+

जेन–जीका संगीत आइडल

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
नेपाली संगीतलाई विश्वसँग जोड्ने प्रयत्न । नेपाली संगीतको पुस्ता हस्तान्तरण । डायस्पोरामा नेपाली संगीतको प्रवर्धन । स्पोटिफाई, एप्पल म्युजिक लगायत प्लाटफर्म र नयाँ बजारको खोजी— सज्जनका सांगीतिक योगदान हुन् ।
सज्जनराज वैद्य

न्यूयोर्कको ‘म्यानहटन स्ट्रिट’ उनको कर्मथलो हो । महाशक्ति अमेरिकाको एक मुख्य शहरबाट उनी नेपाली संगीतलाई बाँकी विश्वसँग जोड्ने प्रयत्न गर्दैछन् । उनी त्यहाँ बस्छन्, तर यहाँको लागि गाउँछन् । उनी अर्थात् सज्जनराज वैद्य, (३०) ।

‘जेन जी’ पुस्तामा सम्भवतः सबैभन्दा बढी सुनिने यी तन्नेरी गायक हालै लन्डन र टोरन्टोमा गुञ्जिए । सिम्फोनी जस्तै सुनिने आवाज, जटिल रूपक र संगतिपूर्ण गायन संरचनाले उनी नयाँ पुस्तामा उदीयमान छन् ।

सज्जन माया र विछोड गाउँछन् । जादुमयी आवाजमा रोमान्स पोत्छन् । गीत मार्फत ‘जेन जी’ पुस्ताको हृदय छाम्छन् । तन्नेरीले उनका गीतमा आफ्ना कथा स्पर्श गर्छन् । उनलाई संगीत गाउने र बजाउने कुरा मात्र हैन, यो ‘स्टोरी टेलिङ’ को माध्यम हो ।

यिनै कारण, संगीतका नयाँ प्लाटफर्म स्पोटिफाई, युट्युब र एप्पल म्युजिकमा उनको दबदबा छ । विश्व संगीतका यी नयाँ माध्यममा नेपाली संगीतकर्मीको यो प्रभावशाली उपस्थिति हो । प्रविधि मार्फत घरेलु संगीतलाई ‘ग्लोबल’ तुल्याउन सकिन्छ भन्ने यो उनको लोभलाग्दो दृष्टान्त हो ।

सन् २०२२ मा स्पोटिफाईले सार्वजनिक गरेको सूचीमा सज्जन नेपालभित्र र बाहिर सबैभन्दा धेरै सुनिने नेपाली गायक बने । अर्को वर्ष पनि स्पोटिफाईमा उनको यही दबदबा देखियो । स्पोटिफाईमा उनलाई मासिक सुन्नेको संख्या ३ लाख ४६ हजार छ ।

स्पोटिफाईमा उनको गीत ‘सस्तो मुटु’ लाई १ करोड १८ लाखभन्दा बढी पटक सुनिएको छ । ‘चिट्ठी भित्र’, ‘सुन कान्छी’, ‘उजेली’, ‘धैर्य’ बढी सुनिने गीतको सूचीमा छन् ।

युट्युबमा त आक्रामक उपस्थिति नै छ । ‘सस्तो मुटु’ र ‘चिट्ठी भित्र’लाई ७/७ करोड पटक हेरिएको छ । ‘मुस्कान’ र ‘हतारिंदै बतासिंदै’ लाई ४/४ करोड, ‘हवाईजहाज’लाई ३ करोड ३६ लाख पटक सुनिएको छ । गुगलको पछिल्लो डेटा अनुसार उसको प्लाटफर्ममा सज्जनलाई ५१५ मिलियन (५० करोड) पटक हेरिएको छ ।

हेरिएका र सुनिएका यी संख्या निर्जीव होइनन् । यस पछाडि नेपाली संगीत र आफ्ना प्रिय कलाकारलाई पछ्याउने, आफूलाई सहज माध्यम रोज्नेको सजीव जमात ठूलो संख्यामा छ । आकार फैलँदो छ । क्यासेट र सीडीबाट युट्युबमा सरेको संगीत नयाँ प्लाटफर्ममा विस्तारित हुँदैछ ।

