+

खाडीको होटल छोडेर जुम्लामा ‘होमस्टे’

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
‘१८ घण्टा काम गर्न सक्ने युवालाई विदेशीले अधिकतम उपयोग गर्छन् । देश बनाउने भए उनीहरूलाई यहीं काममा लगाउनुपर्छ’ भन्ने जुम्ला गुठीचौरका चित्रबहादुर बुढाको अर्ग्यानिक होमस्टे कर्णाली क्षेत्रमै युवाको मन जित्ने नमूना काम मानिन्छ ।
चित्रबहादुर बुढा

देशमा न रोजगारीको अवसर, न केही गरिहाल्ने वातावरण नै । विदेश जान खोज्दा कालापार जाने निराश युवाहरूको अर्को लर्को । अनि उनी हान्निए कतारतिर । एक पाँचतारे होटलमा कुकमेनको जागिर खाए । मासिक २ लाखको आकर्षक तलब थियो ।

यति राम्रो दाम कमाइरहेका ती युवा भने सबथोक छोड्छन् । र, गाउँमै व्यवसाय गर्छु भनेर नेपाल फर्किने निर्णय सुनाउँछन् । उनको निर्णय सुनेर निराश परिवारका सदस्यले भने ‘तिमीले ठूलो गल्ती गर्‍यौ । तिमीले सोचे जस्तो गाउँ छैन !’

तर ती युवाले आफ्नो हठ छोडेनन् । गाउँ फर्किए । अनि गाउँमा केही गर्न सकिंदैन भन्नेलाई गलत साबित गरिदिए । अचम्म त के भने जसले हिजो तिमीले गल्ती गर्‍यौ भने आज उनीहरू नै भन्न थालेका छन्, ‘चित्र तिमीले जे गर्‍यौ, सही गर्‍यौ !’

यो कथा हो मिहिनेत गरेर गाउँमै सुन फलाउने गुठीचौर–३, जुम्लाका चित्रबहादुर बुढा (३४) को । चित्रबहादुरको जीवन एउटा लयमा कुदिरहेको थियो । उनले आफ्नो क्षमता र योग्यता भन्दा राम्रो जागिर पाएका थिए । सबै ठिकठाक थियो । तर मन भने गाउँघरतिरै रुमल्लिइरहेको हुन्थ्यो ।

६ वर्षअघि घर आएका बेला चित्रका ७३ वर्षीय बुवाले भनेका थिए, ‘हेर बाबु, विदेशमा जति राम्रो काम गरे पनि तँ अर्काको नोकर नै होस् । गाउँठाउँमै केही गर, मालिक भइन्छ ।’ बुवाको त्यो वचनले चित्रबहादुरलाई घोचिरहन्थ्यो ।

अनि सन् २०२० मा उनी गाउँ फर्किए । गाउँभन्दा अलिक पर गुठीचौरमा वासस्थान तयार पारे । र, त्यहींबाट सुरु गरे– अर्ग्यानिक होमस्टे । जसले उनलाई नाम, दाम र सम्मान दिइरहेको छ । गाउँ–ठाउँमा युवाहरूलाई हौसला दिइरहेको छ र परिवारलाई भरोसा ।

जुम्लादेखि कुवेतसम्म

जुम्लाको एउटा निम्न वर्गीय परिवारमा जन्मिएका चित्रबहादुर बुवा सुरबहादुर बुढा र आमा सुपुन्नको चौथो सन्तान हुन् । उनका तीन दिदी र एक भाइ छन् । कक्षा ५ सम्म गाउँकै शङ्कर प्राथमिक विद्यालयमा पढेका उनले कक्षा ६–१० सम्म भने गुठीचौर–५, झारखोलामा रहेको त्रिभुवन माविमा पढे ।

चित्रबहादुरले २०६४ सालमा एसएलसी पास त गरे तर अरू धेरै युवा जस्तै रोजगारीको सम्भावना देखेनन् । त्योभन्दा माथि पढ्न सक्ने उनको आर्थिक अवस्था थिएन । सँगै पढेका साथीहरू उच्च शिक्षा पढ्न सुर्खेत, नेपालगञ्ज र काठमाडौं गइरहेका बेला उनी भने रोजगारीका लागि कुवेत जाने निर्णय गरे ।

