+

गुरु भ्लगर

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
उनी कवि होइनन्, लेखक होइनन्, उद्योगपति होइनन्, गायक वा नायक केही पनि होइनन् । तर, सिसन बानियाँले त्यही समानान्तर नाम कमाएका छन् । आज युवा पुस्तालाई सोधिरहनुपर्दैन उनी को हुन् ?
सिसन बानियाँ

सन्, २०१५ । सिसन बानियाँलाई नयाँ जुक्ति फुर्‍यो, भिडियोमा केही गर्ने । उनले एउटा युट्युब च्यानल खोले । नाम राखे, सिसन बानियाँ । त्यसअघि उनी वेडिङ फोटोग्राफी गर्थे । बेलामौकामा कमर्सियल भिडियो सुट गर्थे । राम्रै आर्जन हुन्थ्यो । तर नहुने कुरा एउटै थियो, पहिचान ।

संभवतः उनलाई आफ्नो पहिचान बोध भयो । त्यसैले नयाँ युट्युब खोले र भ्लगिङको दुनियाँमा पाइला राखे । सामाजिक सञ्जालको व्यापकता बढ्दै गएको त्यो क्षणमा भ्लगिङको अभ्यास भने उति धेरै भएको थिएन । त्यसैले उनका भ्लग हेर्नेहरूलाई चाखलाग्दो लाग्यो ।

युट्युबमा उनले त्यही सामग्री राखे, जो उनी दैनिक जीवनमा गरिरहेका हुन्छन् । उनी कहाँ जान्छन्, के गर्छन्, कसलाई भेट्छन्, के खान्छन्, के कस्ता गफ गर्छन् इत्यादि । स्वच्छन्द घुमिहिंड्ने सिसनको भिडियो हेर्नलाई रमाइलो थियो ।

भ्लगिङलाई उनले निरन्तरता मात्रै दिएनन्, प्राविधिक हिसाबले त्यसलाई अरू उन्नत पनि बनाउँदै लगे । उनीसँग स्रोत–साधन छँदैथियो, प्राविधिक ज्ञान छँदैथियो । त्यसमा उनले मिसाइदिए रचनात्मक क्षमता पनि । अन्ततः उनका भ्लग हेर्नेहरूलाई लाग्यो, ‘बबाल गर्‍यो यार !’

संगीत, सिनेम्याटिक अप्रोच, क्यामेरा वक्र्स, सम्पादनको उपयुक्त संयोजनले उनको भ्लगलाई कलात्मक बनाइदियो । यसले सिसनलाई नेम र फेम मिल्यो ।

उनी कवि होइनन्, लेखक होइनन्, उद्योगपति होइनन्, गायक वा नायक केही पनि होइनन् । तर, सिसन बानियाँ (३३) ले त्यही समानान्तर नाम कमाएका छन् । आज युवा पुस्तालाई सोधिरहनुपर्दैन, सिसन बानियाँ को हो ? उनीहरूले सिसनको जन्मकुण्डली भनिदिन सक्छन् । र भनिदिन सक्छन् सिसनको खुबी र पृथकता पनि ।

सन् २०२१ मा सिसनले प्याराडाइम पोडकास्टको सुरुवात गरे । सो पोडकास्टमा सिसनले विशेषगरी मनोरञ्जन, सामाजिक र राजनैतिक क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गर्छन् । पोडकास्टले पनि उनको लोकप्रियतालाई थप बढावा दियो ।

जबकि सुरुवाती क्षणमा उनले आफ्नै रमाइलोका लागि भिडियो बनाएका रहेछन् । अनलाइनखबरसँगको एउटा अन्तर्वार्तामा सिसनले भनेका छन्, ‘पहिले मैले छोटो भिडियोहरू बनाउँथें, जसमा मेरो कुकुरका, कलेजका साथीहरू र अन्य विभिन्न सामान्य कुराहरू खिच्थें । अनि आफ्नो साथीहरूलाई देखाउँथें । त्यो सबै मैले रमाइलोको लागि गर्थें ।’

यो क्रमले निरन्तरता पाउँदै जाँदा अहिले सिसनको युट्युबमा ५०० बढी भिडियो अपलोड भइसकेका छन् र ती भिडियोको आकर्षणले ७ लाख ५० हजार बढी सब्सक्राइबर जोडिसकेका छन् । अवस्था कस्तो छ भने, सिसनको भिडियो कहिले र कसरी आउँछ भनेर पर्खने जमात बढ्दो छ ।

त्यसैले उनी बेफिक्री डुलिरहन्छन् र भिडियो बनाएर अपलोड गरिरहन्छन् । सुशान्त प्रधानले आफूलाई भ्लगिङका लागि ढाडस दिएको सिसन बताउने गर्छन् । सुशान्त आफैंमा फिटनेस भ्लगर हुन् । त्यसो त अहिले सिसनको भ्लगिङ शैलीलाई पछ्याउने जमात बढ्दो छ ।

सुरु–सुरुमा सिसनले आफ्नै घरभित्रका गतिविधिलाई दृश्यांकन गरे, त्यसपछि उनी घरबाहिर निस्केर टोलसम्म पुगे । अहिले उनी देशको कुनाकन्दरा मात्र पुग्दैनन्, परदेशसम्म पुगेर भ्लग बनाउँछन् । हाल उनी भ्लगिङकै सिलसिलामा युरोप टुरमा छन् ।

