+

डिजिटल खल्तीका अगुवा

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
अमितको टिमले ‘एक्सेस टु इन्फर्मेसन’ मा सफलतासँगै ‘एक्सेस टु फाइनान्स’ मा काम गर्ने सोच अगाडि सार्‍यो । त्यही सोचले नै खल्ती डिजिटल वालेट जन्मियो ।
अमित अग्रवाल

‘स्प्यारो एसएमएस’ होस् वा ‘खल्ती डिजिटल वालेट’ हरेक नेपालीसँग परिचित नाम । स्प्यारो एसएमएस ‘एक्सेस टु इन्फर्मेसन’ र खल्ती ‘एक्सेस टु फाइनान्स’ अहिले महत्वपूर्ण प्लाटफर्म बनिसकेका छन् ।

स्प्यारो र खल्तीसँगै जोडिएर आउने महत्वपूर्ण नाम हो– अमित अग्रवाल (३९) । अमित मात्र नभई उनको सफलताका सारथिका रूपमा ध्रुव अधिकारी, अरविन्द शाह र मनिष मोदी पनि सँगै उभिएका छन् ।

जतिबेला– एसएलसीको नतिजा पत्रिका किनेर हेर्नुपर्ने परिस्थिति थियो । वैदेशिक रोजगारीमा जानेहरू सूचना अभावमा दलालबाट ठगिने अवस्थामा एउटा एसएमएसका भरमा उनीहरूले वैदेशिक रोजगारीको श्रम स्वीकृति आएको छ कि छैन भन्ने जानकारी, विद्यार्थीले एसएलसीको नतिजा पनि एउटै एसएमएसबाट थाहा पाउने प्रणाली विकास गरे ।

गाउँको किसानले एउटा एसएमएसबाट नै कालीमाटी तरकारी बजारको तरकारी मूल्यको सूचना पाउने ‘एक्सेस टु इन्फर्मेसन’ को एउटा क्रान्ति नै हो ।

अमितको टिमले एक्सेस टु इन्फर्मेसनमा सफलतासँगै एक्सेस टु फाइनान्समा काम गर्ने सोच अगाडि सार्‍यो । त्यही सोचले नै खल्ती डिजिटल वालेट जन्मियो ।

‘खल्तीले हाम्रो समाजमा धेरै ठूलो प्रभाव पारेको छ’ अमित उत्साहित हुँदै भन्छन्, ‘बजारमा एउटा मात्रै कम्पनी भएको भए त्यसले एकाधिकार सिर्जना गर्ने र ग्राहकले गुणस्तरीय सेवा पाउन सक्दैनन् ।’

नेपाल दूरसञ्चार कम्पनी मात्रै हुँदा लाइन लागेर ११ सय ५० रुपैयाँमा सिमकार्ड लिनुपर्ने बाध्यता र प्रतिस्पर्धी कम्पनी आएपछि सहज उपलब्ध हुनाले त्यसलाई पुष्टि गर्ने अमित बताउँछन् ।

‘खल्तीका ४० लाख प्रयोगकर्तामा एउटा ग्राहकको महिनामा ५ घण्टा मात्रै बचत भयो भने त्यसले देशका लागि मासिक कति घण्टा उत्पादन समय बचत हुन्छ ?’ अमित प्रश्न गर्छन्, ‘देशको आवश्यकता आर्थिक क्रान्ति हो । यो बैंकिङ क्षेत्रबाट मात्रै सम्भव छ । बैंकिङ क्षेत्रमा सबैको संलग्नता छ । बैंकिङ कारोबारमा निक्षेप राख्ने, नगद झिक्ने, सीमित समय थियो भने बैंकहरूले शाखा र जनशक्तिमा ठूलो लगानी गर्नुपर्ने अवस्था थियो ।’

