+

इन्स्टामा पैसा पढाउने सीए

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
सामाजिक सञ्जाल इन्स्टाग्राममा सीए अनुपमाको नामबाट कर शिक्षा र वित्तीय साक्षरताका सामग्री उत्पादन र प्रसारण गर्दै आएकी अनुपमा संग्रौला लाखौं फलोअर्सलाई छोटो मिठो, शिक्षा र चेतना बाँड्न सफल छिन् ।
अनुपमा संग्रौला

उनी कुनै सेलिब्रेटी होइनन् तर, सामाजिक सञ्जाल मार्फत वित्तीय साक्षरता सचेतनाका लागि गरेको सामान्य पहलले कुनै सेलिब्रेटी भन्दा कम पनि छैनन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा सीए अनुपमाको नामबाट कर शिक्षा र वित्तीय साक्षरताका सामग्री उत्पादन र प्रसारण गर्दै आएकी उनी लाखौं फलोअर्स कमाउन सफल छन् ।

फरक व्यावसायिक पृष्ठभूमि भए पनि उनले ६ महिनाअघि २०८० फागुनतिर सामाजिक सञ्जाल इन्स्टाग्राममा कर शिक्षा र वित्तीय साक्षरता सम्बन्धी छोटो भिडियो कन्टेन्ट हाल्न थालिन् । ती कन्टेन्टले अनुपमा संग्रौला (२९) लाई ‘सीए अनुपमा’ को रूपमा चर्चित बनाइदियो ।

उनले सन् २०१८ मा मात्रै भारतबाट सीए कोर्स पूरा गरेकी हुन् । आफ्नो अन्य व्यवसाय सञ्चालन गरिरहेको भए पनि समय निकालेर समाजमा चेतना बढाउने उद्देश्यले वित्तीय साक्षरताका सामग्री बनाउन थालेकी हुन् ।

‘हामीलाई कर कानुन, लेखा जस्ता विषय सामान्य लाग्छ तर, धेरैलाई वित्तीय साक्षरताको कमीले असहज बनाइरहेको हुन्छ’ अनुपमा भन्छिन्, ‘पढे–लेखेकाहरूमा पनि कर तथा वित्तीय साक्षरताको जानकारी न्यून छ ।’

उनले भनिन्, मेरी दिदीलाई कर कानुनको जानकारी छैन । धेरै मान्छेमा वित्तीय साक्षरता र कर शिक्षाको ज्ञान कम भएको देखेपछि मैले यो सबैको लागि आवश्यक छ भनेर सामाजिक सञ्जालमा भिडियो सामग्री प्रकाशित गरेकी हुँ ।’

कर शिक्षा र वित्तीय साक्षरता स्कुल तहमा पढाइ हुँदैन । धेरैलाई डेविट, क्रेडिट पनि थाहा हुँदैन । ‘बाहिर बुझ्दा पनि धेरैलाई जानकारी नभएको पाएपछि मैले त्यसमा सम्भावना देखें’ अनुपमा भन्छिन्, ‘कर शिक्षा र वित्तीय साक्षरता अभिवृद्धिको लागि केही काम गर्न सकिने सम्भावना देखेर इन्स्टाग्राममा कन्टेन्ट बनाउन सुरु गरें ।’

उनले कोभिडको समयमा नै शिक्षा क्षेत्रका कन्टेन्ट बनाउँदै आएकी थिइन् । पछि टिकटक बन्द भयो । यस बीचमा व्यक्तिगत कारणले सामाजिक सञ्जालसँगै कम्प्युटरको स्क्रिनबाट समेत केही समय टाढा बसिन् । अहिले ११ महिनाको नाबालकको हेरचाह गर्दै उनी सामाजिक काम गरिरहेकी छिन् ।

६ महिना यताका सामग्रीले अनुपमालाई छोटो समयमा नै चर्चित बनाइदिएको छ । उनले अफिसको समयलाई असर नपरोस् भनेर कर शिक्षा र वित्तीय साक्षरताका कन्टेन्ट घरमै बताउँदै आएकी छिन् । अनुपमाले व्यवस्थापन हेरिरहेको हाम्रो एकेडेमीको अफिस स्टुडियो र उपकरण भए पनि उनी घरमा नै आवश्यक उपकरण जोडेर यस्ता विषयवस्तु उत्पादन गर्छिन् ।