‘दिदीहरूको बिहे भइसकेको थियो । घरको सबै जिम्मेवारी मेरो काँधमा आयो । पढ्न पैसा थिएन । विदेशिनुको विकल्प भएन’, उनी भन्छन् । त्यतिवेला विदेशिने गाउँकै पहिलो व्यक्ति थिए, चित्रबहादुर । जेठो भिनाजुका भेडा, आमाको सुन बेचे र केही ऋण काढेर २ लाख रुपैयाँ जुटाएर २०६४ सालमा कुवेत हान्निए ।

त्यहाँ तलब थियो नेपाली ११ हजार । काम गर्नुपर्थ्यो  १२ घण्टा । विदेश जाँदाको ऋण समेत तिर्न सकेका थिएनन् । त्यति नै वेला उनको भेट सिंगापुरे लाहुरेका छोरा सुमनप्रसाद लिम्बूसँग भयो । ‘कुवेतमा दुई वर्ष काम गरेपछि काठमाडौं फर्किएँ’ उनले भने, ‘त्यसपछि सुमनकै सहयोगमा दुवैले एउटा पाँचतारे होटलमा किचेन हेल्परको काम पाए ।’ तलब थियो, ४१ हजार ।

त्यहाँबाट उनी सन् २०१५ मा कतार पुगे । कतारको सेन्ट रेजिप्ट्र नामक पाँचतारे होटलमा सहायक कुकको काम गरे । यो बीचमा उनी बहराइन, कतार र दुबईमा बसेर काम सिके । यात्रा न हो, त्यहाँ केही समय बसेर काम सिकेपछि साउदी अरबतिर लागे । आफ्नो सीपका कारण पाँचतारे होटलमै काम पाए । सीप अनुसारको कमाइ राम्रै थियो ।

परिवारको खुसी पछ्याउँदै विदेशिएका उनले धेरथोर पैसा पनि कमाए । तर मनमा भने कहिल्यै सन्तोष मिलेन । बेलाबखत घर त फर्कन्थे, तर परिवारको न्यास्रो मेट्न नपाउँदै परदेश फर्किहाल्नुपर्थ्यो । श्रीमती र सन्तानको साथ छोडेर परदेश फर्कनु पर्दाको समय झन् पीडादायी हुन्थ्यो ।

पाँच वर्ष कतारको पाँचतारे होटलमा काम गरेका चित्रबहादुर चार वर्षअघि नेपाल फर्किए । नेपाल फर्किने बेलासम्म उनको तलब मासिक २ लाख पुगेको थियो । तर त्यसले चित्रबहादुरलाई लोभ्याएन । विदेशको राम्रो कमाइ र उच्चस्तरको जीवनशैली त्यागेर आफ्नै जन्मथलोको माटोमा उद्यम गर्न आए ।

अनि खुल्यो ‘अर्ग्यानिक होमस्टे’

सोच स्पष्ट थियो, बाटो प्रष्ट थिएन । तर पनि उनले हिम्मत जुटाए । कतारबाट नेपाल फर्किंदा उनीसँग ३० लाख रुपैयाँ जति बचत थियो । कोरोनाकै बीचमा उनले केही समय परिवारसँग बिताए । बचेको समयमा नयाँ उद्यमको सम्भाव्यता बारे अध्ययन अनुसन्धान गरे ।

‘विदेशको सीप खानाका विभिन्न परिकार बनाउने थियो । त्यही सीप लगाएर व्यवसाय गर्न चाहन्थें’ उनी भन्छन्, ‘तर के गर्ने थाहा थिएन । लकडाउनकै बेला घरेलु उत्पादनको परिकार बनाएर घरमा खुवाउँथे । सबैले खुब मनपराए ।’ अनि जन्मियो– ‘सुर एण्ड सुपुन्न अर्ग्यानिक होमस्टे ।’