८ घण्टाको बैंकिङ सेवा चौबीसै घण्टा सञ्चालन हुँदा त्यसले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो हुन्छ ? राष्ट्र बैंकले नोट छापेर वितरण गर्न ठूलो खर्च गर्ने, तर एउटा नागरिकले बैंकिङ कारोबार गर्ने स्कुल, कलेज, खानेपानी, बिजुलीको बिल भुक्तानी गर्न खर्च गर्नुपर्ने समयको बचत खल्ती जस्ता एपले गरेको छ, जुन अमित र उनको टिमले हाम्रो समाजलाई दिएको सुविधा हो । डिजिटल भुक्तानीका कारण सडकमा निस्किने मान्छे नै कम भएको अमित बताउँछन् । यसले ट्राफिक व्यवस्थापनमा समेत सहयोग गरेको दाबी अमित गर्छन् ।

वीरगञ्जको एउटा सामान्य मध्यम वर्गीय परिवारमा जन्मिएका अमितले एसएलसी उत्तीर्ण गर्दासम्म काठमाडौं देखेका थिएनन् । उच्च शिक्षा अध्ययन गर्ने आर्थिक अवस्था नभएको र व्यापार गर्नुपर्छ भन्ने मारवाडी परिवारमा जन्मिएका अमित अहिले एक्सेस टु फाइनान्स मार्फत मुलुकको आर्थिक क्रान्तिको लक्ष्य लिएर अगाडि बढेका छन् । उनको पहिलो लक्ष्य डिजिटल ट्रान्सफर्मेसनको पहिलो खुड्किलोमा यतिबेला नेपालले कदम चालेको छ ।

अमितले आफूलाई अहिलेको अवस्थामा उभ्याउन गरेको संघर्षको कथा सानो छैन । स्कुल पढ्दा नै पारिवारिक व्यवसायलाई सघाउँदै ‘स्कुल टपर’ बनेका उनले कमजोर पारिवारिक आर्थिक अवस्थाबीच आफ्नै संघर्ष र मिहिनेतले उच्च शिक्षा हासिल मात्रै गरेका छैनन्, अहिले ४० लाखभन्दा धेरै नेपालीले हरेक दिन प्रयोग गर्ने खल्ती डिजिटल वालेटका एक लिडर समेत बनेका छन् । अमित आफैंमा एउटा परिचित नाम बनिसकेको छ ।

स्कुल सकेपछि वीरगञ्जकै एउटा कलेजमा व्यवस्थापन संकायमा उच्च शिक्षाका लागि भर्ना हुने र चिनेको कुनै उद्योगमा एकाउन्टेन्टको जागिर गरेर परिवार पाल्ने सामान्य लक्ष्य लिएका अमितको अहिलेको सफलता आफैंमा एक अनुपम उदाहरण हो ।

६ छोरी र २ छोरामध्ये कान्छो सन्तान हुन्, अमित । उनले बाल्यकालबाट नै संघर्ष के हो भन्ने बुझे र त्यसको सम्मान गर्दै अगाडि बढे ।

अमित १२ वर्षको हुँदा बुबा बिरामी परे । परिवारले ठूलो आर्थिक समस्या झेल्नुपर्‍यो । ‘बुबा बिरामी हुँदा मभन्दा दुई वर्ष जेठो दाइले ८ कक्षासम्मको पढाइ छाड्नुपर्‍यो’ अमित भन्छन्, ‘परिवारको आर्थिक अवस्थाका कारण बुबाले गर्दै आउनुभएको व्यवसाय दाइले पढाइ छाडेर सम्हाल्दै मलाई पढाउनुभयो । ६ दिदी र दुई दाजुभाइ समेतको ठूलो परिवारमा आम्दानीको स्रोत बुबाले गर्दै आउनुभएको ट्रान्सपोर्टको व्यवसायमा निर्भर थियो ।’

मारवाडी परिवारमा पढाइभन्दा व्यापार–व्यवसायलाई महत्व दिने भएकाले पढ्छु भन्दा परिवारले काम गर्नुपर्छ भन्ने मान्यता थियो ।

 

बुबाले नै ट्रान्सपोर्टको व्यवसाय गर्ने र बुबा बिरामी भएपछि दाइले धानेको व्यवसायमा अमितले पनि सहयोग गर्दा वीरगञ्जका अधिकांश उद्योगमा अमित र उनको परिवारको राम्रो चिनजान भयो । जसले गर्दा काम गर्न समस्या पर्दैन भन्ने विश्वास अमितसँग थियो । स्कुल पढ्दा नै ट्रान्सपोर्टको कामले उनी साइकलमा उद्योगबाट ट्रकका ड्राइभरलाई दिनुपर्ने पेश्की ल्याउने र दिने जस्ता काम गर्थे ।

