+

छापामार युवतीको छलाङ

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
स्कुलमा पढ्दापढ्दै सशस्त्र युद्धमा हिंडेकी झाँगड आदिवासी महिलाहरूका लागि प्रेरणा र अल्पसंख्यकहरूका लागि आवाज बन्न पुगेकी छन् ।
वन्दना झाँगड

वन्दना झाँगड (३७) का नाममा दुईवटा रेकर्ड छन् । उनी कोशी प्रदेशकी सबैभन्दा कान्छी सांसद हुन् । अनि अल्पसंख्यक झाँगड समुदायबाट माथिल्लो जिम्मेवारीमा पुग्ने महिला पनि । झापाको कमल गाउँपालिका–१ की सांसद वन्दनालाई यो मौका माओवादी केन्द्रले दियो । उनी ४ जेठदेखि ११ साउन २०८१ सम्म उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री थिइन् ।

माओवादी सशस्त्र युद्ध हुँदै राजनीति थालेकी वन्दना अति सामान्य परिवारमा जन्मेकी थिइन् । बाल्यकाल कष्टकर रूपमा बित्यो । सात वर्षकी छँदा आमाको मृत्यु भयो । छोराछोरीको सम्पूर्ण जिम्मेवारी बुबामा आइलाग्यो । उनी सहित पाँच छोराछोरीको रेखदेख बुबा कुल्वाले गरे ।

उनले छोराछोरीले दुःख पाउने चिन्ताले दोस्रो बिहे पनि गरेनन् । परिवारकी कान्छी वन्दना घरमा सकेको काम सघाउँथिन् । उनको बाल्यकाल परिवारको काम गर्दै अघि बढ्यो । आफूले नपढे पनि बुबाले छोराछोरीलाई स्कुल पठाए । पढाइमा अलिक ध्यान दिने वन्दना मात्रै थिइन् ।

२०४३ सालमा झापाको कमल गाउँपालिकामा जन्मिएकी वन्दना हुर्कंदै गर्दा घरमा मान्छेको चहलपहल हुन्थ्यो । सुरुमा वास्ता थिएन, पछि विस्तारै थाहा पाइन्, ती तत्कालीन माओवादीका नेता–कार्यकर्ता रहेछन् । गाउँबाट थोरै एकान्तमा भएका कारण उनको घर माओवादी नेता कार्यकर्ताका लागि सेल्टर थियो ।

पार्टीको बैठक बस्न उनको घर सुरक्षित थियो । उनकै घरबाट झापामा माओवादी आन्दोलन तथा सङ्गठन निर्माणको योजना बन्थ्यो । बुबा र दाजुहरूले माओवादी कार्यकर्तालाई सहयोग गर्थे । माओवादी आन्दोलनसँगै उनी पनि हुर्कंदै थिइन् ।

आफ्नो समुदायबाट पहिलोपटक मन्त्री भएपछि बन्दना झाँगड

गाउँमा कथित तल्लो जातको मानिने भएका कारण वन्दना सहित परिवारले छुवाछूत भोग्नुपर्थ्यो  । घरमा आउने माओवादी नेताको प्रभावले उनी पढ्दापढ्दै राजनीतिमा लागिन् । कक्षा ८ मा पढ्दा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीमा आवद्ध भएकी थिइन् ।

‘हामी समाजको उत्पीडित समुदायका मान्छे हौं, पार्टीले उठाएर आन्दोलन गरेको विषयवस्तु हामीसँग मेल खाने कारणले गर्दा माओवादीको राजनीतिमा लागियो’ उनले भनिन्, ‘अन्याय अत्याचार सहनुहुँदैन, बोल्नुपर्छ भन्ने महसुस भएपछि कक्षा ८ पढ्दा संगठित भएँ ।’

२०६० सालको एउटा घटनाले उनको जीवनको बाटो मोडियो । माओवादीका स्थानीय नेता तथा उनका छिमेकी रमेश सुवेदीको तत्कालीन सरकारी पक्षले हत्या गर्‍यो । यो घटना हुँदा उनी १७ वर्षकी थिइन् ।