संगीत उपभोग गर्ने माध्यम बदलिंदैछन् । यी माध्यमले कलाकारलाई उनीहरूको सिर्जनाको लागि रोयल्टी पनि दिन्छन् । आयआर्जनको हिसाबले यो लाभदायक पनि हो । यसका लागि नयाँ बजारको खोजीको नेतृत्व सज्जन लगायतका गायकले गरेका छन् ।

भ्युजको आधारमा संगीत राम्रो वा नराम्रो हुन्छ भन्ने कुरामा सज्जन असहमत छन् । ‘हुनत स्पोटिफाई नेपालमा आउन ढिला भयो तर, अमेरिका, अष्टे«लिया, युरोपमा ठूलो कुरा हो’ उनी भन्छन्, ‘नेपालमा भ्युजको आधारमा मात्र राम्रो वा नराम्रो गनिन्छ । स्पोटिफाईमा धेरै बज्यो भन्दैमा राम्रो वा नराम्रो भन्ने हुँदैन । केही नभए पनि आर्टिस्टलाई इनकम हुन्छ ।’

कलाप्रति सम्मान हुनुपर्ने उनको धारणा छ । ‘भ्यालु दिने मात्र होइन, जीवनयापनलाई सजिलो होस् । कलाकार बाँच्न सकून् । त्यसतर्फ यो ठूलो स्टेप हो जस्तो लाग्छ’, उनी भन्छन् ।

संगीतमा मात्र केन्द्रित भएकाले यी प्लाटफर्म कलाकारलाई सजिलो भएको सज्जनको बुझाइ छ । संगीत मात्र होइन, फिल्म र पेन्टिङ पनि सब्सक्रिप्सनमै चल्ने भएकाले पैसा तिरेर सुन्ने र हेर्ने बानीको विकास गर्नुपर्ने उनको आग्रह छ ।

‘अहिलेसम्म आर्टिस्टलाई रेस्पेक्ट मात्र दिइन्छ । यो राम्रो कुरा हो । तर पनि रेस्पेक्टमा मात्र जिन्दगी बाँचिंदैन । अवश्य पनि पैसा धेरै महत्वपूर्ण हो । अन्ततः त्यो कल्चर चाहिं आउँछ’ उनको भनाइ छ ।

डायस्पोरामा पुस्ता हस्तान्तरण

सन् २०१२ मा अमेरिका पुगेका सज्जन पछिल्लो समय संगीतसँगै सफ्टवेयर इन्जिनियरको रूपमा कार्यरत छन् । संगीत बाहेक उनको रुचि प्रविधिमा देखिन्छ । न्युयोर्कमा बसेर संगीत सिर्जना गर्छन्, विश्वव्यापी कन्सर्टको योजना बनाउँछन् र नेपालसँग आफूलाई ‘कनेक्ट’ गर्छन् ।

‘म अमेरिकामा बसे पनि नेपालसँग उत्तिकै कनेक्ट छु । अहिले पनि धेरै गीत नेपालीमै लेख्छु’ उनी भन्छन् । अंग्रेजीमा एउटा शब्द छ– ‘लङ्गिङ’ । विदेश बस्नेमा हुने देशप्रेम र संस्कृतिप्रतिको उत्कट अभिरुचि र चाहना यो शब्दले दर्शाउँछ । सज्जनका गीतमा यो ‘लङ्गिङ’ स्पष्ट देखिन्छ ।

उनको सांगीतिक उडान चाहिं अमेरिका पुगेदेखि भएको हो । उनले त्यहाँबाटै नेपाली संगीत लेख्न थाले । अमेरिकामा बसे पनि नेपाल कनेक्सनको किस्सा छ । भएछ के भने उनी न्युयोर्कमा नजिकको नाता पर्ने व्यक्तिको स्वभाव र शैलीबाट प्रेरित भए ।

‘त्यहाँ बसे पनि उहाँ नियमित घरमा कुराकानी गर्ने, बोलीचाली सबै नेपालीमा हुन्थ्यो’ उनले सम्झिए, ‘नेपालमा बसेको बेला पनि मेरो नेपाली त्यति राम्रो थिएन । अमेरिकामा हुँदा नेपाली भाषामा आफ्नो पहिचान देखें । नेपालमा छँदा पनि १९७४ एडी सुनेकै हो, बब मार्ली र ब्रायन एडम्स मात्र होइन नि !’