उनले त्यो बेला नै ५० हजार, १ लाख रुपैयाँ झोलामा बोकेर साइकलमा आउजाउ गर्नुपथ्र्याे । काम गर्दै जाँदा अमितलाई भाग्यले भने सधैं साथ दियो ।

संयोग नै भन्नुपर्छ, एसएलसी दिनुभन्दा केही अगाडि उनका दिदी–भिनाजु काठमाडौं सरे । उनको उत्कृष्ट नतिजाका आधारमा काठमाडौंको एक इन्स्टिच्युटले अमितलाई ‘ब्रिज कोर्र्स’ को अफर दियो । जुन उनको जिन्दगीको ‘टर्निङ प्वाइन्ट’ सावित भयो । अमित ब्रिज कोर्स गर्न आफ्ना दाइलाई मनाउँदै काठमाडौं लागे । काठमाडौं मैतीदेवीमा दिदीसँग बसेर ब्रिज कोर्स गर्न थाले ।

‘वीरगञ्जकै एक साथी र म बिहान ब्रिज कोर्स पढ्ने र दिउँसो काठमाडौंका सबै कलेजमा हिंडेर पुग्ने गर्न थाल्यौं’ अमित सम्झिन्छन्, ‘मलाई वीरगञ्ज गएर व्यवस्थापन पढ्न मन थिएन । काठमाडौंमा नै साइन्स पढ्न स्कलरसिपको खोजीमा नपुगेको कुनै कलेज छैन ।’

अमितले पहिलो डान्स पार्टी दरबारमार्गको चाइना वर्ल्ड रेस्टुरेन्टमा आयोजना गरे । त्यसमा खर्च कटाएर ४ हजार बचेको थियो । त्यसपछि उनले हरेक वर्ष डान्स पार्टी गर्दै गए । उनले इन्जिनियरिङ सक्दै गर्दा पाँच वटा डान्स पार्टी गरे ।

अमितले तीन वटा कलेजमा प्रवेश परीक्षा दिए, सबैमा नाम निस्कियो । ‘काठमाडौंमा पढ्न मसँग पैसा थिएन । घरबाट पैसा पठाउने अवस्था थिएन’ अमित भन्छन्, ‘बस्न र खाने व्यवस्था त दिदी–भिनाजु भएकाले मिलिहाल्यो । तर, कलेजमा बुझाउने पैसा थिएन । गाडी भाडा तिर्ने पैसा पनि नहुँदा फुल स्कलरसिप भएको सीसीआरसी र ह्वाइट हाउस कलेजमा नाम निस्किए पनि मैले हिंडेर नै आउन–जान सकिने ह्वाइट हाउस रोजें ।’

खल्तीका संस्थापकहरू

उनका अनुसार कलेजले फुल स्कलरसिप दिए पनि पहिलो वर्ष १६ हजार ५०० र दोस्रो वर्ष १२ हजार खर्च लाग्ने भयो । त्यही बेला एसएलसीमा स्कुलको उत्कृष्ट नतिजाका आधारमा मारवाडी सेवा समितिले प्लस टु अध्ययनका लागि प्रतिवर्ष १२/१२ हजारका दरले २४ हजार बराबरको स्कलरसिप प्राप्त गरे । त्यसले उनलाई ठूलो राहत दियो ।

सुरुमा दिदी–भिनाजुसँग मैतीदेवी बसे पनि केही समयमै अमितले कुलेश्वर सर्नुपर्‍यो । उनले प्लस टु पढ्दै गर्दा कुलेश्वरमा २/३ ठाउँमा ट्युसन पनि पढाउँदै आफ्नो खर्च जोहो गर्दै गए । उनले उत्कृष्ट नतिजा सहित प्लस टु सिध्याए । तर, विडम्बना त्यसपछिको पढाइ रोक्नुपर्ने अवस्था आयो । कारण– पारिवारिक, आर्थिक अवस्था ।