सुवेदी मारिएपछि तत्कालीन सरकार पक्षले झाँगडको परिवारलाई दुःख दिइरह्यो । माओवादीलाई सेल्टर दिएको निहुँमा दुःख दिएपछि वन्दना कक्षा ९ मा पढ्दापढ्दै माओवादीको (डब्लूटी) पूर्णकालीन सदस्य बनिन् ।

माओवादीको पूर्णकालीन सदस्य बन्दा उनलाई जेठा दाजुले साइकलमा राखेर कार्यक्रमस्थलसम्म पुर्‍याउन गएका थिए । माओवादीमा लागेपछि उनको परिचय फेरियो । वन्दना झाँगडबाट उनी ‘कमरेड अनिशा’ बनिन् ।

गाउँमा जातका कारण हुने भेदभाव भोगेकी उनले पार्टीभित्र भने समानता देखिन् । माओवादीले बोकेको एजेण्डा आफू जस्तै सामाजिक विभेदमा परेकाहरूलाई माथि उठाउने रहेछ भन्ने बुझिन् । त्यसपछि वर्गीय र जातीय विभेद अन्त्यको एजेन्डा बोकेर पार्टीको काममा हिंडिन् ।

भूमिगत कालमा पटक–पटक सरकारी पक्षसँग जम्काभेट भयो । ती जम्काभेटबाट आफूलाई जोगाइन् । इलामको जितपुरमा आयोजित कार्यक्रममा भने उनी घाइते भइन् । जितपुरको भेलालाई नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने कार्यक्रम थियो । तर सेनाले थाहा पाएपछि सुरु नहुँदै कार्यक्रम बिथोलियो ।

सेनासँग दोहोरो झडप पनि भयो, केही कार्यकर्ता समातिए, केही घाइते भए । धेरैले भागेर ज्यान जोगाए, ज्यान जोगाउने क्रममा उनी पनि घाइते भइन् । त्यसपछि दानाबारीमा सेनाले हवाई आक्रमण गर्दा उनले आफ्नो ज्यान मुस्किलले जोगाइन् ।

२०५८ देखि २०६२ सालसम्म माओवादी आन्दोलन चरम उत्कर्षमा थियो । त्यसबेला उनले पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङमा पार्टीको काम गरिन् । त्यही अभियानमा उनले सीमान्तकृतको आवाज उठाउन जानिन् ।
‘पहिले त म बोल्न जान्दिनथेंं, बोल्ने कुरा पार्टीमा दाइहरूले लेखेर दिनुहुन्थ्यो’ उनले भनिन्, ‘त्यसपछि सिक्दै सिक्दै बोल्न जान्ने, आफ्ना कुरा राख्न सक्ने भएँ ।’

माओवादी शान्ति प्रक्रियामा आएपछि वन्दना पार्टीको संगठन विस्तार र जातीय तथा वर्गीय विभेद अन्त्यको अभियानमा लागिन् । सीमान्तकृत र अल्पसंख्यकको अवस्था उकास्ने अभियानमा केन्द्रित भइन् । सीमान्तकृतको आवाज जोडतोडले उठाइन् । आफ्नो समुदायका महिलालाई राजनीति र नीति निर्माण तहमा पुग्न सक्षम बनाउन आफूले काम गरेको उनको भनाइ छ ।

उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष बनिन् । संघको जिल्लाको नेतृत्वमा रहेर १३ वर्ष काम गरिन् । झाँगड अहिले कोशी प्रदेश सांसद तथा माओवादीको प्रदेश कमिटी सदस्य हुन् । माओवादी आन्दोलनका कारण बाटो मोडेकी उनको रहर भने शिक्षक बन्ने थियो । शिक्षक भएर सेवा गर्ने लक्ष्य राखेको काम उनी नेता भएर गरिरहेकी छन् ।

माओवादी आन्दोलनमा लाग्नुअघि हरेक क्षेत्रमा विभेद भोगेकी वन्दनाले राजनीतिमा आएपछि त्यो स्तरको विभेद भोग्नु परेको छैन । समाजमा माथिल्लो भनिएको समुदायले तल्लो भनिएको समुदायलाई गर्ने व्यवहार पनि विस्तारै परिवर्तन हुँदैछ ।