गाउँदेखि झन्डै एक घण्टा पैदल दूरीमा पर्ने सानो गुठीचौरमा आफ्नै पुर्ख्यौली जग्गा थियो । गुठीचौर जुम्लाको प्रमुख पर्यटकीय स्थल हो । चित्रबहादुरले त्यही ११ सय वर्गमिटर रहेको आफ्नै जग्गामा कोरोनाकै बीचमा होमस्टेको लागि भवन निर्माण थाले ।

स्थानीय स्रोत–साधन माटो, ढुङ्गा र काठको गाउँघर झल्किने तीन वटा भवन बनाए । ‘एकातिर लकडाउन थियो । अर्कोतिर संसारभर होटल व्यवसाय ठप्प थियो’ ती दिनहरू सम्झिंदै चित्रबहादुर भन्छन्, ‘गाउँलेहरू तेरो लगानी बालुवामा पानी जस्तै हुन्छ भन्थे ।’

कोरोना महामारीकै बीचमा उनले होमस्टे सञ्चालनमा ल्याए । पछिल्लो ४ वर्षमा उनको होमस्टेमा १ करोड २० लाख रुपैयाँ लगानी गरेका छन् । ‘कमाएको जति सबै यहीं लगानी गरेको छु । अहिले त होमस्टे सुविधासम्पन्न भएको छ’, उनी भन्छन् ।

होमस्टेमा चिसो–तातो पानी, तालिमका लागि हल, वाईफाई, सिसी क्यामरा समेत जडान गरिएको छ । पारिवारिक वातावरणमा खान, बस्न र सुत्न पाइन्छ । आत्मीयता, मिठो खाना र सस्तो मूल्यका कारण अर्ग्यानिक होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको गुठीचौर–३ का वडाध्यक्ष इन्द्रबहादुर बुढा बताउँछन् ।

होमस्टेको काखैमा सुन्दर पाटन गुठीचौर उपत्यका छ । वर्षायाममा त्यो मैदानमा जाजरकोटदेखि भैंसी चराउन ल्याउँछन् । उनको होमस्टेमा पुग्न सदरमुकाम खलङ्गादेखि झन्डै ४ घण्टा लाग्छ । जुम्ला–डोल्पा सडक त्यही होटल छेउबाटै जाने भएकाले मोटरसाइकल र गाडीबाट सहजै पुग्न सकिन्छ ।

चित्रबहादुर स्थानीय अन्न बालीमा विदेशी सीप मिसाएर बिक्री गरिरहेका छन् । ग्राहकले अर्डर गरेअनुसारको फापरको केक, जौ र गहुँको बिस्कुट पनि बनाएर घरमै पुर्‍याउने व्यवस्था उनले गरेका छन् ।

हिउँदमा जुम्लादेखि डोल्पा जानेहरू धेरै आवतजावत गर्ने बाटोमा पर्छ यो ठाउँ । वर्षायाममा पाटन घुम्न जानेको भीड नै हुन्छ । जुम्लादेखि डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटक त्यही बाटो भएर जाने भएकाले होमस्टे राम्रोसँग चलेको उनी बताउँछन् । पर्यटकहरूको ध्यान केन्द्रित अर्ग्यानिक खान्कीमै हुने गरेको छ ।

होमस्टेबाट अहिले मासिक कम्तीमा २ देखि ३ लाख बचत गरिरहेको उनी बताउँछन् । ‘सिजनको बेला त ४–५ लाख नै आम्दानी हुन्छ’ चित्रबहादुर भन्छन् । जुम्ला असाध्यै चिसो ठाउँ हो । त्यसैले यहाँ ३–४ महिना (मंसिरदेखि फागुनसम्म) चिसोले काम गर्नै सकिन्न । त्यो चिसो समयलाई उनी अफसिजन मान्छन् । चिसो समयमा पनि आफ्नो होमस्टेले राम्रो व्यापार गर्ने उनको भनाइ छ ।

सुर्खेत, नेपालगञ्ज, काठमाडौं जस्ता ठूला शहरमा यस्तो व्यवसाय गर्न पाए कमाइ धेरै हुन्थ्यो भन्ने उनलाई थाहा नभएको होइन । तर उनको सोच फरक छ– जन्मथलोको सेवा गर्ने, रैथाने उत्पादन प्रवर्धन गर्ने, स्थानीय बेरोजगार युवालाई थोरै भए पनि रोजगारको अवसर उपलब्ध गराउने अनि गाउँमै पैसा भित्र्याउने ।