‘पढ्दा पनि जागिर पाइन्छ नै भन्ने सुनिश्चितता थिएन । दाइको एक्लो जिम्मेवारी रहेको परिवारका लागि सहयोग गर्नुपर्ने जिम्मेवारी पनि थियो’ अमित भन्छन्, ‘मलाई पढ्न मन थियो । तर, जिम्मेवारीले गर्दा पढाइ छाड्नुपर्‍यो । भिनाजुले किराना पसलको व्यवसाय गर्दै आउनुभएको थियो । मेरा लागि भिनाजुले कुलेश्वरमा नै पसल सञ्चालन गरिदिनुभयो । त्यसपछि मेरो दैनिकी त्यही पसल सञ्चालन गर्ने भयो ।’

उनले पसल गर्दा पनि शिक्षाप्रतिको लगाव कम भएको थिएन । पसल गर्दै उनले जाउलाखेलको सेन्ट जेभियर्स बालगृहमा स्कुल जाने बच्चाका लागि हरेक दिन बिहान २ घण्टा स्वयंसेवीका रूपमा पढाउन थाले । बेलुका पसल बन्द गरेर कुलेश्वरमा नै एक ठाउँमा ट्युसन पढाउने कामलाई निरन्तरता दिए । पढ्न छाडेर पसल चलाउन थालेका अमितले पसल छाडेर पढाइलाई नै निरन्तरता दिए ।

‘साथीहरू र कलेजका सरहरूले पढ्न दबाब दिइरहनुभएको थियो । ह्वाइट हाउस कलेज व्यवस्थापनले नै स्नातक ४ वर्षका लागि फुल स्कलरसिप दिन्छौं पढ भन्यो’ अमित भन्छन्, मलाई पनि पढ्न मन थियो । तर, समस्या पैसाको थियो । ४ वर्षको पढाइ खर्च पनि कसैगरी मिलाउँला ।’

अमितले आँट गरे । ‘ट्युसन पढाउने जस्ता विभिन्न काम गरेर पैसा जोहो गरेपछि घरबाट माग्नु नपर्ला तर घरमा योगदान दिन सकिंदैन । दाइले मात्रै कहिलेसम्म परिवार चलाउने भन्ने दोधार थियो’, उनी भावुक हुन्छन् ।

त्यतिबेला आफूले ४ वर्ष पढेर कहाँ पुगिन्छ र ४ वर्ष पसल चलाउँदा कहाँ पुगिन्छ भनेर धेरै सोचेको अमित बताउँछन् ।

‘पढ्न मन भए पनि व्यापारले नै अगाडि बढाउँछ भन्ने सोच मनमा नआएको होइन’ अमित भन्छन्, ‘साथीहरूको दबाबले पढाइलाई निरन्तरता दिने निर्णय गरें ।’

उनलाई ४ वर्ष खानाको मात्रै पैसा तिर्ने गरी कलेजले नै होस्टलको पनि व्यवस्था गरिदियो । त्यसपछि इन्जिनियरिङमा चारवर्षे स्नातक तहको यात्रा सुरु भयो । स्नातक पढ्न ह्वाइट हाउस कलेजको होस्टलमा बस्ने एकमात्र विद्यार्थी हुन् । उक्त कलेजमा स्नातकका लागि होस्टल सुविधा नभए पनि कलेजले विशेष व्यवस्था गरिदिएको अमित खुसीसाथ सुनाउँछन् ।

स्नातकमा ४ वर्षको विश्वविद्यालय शुल्क २४ हजार मात्रै तिरेको र अन्य शुल्क सबै छुट भएको अमित सुनाउँछन् । प्लस टुमा पनि उत्कृष्ट नतिजा ल्याएकाले स्नातक अध्ययन गर्न उनलाई मारवाडी सेवा समितिले पुनः स्कलरसिप पनि दिने भयो । जसले उनको समस्या केही कम भयो । उनले वर्षको ३६ हजारले इन्जिनियरिङ गर्न ४ वर्षको १ लाख ४४ हजार पाए ।

होस्टलमा बस्न थाले पनि उनले नयाँ सोचमा काम गर्न लागे । त्यसबीच उनले १२ को परीक्षा सकिएको दिन डान्स पार्टी आयोजना गर्न सुरु गरे ।