भारतका विभिन्न कन्टेन्ट क्रियटरहरूबाट प्रभावित भएर दोहोरो संवाद गर्ने शैलीका कन्टेन्ट बनाउन सुरु गरेको अनुपमा बताउँछिन् । जुन प्रभावकारी पनि भएको उनको बुझाइ छ । कानुनी विषयका कन्टेन्टहरू प्रभावकारी नहुने भएकोले तिनलाई सरल र सहज रूपमा सबैले बुझ्ने भाषामा बनाउने गरेको उनको भनाइ छ । अहिलेसम्म उनले कर शिक्षा र वित्तीय साक्षरतका ६० जति कन्टेन्ट बनाएकी छन् ।

उनको अनुभवमा १ मिनेटको छोटो भिडियो क्लिप मात्रै बनाउँदा धेरै विषय भन्न नसकिने रहेछ । त्यसको लागि युट्युब मार्फत जाने वा छोटो कन्टेन्ट मार्फत नै सचेतनाको काम गर्ने भन्ने द्विविधामा छिन् अनुपमा । चेतनाका लागि अहिले गरेको कामबाट सन्तुष्ट भएर नै थप केही गर्ने सोच बनाएको उनी बताउँछिन् ।

‘भिडियो हेर्नुभएका मान्छेले मलाई भेट्दा वा म्यासेज गरेर आफनो अधिकारबारे थाहा भएको र त्यसको लाभ लिएको बताउँदा मलाई धेरै नै खुसी लाग्छ’ अनुपमा भन्छिन्, ‘मेरो कामले समाजमा चेतना बढाउन प्रभाव पारेछ भन्ने महसुस हुन्छ ।’

त्यसले आफूलाई थप जिम्मेवारी महसुस गराएको उनको बुझाइ छ । सामाजिक सञ्जालले छोटो समयमा नै चर्चित बनाउने तर त्यसलाई मेन्टेन गर्न वा त्यसभन्दा माथि जान भने समय लाग्ने उनी बताउँछिन् ।

अनुपमाको परिवार आर्थिक रूपमा सम्पन्न थिएन । कुनै बेला बुबाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सरकारी जागिर छोडेर छोराछोरीको भविष्य राम्रो बनाउन व्यापारमा हात हालेका थिए । न्युरोडमा कपडाको होलसेल व्यापार थियो ।

झापाको स्थानीय भए पनि अनुपमाको जन्म इलाममा भयो । उनको पढाइ–लेखाइ र कर्मथलो काठमाडौं बन्यो । बाल्यकालमा ५ जनाको परिवार एउटै कोठामा बस्ने र बुबाले गरेको दुःख अहिले पनि याद रहेको अनुपमा बताउँछिन् ।

विस्तारै बुबाको व्यापार राम्रो हुँदै जाँदा केही वर्ष पछि नै उनको परिवारलाई खान, लाउन र शिक्षाका लागि समस्या भएन । परिवारको साथले नै राम्रो स्कुल, कलेज हुँदै धेरैको सपना चार्टर्ड एकाउन्टेन्टको कोर्स गर्न सफल भएको अनुपमा बताउँछिन् ।

उनले स्कुल तहको शिक्षा काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट पूरा गरेकी थिइन् । उत्कृष्ट विद्यार्थी नभए पनि औसत भन्दा माथि थिइन् उनी । स्कुल तहको शिक्षा सकिएपछि प्लसटुमा त्यतिबेला सबैको रोजाइ विज्ञान हुँदा समेत उनको रुचि भने पहिलदेखि नै चार्टर्ड एकाउन्टेन्ट बन्ने भएकोले अनुपमाले व्यवस्थापन विषय छनोट गरिन् ।

‘सानैदेखि एकाउन्ट पढ्न रमाइलो लाग्थ्यो । सीए भनेको के हो र त्यसले के काम गर्छ भन्ने राम्रोसँग थाहा नभए पनि ५/६ कक्षा पढ्दादेखि सीए बन्छु भन्ने रहर थियो’ उनी भन्छिन्, ‘नेपालमा सीएको लागि राम्रो अवसर छ र राम्रो कमाइ गर्न सकिन्छ भन्ने पहिलेदेखि नै सुनेकोले पनि यो सोच बनेको हुन सक्छ ।’

