्पले ।

नवराज पराजुली खासगरी ‘पर्फमेन्स पोयट्री’ का लागि कहलिएका छन् । उनी मञ्चमा उभिएर वाद्यवादनको धुनसँगै आफ्नो कविता वाचन गर्छन् । कविता र त्यसले पैदा गर्ने तरंगलाई आफ्नो भावभंगीमा प्रस्तुत गर्छन् । त्यसैले नवराजको कविता पढ्न भन्दा बढी सुन्न र सुन्न भन्दा बढी हेर्न रुचाइन्छ ।

त्यसो नहुँदो हो त सिक्किमदेखि स्विट्जरल्यान्डसम्म, दुबईदेखि डेनमार्कसम्म, अमेरिकादेखि अष्ट्रेलियासम्ममा उनलाई बोलाइने थिएन । जबकि उनलाई कविताले नै विश्व परिक्रमा गराइरहेको छ । केही थान कविता बोकेर विश्व घुमिहिंड्ने विरलै कविमध्ये एक हुन् उनी ।

जर्मनी, इङ्गल्यान्ड, स्कटल्यान्ड, फिनल्यान्ड, नर्वे, माल्टा, चेक रिपब्लिक, पोर्चुगल जस्ता विश्वका २० बढी मुलुक पुगेका छन् र प्रवासीमाझ नेपाली स्वादका कविता सुनाइसकेका छन् । नवराज पराजुलीको कविता कन्सर्ट त्यसरी नै हुन्छ, जसरी कुनै भव्य सांगीतिक कार्यक्रम हुन्छ ।

सःशुल्क कविता कन्सर्टमा दर्शक/श्रोताले केही शर्त भने पालना गर्नुपर्छ । जस्तो कि, त्यहाँ खासखुस गर्न पाइँदैन, नाच्न–उफ्रन पाइँदैन, आफूखुसी भिडियो खिच्न पाइँदैन । ‘किनभने कविता मनोरञ्जन मात्र होइन, आनन्दानुभूति पनि हो ।’ नवराजलाई त्यस्तै लाग्छ । उनलाई के पनि लाग्छ भने, कविता आफैंमा सौम्य विद्रोह हो । त्यसले मान्छेको मन हल्लाउनुपर्छ ।

चाहे त्यो ‘लोक सेवा आयोग’ होस् वा ‘बुद्धको टाउकोको मोल ।’ चाहे त्यो ‘वामपन्थी लभ’ होस् वा ‘स्कुल ।’ चाहे त्यो ‘हेभी बर्थडे’ होस् वा ‘एक्लै’ । उनको कविताले हृदयलाई शान्त त बनाउँछ, तर स्थिर हुन दिंदैन । कवितालाई संगीतसँग, संगीतलाई ध्यानसँग, ध्यानलाई विद्रोहसँग जोड्न सक्ने कवि हुन् उनी ।

उनको पृष्ठभूमि खोतल्न धेरै टाढा पुग्नुपर्दैन । थातथलो, झापा मंगलबारे । जन्ममिति, २०४३ साल । ‘अल नेपाल स्ल्याम पोयट्री २०१४’ का शीर्ष विजेता । उनको एउटा कविता संग्रह प्रकाशित छ, सगरमाथाको गहिराइ । अंग्रेजी साहित्यमा स्नातकोत्तर उनी अहिले पूर्णकालीन कवि हुन् ।

***

अहिलेका प्रविधि र पुस्तालाई जोड्ने गरी कविता वाचनको पृथक् शैली कसरी अपनाए ? कसरी कविता कन्सर्टका सिलसिला सुरु गरे ? नवराज पराजुलीको जीवनमा केही त्यस्ता घुम्ती छन्, जसले उनलाई आज कवि बनायो ।

घुम्ती एक

गुरुकुलमा मनु मन्जिलको कविता वाचन हुँदैथियो । सोही कविता सुन्न हाजिर थिए नवराज । त्यसबखत उनी कहिले कविता सुन्न त कहिले नाटक हेर्न पुगिरहेका हुन्थे ।

नवराज पराजुलीका कविता सुन्ने एउटा छुट्टै जमात छ र त्यसको घनत्व ठूलो छ । यसअघि कविता भन्ने र सुन्नेहरूको यस्तो माहोल तयार भएकै थिएन । कवितालाई मञ्चमा ग्ल्यामराइज्ड गर्ने कुरामा होस् वा डिजिटलाइज्ड, उनी एक कदम अगाडि छन् ।