‘ह्वाइट हाउस कलेजको होस्टलमा बस्ने ११० जनाले नै मलाई अमित दाइ भनेर चिन्ने र उनीहरूले १५ सय जना विद्यार्थीलाई चिनेका थिए । अरू कलेजका साथीहरू पनि चिनेका हुनाले त्यसलाई मैले अवसर देखें । नेटवर्क इज योर नेटवर्थ भन्ने कुरा त्यसैबाट सिकें ।’

अमितले पहिलो डान्स पार्टी दरबारमार्गको चाइना वर्ल्ड रेस्टुरेन्टमा आयोजना गरे । त्यसमा खर्च कटाएर ४ हजार बचेको थियो । त्यसपछि उनले हरेक वर्ष डान्स पार्टी गर्दै गए । उनले इन्जिनियरिङ सक्दै गर्दा पाँच वटा डान्स पार्टी गरे ।

‘त्यो डान्स पार्टी यति फेमस भयो कि पुराना विद्यार्थी समेत त्यसमा सहभागी हुन आउने भए’ अमित सम्झिन्छन्, ‘पछिल्लो दुई वटा पार्टी याक एन्ड यती होटलको क्लब प्लाटिनियममा आयोजना गरेको थिएँ । जसमा मैले २ लाख बचत गरें ।’

सन् २००९ मा अमितले इन्जिनियरिङ सिध्याए । त्यतिबेलासम्म पनि उनलाई नेटवर्क इन्जिनियर बन्छु भन्ने थियो । उनले नेटवर्किङका लागि कोर्स समेत गरेका थिए । नेटवर्क इन्जिनियरको जागिर इन्टरनेट सेवा प्रदायकमा राम्रो हुने भएकाले सुबिसुमा २००९ अगस्टमा जागिर पाए ।

मार्च २०२० मा उनीहरूले एक्सेस टु इन्फर्मेसनका लागि स्प्यारो एसएमएस सेवा सुरु गरे । १५ वर्ष यता स्प्यारो एसएमएस निरन्तर चलिरहेको छ । जसमा ५ हजारभन्दा धेरै व्यावसायिक प्रतिष्ठान आबद्ध छन् ।

सपोर्ट इन्जिनियरका रूपमा सुबिसु छिरेका अमितको तलब ८ हजार रुपैयाँ थियो । वीरगञ्जका दुई साथी र अमित मिलेर ६ हजार ५०० रुपैयाँको कोठा भाडामा लिएर बस्न थाले । अन्य खर्च समेत गर्दा उनको भागमा महिनाको ६ हजार खर्च आउँथ्यो भने २ हजार बचत हुन्थ्यो ।

तीन महिना काम गरे पनि प्रविधि आफ्नो लागि होइन भन्ने महसुस भएको अमित बताउँछन् । ‘त्यत्रो समय टेक्नोलोजी पढ्न गयो । राम्रो गरिरहँदा पनि मलाई त्यो लाइफस्टाइल मन परेको थिएन’, अमित भन्छन् ।

त्यसपछि उनको सहकार्य भयो खल्तीका संस्थापक मनिष मोदी सहितको टिमसँग । मनिष जनकपुरका हुन् भने अमित वीरगञ्जका । उनीहरूको भेट भने मारवाडी सेवा समितिको स्कलरसिप कार्यक्रममा भएको र त्यसपछि निरन्तर सम्पर्कमा रहेको अमित बताउँछन् ।

खल्तीका फाउन्डर मनिष, अरविन्द र ध्रुवले भने पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ गरे । उनीहरूले क्याम्पसको होस्टलमा हुँदै स्नातक तेस्रो वर्ष पढ्दा नै ‘जानकी टेक्नोलोजी’ नामक कम्पनी स्थापना गरेका थिए ।

कम्पनीमा सुरुमा मनिष र अरविन्द तथा अर्का एक जना साझेदार थिए । अमित पनि आफ्नो स्नातक अन्तिम वर्षको प्रोजेक्टका लागि कुलेश्वरमा रहेको मनिषको कोठामा पुग्थे ।