‘माओवादी आन्दोलनमा नलागेको भए म शिक्षक बन्थें होला, समुदायमा चेतनाको अभाव भएका कारण शिक्षक बन्नुपर्छ, शिक्षक भएर चेतना जगाउनुपर्छ भन्ने अनुभूति मलाई थियो’ उनले भनिन्, ‘पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने मेरो मानसिकता थियो ।’

वन्दनाले माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि आफ्नो अधुरो पढाइ पूरा गरिन् । उनी अझै पढ्दैछिन् । हाल उनी स्नातक तह मानविकी संकायको दोस्रो वर्षमा अध्ययनरत छिन् । ‘शान्ति प्रक्रियामा आएपछि मैले आफ्नो पढाइलाई फेरि सुरु गरें, अहिले ब्याचलरमा अध्ययनरत छु’ वन्दना भन्छिन्, ‘हिजो बुबाले दुःख गरेर पढाउनुभएको थियो ।’

माओवादी आन्दोलनमा लागेकी उनलाई पार्टीले २०७० को संविधानसभा र २०७४ मा प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा नाम राखेको थियो । तर त्यसबेला उनले अवसर पाइनन् । यो पटक उनलाई पार्टीले न्याय गर्‍यो ।

गाउँबाट उठेकी अल्पसंख्यक झाँगडको प्रतिनिधित्व राज्यको माथिल्लो निकायसम्म पुग्यो । अहिले उनी प्रदेशको नीति निर्माण गर्ने तहमा छिन् । प्रदेशको कानुन निर्माण गर्ने तहमा भए पनि उनी आफ्नो भूमिका प्रति सन्तुष्ट छैनन् । प्रदेशमा भएको अस्थिरताका कारण नीतिनिर्माण तहमा काम गर्न नसकिएको उनको अनुभव छ ।

संसद्मा आफ्नो प्रतिनिधित्व गणतन्त्र प्राप्तिपछिको उपलब्धि भएको उनको बुझाइ छ । ‘हिजो हामी जुन परिवेशमा बसेका थियौं, अहिले त्यस्तो छैन । त्यस्तो हुनुमा हामीले चलाएको आन्दोलन नै मुख्य हो’ उनले भनिन्, ‘माओवादी आन्दोलनले अल्पसंख्यक र सीमान्तकृत समुदायकालाई मूल प्रवाहमा ल्याएको छ ।’

माओवादी आन्दोलनमा लाग्नुअघि हरेक क्षेत्रमा विभेद भोगेकी वन्दनाले राजनीतिमा आएपछि त्यो स्तरको विभेद भोग्नु परेको छैन । समाजमा माथिल्लो भनिएको समुदायले तल्लो भनिएको समुदायलाई गर्ने व्यवहार पनि विस्तारै परिवर्तन हुँदैछ ।

‘हिजो छुवाछूतको व्यवहार भोगियो, २०६३ पछि त्यस्तो भोग्नु परेको छैन’ उनले भनिन्, ‘समाजमा परिवर्तन भयो ।’ पार्टीले उठाएका केही योजना कार्यान्वयन भएको र केही बाँकी रहेको उनको भनाइ छ । ‘संघीयता, समावेशी लोकतन्त्र र धर्मनिरपेक्षता आएको छ, यो हिजो हामीले उठाएकै विषय हो’ उनले भनिन्, ‘पछाडि पारिएको समुदाय र महिलालाई राज्यको मूल प्रवाहमा ल्याउन बाँकी छ ।’

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो जनयुद्धकै एजेण्डा अनुसार अल्पसंख्यक समुदायले राज्यको नीति निर्माण तहमा पुग्ने अवसर पाएको बताउँछन् । ‘सामाजिक न्यायको दृष्टिले यो धेरै ठूलो विषय हो’ आङ्बो भन्छन्, ‘उत्पीडित, उपेक्षित र राज्यबाट बहिष्करणमा परेकाहरूको मुद्दा माओवादीले उठाएको थियो, अवसर आउँदा नेतृत्व तहमा अल्पसंख्यक र उपेक्षित समुदाय पुगेका छन् ।’ सांसद वन्दना झाँगडले उत्पीडित र अल्पसंख्यक समुदायको आवाज निरन्तर उठाइरहेको उनको भनाइ छ ।

हरि अधिकारी