मनु मन्जिलले जसरी कविता वाचन गरे, त्यसले उनको हृदयमा झंकार पैदा ग¥यो । त्यो शैली, त्यो प्रस्तुति विछट्टै सुन्दर थियो । नवराजको अन्तरमनले भन्यो, ‘हो, मलाई पनि यस्तै केही गर्नुछ ।’

घुम्ती दुई

उनको मामाका छोरा वैदेशिक रोजगारका क्रममा मलेसिया गएका थिए, जसको अचानक मृत्यु भयो । पशुपति आर्यघाटमा बाकसबाट लास झिक्नासाथ निर्जीव छोराको खुट्टा ढोक्दै मामा थर्रर काँपे र के–के बर्बराए । सायद आफ्ना छोरालाई सुनाउनुपर्ने कति कुराले उनी भक्कानिए ।

त्यसैगरी कफिनमा लमतन्न परेका छोरासँग पनि त बुवालाई सुनाउनुपर्ने कति कुरा थियो होला, जो सधैंका लागि थाती रह्यो । नवराजले त्यो उकुसमुकुस आफूभित्र महसुस गरे र आफू हठात् लासमा रूपान्तरण भएको अनुभूत गरे ।
साँझ डेरा फर्केपछि मनमा परेको त्यही गाँठो फुकाउन कविता लेखे । त्यो कविता थियो, सगरमाथाको गहिराइ ।

‘..कसैले बाहिर निकाल मलाई
म मर्नुअघि
मेरा बुढा भएका बुवाका हातका नङ
नदुखाइकन काट्न चाहन्छु ।
म मर्नुअघि
मेरी आमाले पकाएको माली गाईको बिगौती
चाख्न चाहन्छु ।’

घुम्ती तीन

‘अल नेपाली पोयट्री स्ल्याम’ एक यस्तो प्लाटफर्म थियो, जसले उनको आयामिक चिनारी बनाइदियो । सन् २०१४ मा आयोजित यस प्रतियोगितामा उनले दुई कविता सुनाए, सतीदेवीको गाण्डीव र सगरमाथाको गहिराइ । अनि शीर्ष विजेता बने ।

सामाजिक सञ्जालले यसलाई थप व्यापक बनाइदियो । त्यसबेला झापाको काँकरभिट्टामा ‘कला साहित्य उत्सव’ आयोजना हुँदैथियो । लेखक एवं विश्लेषक उज्ज्वल प्रसाईंले उनलाई निम्तो गरे । आफ्ना बुवा सहित दिग्गज कवि–लेखकहरूलाई साक्षी राखेर उनले उही सम्मोहित भावमा कविता सुनाए ।

त्यसपछि उनको पहिलो कविता संग्रह छापियो, सगरमाथाको गहिराइ । यसले उनलाई कविको रूपमा लाहाछाप लगाइदियो ।

कविता वाचनका ‘ट्रेन्डसेटर’

उनका कविता सुन्न लम्बेतान पंक्तिमा उभिनुपर्छ, टिकट काट्नुपर्छ, पूर्वशर्तहरू पालना गर्नुपर्छ । कविता सुनाउनकै लागि उनलाई देश–परदेशका शहरहरूले आमन्त्रण गर्छन्, ठूला–ठूला पोस्टर टाँस्छन्, सानोतिनो हल्लीखल्ली मच्चाउँछन् । उनले कविता सुनाउने मञ्च विशेष साजसज्जाको हुन्छ, त्यहाँ केही न केही नयाँ प्रयोग गरिन्छ ।

जब हल दर्शकले हराभरा हुन्छ, तब उनी स्पटलाइटमा देखिन्छन् । पृष्ठभूमिमा मधुर धुन बज्न थाल्छ । त्यससँगै उनी कविता वाचन गर्न थाल्छन् । कविताका हरफहरूले जसरी दर्शकको हृदयमा उथलपुथल ल्याउँछ, त्यसरी नै उनको भावभंगिमा र पाश्र्व धुनले थप तरंगित बनाइरहन्छ ।

त्यसैले त नवराज पराजुलीका कविता सुन्ने एउटा छुट्टै जमात छ र त्यसको घनत्व ठूलो छ । यसअघि कविता भन्ने र सुन्नेहरूको यस्तो माहोल तयार भएकै थिएन ।

कवितालाई मञ्चमा ग्ल्यामराइज्ड गर्ने कुरामा होस् वा डिजिटलाइज्ड, उनी एक कदम अगाडि छन् । नतिजा, कविताबाट बाह्र हात टाढा दर्शक–श्रोतालाई पनि उनले एकत्रित गरेका छन् । यसमा उनको कविताले उधिन्ने बेजोड विषय र कविता वाचन गर्ने मोहक कौशल खास मानिन्छन् । उनको कविता प्रस्तुति कलात्मक हुन्छ र त्यसमा कुनै न कुनै प्रयोग पनि ।