मनिष मार्फत उनको चिनजान अरविन्द र धु्रवसँग भयोे । मनिषको कोठाबाट नै जानकी टेक्नोलोजी पनि सञ्चालन हुँदै आएको थियो । अमितले सुबिसुमा काम गर्दै गर्दा मनिष सहितको टिमले जानकी टेक्नोलोजीमा नै सहकार्यको प्रस्ताव गरेपछि अमितले तीन महिनामै सुबिसुको जागिर छाडे । अनि, सुरु भयो जानकी टेक्नोलोजी मार्फत अमित, मनिष, अरविन्द र ध्रुवको सहकार्य ।

मार्च २०२० मा उनीहरूले एक्सेस टु इन्फर्मेसनका लागि स्प्यारो एसएमएस सेवा सुरु गरे । १५ वर्ष यता स्प्यारो एसएमएस निरन्तर चलिरहेको छ । जसमा ५ हजारभन्दा धेरै व्यावसायिक प्रतिष्ठान आबद्ध छन् ।

अनि, सुरु भयो खल्ती

एक्सेस टु इन्फर्मेसनमा काम गरिरहेका अमित र उनको टिमलाई एक्सेस टु फाइनान्सका लागि काम गर्न दुई घटना निर्णायक बन्न पुग्यो ।

खल्तीकै संस्थापकमध्ये ध्रुव पढ्दै गर्दा घरबाट बुबाले पैसा पठाउन गाउँबाट काठमाडौं आउने बसमा चिनेको मान्छे वा बस चालकलाई जिम्मा लगाउनुपर्ने र यहाँ काठमाडौंमा पैसा लिन कलंकीदेखि नयाँ बसपार्कसम्म भौंतारिनुपर्ने अवस्था थियो । यसले पैसा आदान–प्रदान कति गाह्रो छ भनेर उनीहरूलाई पनि झक्झक्यायो ।

खल्तीभन्दा ८ वर्ष पुरानो वालेट भए पनि उनीहरूले एक्सेस टु फाइनान्समा काम गर्नुपर्छ । प्रतिस्पर्धाका लागि पनि उनीहरूले खल्ती सुरु गरे । ‘क्यान इन्फोटेक’ मेलाको टिकट खल्तीबाट काट्ने सम्झौता भइसकेको थियो । उनीहरूले खल्तीका लागि तयारी पूरा नहुँदै १५ दिनमा क्यान इन्फोटेक सुरु हुने भए पछि अर्को समस्या भोग्नुपर्‍यो ।

उनीहरूले होटलमा कोठा बुक गरेर स्लिपिङ ब्याग किनेर २४ घण्टाले नपुगे ३६ घण्टाको दिन हुँदा कस्तो रुटिन बन्छ भनेर योजना बनाए, र १५ दिनसम्म प्राविधिक टिम घर नगएर खल्ती एप लन्च भयो ।

पैसा कारोबारमा आफ्नै साथीले भोगेको समस्या । नेपालमा नै केही गरौं भन्ने अठोट र ‘अर्थतन्त्रको डिजिटल ट्रान्सफर्मेसन कसरी गर्न सकिन्छ ?’ भन्ने सोच । जसले आजको खल्ती डिजिटल वालेटलाई यहाँसम्म ल्याएको हो ।

सुरुका केही वर्ष स्थापित हुन संघर्ष गरेको खल्तीमा अहिले लगभग अधिकांश बैंक तथा वित्तीय संस्था जोडिंदै डिजिटल भुक्तानीको अभिन्न अंग बनेको छ ।

चार साथीले डेढ दशकअघि देखेको सपना विपनामा परिणत हुन अर्को एक दशक लाग्यो । सन् २०१७ मा स्थापना भएको डिजिटल वालेट खल्तीले सात वर्षमा धेरै आरोह–अवरोह पार गरेको छ । सुरुमा त खल्तीलाई पत्याउने एक जना पनि थिएनन् । तर, अहिले यो सफलताको सिंढी उक्लिंदै–उक्लिंदै लाखौंको ‘खल्ती’ मा बस्न सफल भएको छ ।

विजय पराजुली