सीए पढ्न लागेपछि भने पढाइ के हो भनेर बुझेको अनुपमा बताउँछिन् । पहिलो तह सजिलै भए पनि दोस्रो तहबाट भने चुनौती सुरु भयो । स्कुलमा नपढेको कर, कानुन, अडिट, फाइनान्स जस्ता विषय थिए त्यहाँ । सीएको पढाइ भन्दा पनि इन्टर्नसिपले संघर्ष गर्न अनुपमालाई सिकायो ।

उनले नयाँदिल्लीको मल्टिनेशनल अडिट फर्ममा इन्टर्नसिप गर्ने मौका पाइन् । त्यहाँ असीमित समय काम गर्नुपर्थ्यो । बिहान ९ बजे सुरु भएको काम राति ९/१० बजेसम्म हुन्थ्यो । कहिलेकाहीं त अडिट सक्दा रातिको १/२ बज्थ्यो । त्यसपछि बिहान ६ बजे फेरि क्लास जानुपर्थ्यो । उनी भन्छिन्, ‘संघर्ष के हो मैले त्यहाँ सिकें ।’

उनले सन् २०१८ मा चार्टर्ड एकाउन्टेन्सीको कोर्स पूरा गरिन् । अहिले आफ्नो छुट्टै व्यवसाय पनि छ । साथमा ११ महिनाको नाबालक छोरो हुर्काउँदै उनी फुर्सदको समयमा वित्तीय साक्षरता र कर शिक्षा सम्बन्धी छोटा मिठा भिडियो सामग्री बनाएर लोकप्रिय भएकी छिन् ।

घरमै सुलभ दरमा गुुणस्तरीय कक्षा

उनले इन्डियन बोर्डबाट सीएको कोर्स गरे पनि फाइनल परीक्षा नेपालबाट नै दिएकी थिइन् । सन् २०१८ मा सीए सकेपछि उनले एक वर्षको इन्टर्नसिप काठमाडौंकै सीएससी अडिट फर्ममा गरिन् । एक वर्ष त्यहाँ काम गरेपछि अर्को फर्ममा उनले कामको लागि आवेदन गरेकी थिइन् । तर काम सुरु गरेसँगै कोभिड सुरु भयो ।

‘कोभिडको समयमै ‘हाम्रो एकेडेमी’ सुरु गरेका थियौं । फुर्सद हुँदा हाम्रो एकेडेमीको लागि काम गरिरहेकी थिएँ’ अनुपमाले भनिन्, ‘बिहेपछि जागिर भन्दा पनि आफ्नै काम गरौं भन्ने भएपछि २०२२ को सुरुबाट हाम्रो एकेडेमीको व्यवस्थापकीय नेतृत्व गरिरहेकी छु ।’

नेपालको हरेक ठाउँमा रहेका विद्यार्थीले राम्रो भन्दा राम्रो शिक्षा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले हाम्रो एकेडेमी खुलेको अनुपमा बताउँछिन् । अनुपमा र उनका श्रीमान् दुवै चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीहरूले आफ्नो पकड भएको चार्टर्ड एकाउन्टेन्ट कोर्सको क्लासबाट नै हाम्रो एकेडेमीलाई अगाडि बढाए ।

‘हाम्रो एकेडेमीमा सीएको सबै तहको सम्पूर्ण कोर्सको क्लास उपलब्ध छ’ अनुपमा भन्छिन्, ‘सीएपछि हाम्रो एकेडेमीले प्लस टुको कक्षाका राम्रा शिक्षकहरू छानेर आफ्नै स्टुडियोबाट रेकर्ड गरेर मोबाइल एपबाट सेवा दिंदै आएको छ ।’

१२ कक्षाको गणित, बायोलोजी, फिजिक्स र केमेष्ट्रीको क्लास २ हजार रुपैयाँमै उपलब्ध गराउँदै आएको उनले बताइन् । यस्तै मेडिकल र इन्जिनियरिङको तयारी कक्षाका लागि काठमाडौं नै आएर कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यता अन्त्य गर्दै हाम्रो एकेडेमीको मोबाइल एपमा यो सुविधा उपलब्ध गराएको छ ।