स्थानीय अन्नबाली विदेशी सीप

चित्रबहादुरको होमस्टे नाम जस्तै अर्ग्यानिक छ । जहाँ बजारिया र रसायनयुक्त खानेकुरा वर्जित छ । मैदा होइन; जौ, कोदो, मकै, फापर आदिको केक बनाउँछन् उनी । अर्थात् गाउँमै जे फल्छ, त्यसैबाट उपभोक्तालाई मन पर्ने र खोजिने खान्की तयार पार्छन् ।

कुअन्न भनेर हेला गरिने कोदोका विभिन्न परिकार बनाउन खप्पिस उनलाई बनाउन नआउने परिकार केही छैन भन्दा पनि फरक पर्दैन । उनको होमस्टेमा फापरको केक, फापरको रोटी, मार्सी चामलको भात, मकै र सिमी मिसाइएको कोल, आलुको परौठा र जङ्गली सागहरूको खान्कीले हरेक आन्तरिक तथा बाह्य पर्यटकको मन जित्छ ।

उनी भन्छन्, ‘पोषिलो, स्वादिलो, पोटिलो र रसिलो खान्की तयार पार्छौं हामी । पाहुनाहरूले पनि खुब मन पराइदिनुभएको छ ।’ चित्रबहादुर स्थानीय अन्न बालीमा विदेशी सीप मिसाएर बिक्री गरिरहेका छन् । ग्राहकले अर्डर गरेअनुसारको फापरको केक, जौ र गहुँको बिस्कुट पनि बनाएर घरमै पुर्‍याउने व्यवस्था उनले गरेका छन् ।

बाहिरदेखि आयातित खाद्यवस्तुको प्रयोग नगर्ने उनी बताउँछन् । होमस्टेमा जङ्गलमा पाइने रायो, लिकुरो, पालुङ्गो र रुघाको साग टिपेर खुवाउने गरिन्छ । जङ्गली सागपातको स्वाद लिन पाउँदा पर्यटकहरू पनि दङ्ग पर्छन् । जुम्लाको बहुमूल्य जडीबुटीको चिया पनि पाइन्छ उनको होमस्टेमा । त्यसैले चिया पिउनेको पनि भीड हुन्छ । चुकको पात, लौठसल्ला, बायोजडी, घोडामच्चो र गुन्नाइनोको चिया दिने गरेको उनी बताउँछन्  ।

उनको होमस्टेमा रैथाने आलुको तरकारी, आलुबाट बन्ने परिकार, कोदो, जौ, गहुँ/मकैको रोटी, कालीमार्सी धानको भात, स्थानीय भटमास/सिमीको दाल, चिनो, कागुनोको भात, स्थानीय जातको खसी र लोकल कुखुराको मासुको स्वाद लिन पाइन्छ ।

गुठीचौर घुम्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । कर्मचारी, स्कुल, कलेजका विद्यार्थीहरू प्रायः शुक्रवार हिंडेर गुठीचौर जाने, जन्मदिन मनाउने साँझ उतै बस्ने र शनिवार फर्किने गर्छन् ।

चित्रबहादुर आफूले विदेशमा सिकेको सीप गाउँका अरू युवालाई समेत सिकाइरहेका छन् । गाउँ–बस्तीमा पुगेर होमस्टे व्यवस्थापन र स्थानीय परिकार बनाउने तरिकाबारे तालिम दिन्छन् । उनी अहिले अर्ग्यानिक वस्तुका परिकार बनाउने उद्यमीका रूपमा चिनिएका छन् ।

बेलाबेलामा जिल्ला सदरमुकाम खलङ्गामा निम्त्याइन्छन्, विभिन्न संघसंस्था मार्फत । कतिपय बेला सिकाउने कार्यक्रम आफैं पनि आयोजना गर्छन् । ‘जुम्लाका सबै पालिका, छिमेकी जिल्ला डोल्पा र जाजरकोटका केही स्थानीय तहमा गएर पनि तालिम दिइसकेको छु’, उनी भन्छन् ।