अहिलेको अवस्थामा सिसन भ्लगिङमा मात्र सीमित छैनन् । उनको इन्स्टाग्रामको बायो हेर्ने हो भने त्यसमा २०२४ चेन्जिङ नेपाली स्पोर्टस् सिन लेखेको देख्न सकिन्छ । पछिल्लो समय आफू देशको खेलकुद क्षेत्रलाई सुधार गर्ने काममा लागिरहेको उनले विभिन्न अन्तर्वार्तामा भन्ने गरेका छन् ।

यसको निम्ति उनले प्याराडाइम स्पोर्टस् नेटवर्कको स्थापना गरेका छन् जस मार्फत विभिन्न खेल र खेलाडीहरूको लागि काम भइरहेको छ । प्याराडाइम स्पोर्टस् नेटवर्कको इन्टर कलेज फुटसल कम्पिटिसन, नेपाल वारियर च्याम्पियनसिप र डर्ट टेम्पलका अफिसियल ब्रोडकास्टर पनि हो । हालसालै द डोअर्स नेपालको पोडकाष्टमा सिसनले बताएका छन्, ‘पर्यटन प्रवद्र्धनका लागि खेल क्षेत्र फस्टाउनुपर्छ ।’

आफ्नो च्यानल बाहेक सिसनलाई चिनाउने अर्को युट्युब च्यानल हो प्याराडाइम टिभी जसलाई उनले सन् २०१७ मा सुरु गरेका थिए । प्याराडाइम टिभीले कार्यक्रमहरूमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई बोलाएर मनोरञ्जनात्मक क्रियाकलापहरू गर्ने गराएको छ । उक्त च्यानलले मनोरञ्जनात्मक क्रियाकलापहरू मार्फत विभिन्न नेपाली प्रडक्टहरूको प्रचार–प्रसार पनि गर्छ । प्याराडाइम टिभी पनि युवाहरूमा धेरै चर्चित छ । हाल उक्त च्यानलको ५ लाखभन्दा बढी सब्सक्राइबर छन् ।

सन् २०२१ मा सिसनले प्याराडाइम पोडकास्टको सुरुवात गरे । सो पोडकास्टमा सिसनले विशेषगरी मनोरञ्जन, सामाजिक र राजनैतिक क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गर्छन् । पोडकास्टले पनि उनको लोकप्रियतालाई थप बढावा दियो । हाल प्याराडाइम पोडकास्टमा १ लाख भन्दा धेरै सब्सक्राइबर छन् ।

‘मलाई अरूहरूले पोडकास्ट बनाएको देखेर आफूलाई पनि बनाउन मन लाग्यो । साथसाथै पोडकास्टलाई अझ अरूहरूको भन्दा भिन्न र राम्रो बनाउन मन लागेको थियो । त्यही हुटहुटीमा मैले प्याराडाइम पोडकास्टको सुरुवात गरें’, उनी भन्छन् ।

प्याराडाइम म्युजिक सिसनको अर्को लोकप्रिय युट्युब च्यानल हो, जसले नयाँ र प्रतिभाशाली सङ्गीतकारहरूलाई आफ्नो सिर्जनाहरू ठूलो जमातसम्म पुर्‍याउन मद्दत गरिरहेको छ । सन् २०२२ मा सुरु गरिएको प्याराडाइम म्युजिकको हाल ५ हजारभन्दा धेरै सब्सक्राइबर छन् ।

सिसन के गर्दैछन् ? सुरुवाती दिनमा परिवारले कुनै भेउ पाएका थिएनन् । हुर्केको छोरो बरालिन पो थाल्यो कि भनी उनीहरूलाई पीर परेको हुनसक्छ । ‘पछि साथीहरूले बुवालाई मेरोबारे भनिदिए, मेरो कामबारे कुरा गरे त्यसपछि मात्र मलाई घरमा पत्याउन थालियो’ सिसनले भनेका छन्, ‘अहिले मेरो कामप्रति उहाँहरूले गर्व गर्नुहुन्छ ।’

हरक्षण दृश्यभाषामा रमाउन खोज्ने सिसन अब फिल्म निर्माणको तरखरमा छन् । द डोअर्स नेपालको पोडकास्टमा आफूलाई व्यावसायिक र समीक्षात्मक हिसाबले पनि सफल हुने खालको फिल्म बनाउन मन लागेको सिसनले बताएका छन् ।

‘एउटै खालको काम धेरै गर्‍यो भने आफ्नो विकास हुँदैन । कहिलेकाहीं आफूबाट केही नयाँ गर्ने र नयाँ जोखिमहरू मोल्न पनि तयार हुनुपर्छ’ सिसन भन्छन् । सिसनले हालसालै फिल्ममेकरको लागि भनेर रेन वेभ पिक्चर्स नामको प्लाटफर्म सञ्चालनमा ल्याएका छन् ।

‘यो प्लाटफर्म पटकथा लेखक, सिनेमेटोग्राफर, अभिनेता, निर्देशक, निर्माता र नयाँ फिल्म निर्माताहरू सबैलाई एकै ठाउँमा ल्याउनका लागि बनाइएको हो । यस प्लाटफर्मले पूँजी, उत्पादन र वितरणको समस्याहरू हल गर्नेछ जसका कारणले फिल्ममेकरलाई रचनात्मक बन्न सहज हुनेछ’ उक्त पोष्टमा लेखिएको छ ।

सिसनको काम गर्ने शैली गज्जब छ । उनी जुन काम गर्छन्, त्यसमा हदैसम्म लागिपर्छन् । उनी भन्छन् पनि, ‘मैले आजसम्म जे–जति काम गरेको छु सबैमा शतप्रतिशत दिएको छु र आउने दिनमा पनि यो कुरालाई निरन्तरता दिनेछु ।’

प्रसुन संग्रौला