‘कति धेरै विद्यार्थी तयारी कक्षाको लागि घरपरिवार छोडेर काठमाडौंमा भाडामा बस्नुपर्ने बाध्यता छ । हाम्रो उद्देश्य यस्ता तयारी कक्षा घरबाट नै लिन सकिने व्यवस्था गर्ने थियो’ अनुपमाले भनिन्, ‘अहिले २ हजारमै घरमा बसेर इन्जिनियरिङको तयारी कक्षा लिन सकिन्छ ।’

हाम्रो एकेडेमीको ‘इ–लर्निङ’ क्लासको लागि निःशुल्क लगइन गर्न सकिन्छ । त्यसमा डेमो क्लास हेर्न सकिने र विद्यार्थीलाई आवश्यक रहेको र क्लास राम्रो लाग्यो भने त्यसपछि उक्त क्लासको लागि शुल्क लाग्छ । ‘सिइइ’को लागि २ हजारमा ५०० घण्टा भन्दा धेरै क्लास रहेको उनले बताइन् ।

अनुपमाका श्रीमान् मुकुल भट्ट हाम्रो एकेडेमीको डाइरेक्टरको रूपमा आबद्ध छन् । तर, कम्पनीको सम्पूर्ण जिम्मेवारी अनुपमाले सम्हाल्दै आएकी छिन् । मुलुकले भने गुरुकुल सीए नाममा इन्ष्टिच्युट सञ्चालन गर्छन् । बानेश्वर, बागबजार र भरतपुरमा गुरुकुल सीए सञ्चालनमा छ ।

यसरी आयो ‘इ लर्निङ’को सोच

पहिलेदेखि नै नयाँ केही गरेर समाज र देशको लागि योगदान दिनुपर्छ भन्ने सोच अनुपमामा थियो । अनुपमा मात्रै नभएर उनका श्रीमान् मुकुल भट्ट पनि शिक्षा क्षेत्रमा केही नयाँ गर्न भनेपछि उत्साहित हुन्थे ।

त्यसैले चार्टर्ड एकाउन्टेन्टको लागि नेपालमा राम्रो जागिरको सम्भावना हुँदाहुँदै पनि मुकुल आफैं सीए पढाउन इन्ष्टिच्युट चलाइरहेका छन् । मुकुल र अनुपमाको योजनामा नै दूरदराजमा समेत राम्रो र गुणस्तरीय शिक्षा सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले हाम्रो एकेडेमीको स्थापना भएको हो ।

अनुपमा भन्दा मुकुल चार्टर्ड एकाउन्टेन्टका सिनियर विद्यार्थी हुन् । ‘हाम्रो एकेडेमीको सोच २०१५ देखि नै आएको हो । त्यसमा छलफल गर्थ्यौं’ अनुपमा भन्छिन्, ‘भारतमा पेनड्राइभ मार्फत क्लास बिक्ने गर्थ्यो । म आफैंले पनि पेनड्राइभ क्लास गरेकी थिएँ । त्यसले नै ‘इ–लर्निङ’ प्लाटफर्म किन सम्भव छ भन्ने सोच आएको थियो ।’

इन्टर्नसिपको लागि बिहानै अफिस जानुपर्दा अनुपमा पेनड्राइभमा अनलाइन क्लास किनेर पढ्ने गर्थिन् । जसले नेपालमा इ–लर्निङ प्लाटफर्म सम्भव छ भन्ने सोच आएको अनुपमा बताउँछिन् । अनुपमाले नेतृत्व गरेको हाम्रो एकेडेमीले २२ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएको छ । शिक्षकलाई पनि आवश्यकताका आधारमा सम्झौता गर्ने र आफ्नो स्टुडियोमा रेकर्ड गर्ने सुविधा छ । करिब ५० जना शिक्षकले यो संस्थामा जोडिएर पढाइसकेका छन् ।

फेरि उही प्रसंग । अनुपमाले इन्स्टाग्राममा कर र वित्तीय साक्षरताका कन्टेन्ट राखेर चाहिं के पाइन् त ? उनी भन्छिन्, ‘समाजबाट अत्यन्त राम्रो रेस्पोन्स पाएकी छु । धेरैले तपाइँबाट यो जानकारी पाए भन्दा खुसी लाग्छ ।’

विजय पराजुली