उनी प्रायः बेफुर्सद हुन्छन् । पहिलो कुरा त होमस्टेमा आउने पाहुनाको स्वागत सत्कारमै बित्छ उनको धेरै समय । त्यसबाहेक प्रशिक्षकका रूपमा पनि धेरै समय बित्छ । अरूका लागि निश्चित समय ‘सिजन’ भए पनि आफ्ना लागि सधैं सिजन भएको उनी खुसीसाथ बताउँछन् । कोही न कोही, कुनै न कुनै समूह आफ्नो होमस्टे खोज्दै आउने भएकाले उनी खुसी छन् ।

चित्रबहादुरको अनुभवमा १८ घण्टा काम गर्न सक्ने यो उमेरका युवालाई विदेशीहरूले अधिकतम उपयोग गर्छन् । उनी भन्छन्, ‘हामीले देश विकास गर्ने हो भने यी युवालाई यहीं काममा लगाउनुपर्छ ।’

जुम्ला र यहाँका रैथाने खाद्यान्न चिनाउने चित्रबहादुरको भोक अझै बाँकी छ । त्यसैले उनी पहिला जुम्ला चिनाइसक्ने, त्यसपछि मात्र बाँकी भागमा यस्ता व्यवसाय सुरु गर्ने योजनामा छन् । उनी भन्छन्, ‘मिहिनेत गरे गाउँमै आम्दानी राम्रै हुने रहेछ भन्ने बुझें । ऊर्जाशील उमेर अब विदेश होइन, यहीं केही गर्नुपर्छ भन्ने लागेको छ ।’

आफ्नो लगाव, संघर्ष र उद्देश्यमा इमानदार भएपछि त्यो लय बदलिएन भने एक दिन समाज नै बदलिने रहेछ । हिजो उनलाई हेलाहोचो गर्ने समाजले आज वाह् ! भन्न थालेको छ । हिजो हाँसोको पात्र बनाउनेहरू आज उनलाई प्रेरणादायी व्यक्ति मान्न थालेका छन् ।

चित्रबहादुरको अबको लक्ष्य आत्मनिर्भर बन्ने हो । आफूलाई चाहिने सबै सामग्री आफैं उत्पादन गर्न चाहन्छन् उनी । होमस्टेबाट भएको केही आम्दानी अर्ग्यानिक कृषि फार्ममा लगानी गरेका छन् । उनले चार वटा स्याउ बगैंचा समेत बनाएका छन् । पहिलो चरणमा लगाएका ७०० स्याउका बिरुवाले फल दिन थालेका छन् ।

‘हामीले पुख्र्यौली जुम्ली स्याउ नै लगाएका छौं । अहिले नै स्याउबाट आम्दानी खाने बेला भएको छैन । अबको दुई वर्षबाट स्याउले राम्रो आम्दानी दिनेछ’, उनी भन्छन् । २० लाख लगानीमा आफ्नै पुख्र्यौली जग्गामा चार वटा कृषि फार्म छन् । आगामी वर्षदेखि वार्षिक ४–५ लाख आम्दानी हुने अपेक्षा छ ।

मासुका लागि उनीसँग हाल २०० बढी भेडा छन् । ‘भिनाजु र मैले संयुक्त रूपमा भेडा पालेका छौं । भान्जाले फुल टाइम भेडालाई दिएका छन्’ उनले भने, ‘एउटा भेडा १५ हजार भन्दा माथि मूल्यमा बिक्री हुन्छ । झन्डै ३० लाख बराबरको भेडा छन् हामीसँग ।’

चित्रबहादुरको अनुभवमा १८ घण्टा काम गर्न सक्ने यो उमेरका युवालाई विदेशीहरूले अधिकतम उपयोग गर्छन् । उनी भन्छन्, ‘हामीले देश विकास गर्ने हो भने यी युवालाई यहीं काममा लगाउनुपर्छ ।’ गत वर्ष मात्रै आठौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उनलाई ‘उत्कृष्ट उद्यमी सम्मान’ ले पुरस्कृत गरेको थियो ।

यज्ञ खत्री