जस्तो नर्वेमा कविता कन्सर्ट हुँदैथियो । त्यहाँ कविता सुनाइरहँदा त्यसको भाव अनुसार सुगन्ध महसुस गर्न सक्थे, दर्शकले । जस्तो वीर रसको हरफ सुनिरहँदा सोही भाव पैदा गर्ने सुगन्ध आउँथ्यो, करुण रसको हरफ सुनिरहँदा सोही भाव पैदा गर्ने सुगन्ध आउँथ्यो । किनभने हरेक दर्शकको कुर्सीमुनि कविताको भाव अनुरुप सुगन्ध पैदा गर्ने उपकरण जडान गरिएको थियो र यसको बन्दोबस्ती मिलाएका थिए स्मेल विशेषज्ञ रामहरि ढकालले । यसरी नवराज पराजुलीको हरेक प्रस्तुति विशेष र फरक हुने गर्छ ।

त्यसो त जतिबेला उनी कविता लेख्दैनथे, कविता सुन्न भने खुब रौसिन्थे । आफू श्रोता बनेर कविता सुनिरहँदा केही फरक भइदेयोस् भन्ने अपेक्षा राख्थे । यस्तै अपेक्षा राखेर पुगेका थिए, बीबीसीले आयोजना गरेको कविता कन्सर्ट सुन्न ।
तर उनले खोजे जस्तो वा सोचे जस्तो भइदिएन । त्यहाँ कविहरू आएर एकाध थान कविता वाचन गरे, पूर्ववत् शैलीमा । अनि भूपी शेरचनको कवितालाई गीत बनाएर वाद्ययन्त्र सहित गाइयो ।

त्यसक्षण उनलाई के लागेको थियो भने, वाद्यवादनसँगै कविता वाचन गर्न पाए, कविता वाचन गरिरहँदा हाउभाउद्वारा त्यसलाई प्रस्तुत गर्न पाए !

आफूभित्रको त्यही रिक्तता बोकेर उनी पहिलो पटक मञ्चमा उभिए, होटल ह्वाइट र्‍याबिटको मञ्चमा । यसमा उनलाई साथ दिए बाँसुरीवादक सम्यक महर्जनले । त्रिभुवन विश्वविद्यालयको जंगलमा एक हप्ता बसेर उनीहरूले बाँसुरीको धुनसँग कविता कसरी प्रस्तुत गर्ने भनी अभ्यास गरेका थिए । जसै उनले बाँसुरीको पाश्र्वधुनमा आफ्नो कविताहरू सुनाउन थाले, दर्शकमा अनेक किसिमको भावहरू पैदा भएको देखे । त्यही भाव, जसले उनलाई अझ कविता लेखिरहन, भनिरहन ढाडस दिइरह्यो ।

अनौठो संयोग त के भने, जतिबेला उनी कवि भएकै थिएनन् र लोकसेवा आयोगको तयारी गरिरहेका थिए त्यसबेला परराष्ट्र मन्त्रालयको अधिकृत भएर विदेश घुम्न पाए पहिले सिड्नी, त्यसपछि लन्डन जाने कल्पना गरेका थिए ।

तर, अधिकृत बन्ने बाटो त्यागेर जब उनी कविताबाट परिचित हुँदै गए ‘कविता कन्सर्ट’का लागि पहिलो निम्तो आयो, सिड्नीबाट । अष्ट्रेलियामा बसोबास गरिरहेका नोर्गेन नोर्बुले यसको चाँजोपाँजो मिलाएका थिए । त्यसको अर्को वर्ष रामशरण सिम्खडाले लन्डनबाट फोन गर्दै भने, ‘सर्लाहीमा युद्धबाट पीडित छात्राका लागि छात्रावास बनाउन सहयोग जुटाउने उद्देश्यले कविता कन्सर्ट गरौं न ।’ नवराज लन्डन गए, कविता सुनाए । त्यसबापत २५ लाख रुपैयाँ संकलन भयो ।

पैसा आफ्नो ठाउँमा छ, प्रसिद्धि आफ्नो ठाउँमा । त्योभन्दा महत्वपूर्ण त उनको त्यो भोक हो, जहाँ दर्शकका भावसँग साक्षात्कार गर्दै कविता सुनाउन पाइन्छ । त्यही नै उनको आनन्द र ऊर्जाको अविरल स्रोत हो ।

शिव मुखिया