उनलाई नेपालमा बसेर र ढाकाटोपी लगाएर मात्र नेपाली भइन्छ भन्ने भाष्यप्रति गुनासो छ । ‘तर त्यो होइन । म हुर्किएको नेपालमै हो । एउटा कनेक्सन जहिले पनि रह्यो । लेख्दा नेपालीमै लेखिन्छ’, उनी भन्छन् ।
नेपाली डायस्पोराको आकार फैलने क्रममा छ । डायस्पोरामा दोस्रो हुँदै तेस्रो पुस्ताको उदय भइसक्यो । यो पुस्ता नेपाली संगीत, माटो र परिवेशसँग जोडिन चाहन्छ । पछिल्लो समय त्यहाँ हुने लगातारका सांगीतिक टूर यसका उदाहरण हुन् । ‘नेपाल टूर’भित्रै खुम्चिनुपर्ने बाध्यता कम्तीमा यतिबेला कलाकारलाई छैन ।

उदीयमान संगीतकर्मीको रूपमा सज्जनले डायस्पोराको पछिल्लो पुस्तालाई नेपाली संगीतसँग जोड्ने काम गरिरहेका छन् । प्रविधिमा अभ्यस्त यो पुस्ता जुनसुकै भूगोलमा हुने सज्जनको कन्सर्टमा पुग्छ, उनका गीतमा रमाउँछ र आफूलाई महसुस गर्छ । संगीत उपभोक्ता र संगीत उत्पादक बीचको यो ‘इकोसिस्टम’ डायस्पोरामा देखिन थालेको छ ।

संगीत मार्फत ‘स्टोरी टेलिङ’

सुस्ताउँदै गएको पप संगीतलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेका सज्जन शान्त र सहज लाग्छन् । कुनै प्रचार र तामझाम विना पनि राम्रा गीत–संगीतलाई दर्शक तथा श्रोतामाझ पु¥याउन सकिन्छ भन्ने उदाहरण हुन् उनी ।

लोभलाग्दो फ्यान फलोइङ, कलिलै उमेरमा देश–देशावरमा छुट्टै पहिचान उनका उपलब्धि हुन् । यो उमेरमा यो प्रसिद्धि कमाउने नेपाली सेलिबे्रटीको संख्या नेपालमा न्यून छ ।

सज्जनले जे सिके घरमै सिके । संगीतमैत्री घर र परिवारको आनीबानीले उनलाई संगीतप्रति अभ्यस्त हुन प्रेरित ग¥यो । संगीतकार नभए पनि संगीतप्रेमी परिवारको छत्र–छायाँमा उनी हुर्किए । आमा कर्णदासको फ्यान, बुवा बब मार्लीका प्रशंसक र दाइ लिंकिन पार्कका श्रोता । सबैलाई संगीतले जोडेको थियो ।

‘यो कुराले मलाई संगीतमा अघि बढ्न सजिलो भयो । अहिलेसम्म विस्तारै राम्रो गर्न खोजिराख्या छु’ बाल्यकालदेखि आफूमा कसरी संगीतप्रति लगाव आयो भन्नेबारे उनी खुले ।

उनको ब्लकबस्टर गीत ‘चिट्ठी भित्र’ लाई युट्युब र स्पोटिफाईमा करोडौं पटक सुनिएको छ । रोमान्टिक स्वभावका सज्जनले यो गीत मार्फत ‘ट्रेडिसनल रोमान्स’ पस्किएका छन् । ‘म आफैंमा रोमान्टिक मान्छे हुँ । पहिला चिट्ठी लेखिन्थ्यो, आजकल लेखिन्न । आजकल म्यासेज हुन्छ, च्याट हुन्छ’ यो गीतको अवधारणाबारे उनी खुले ।

‘धेरैले नेपालमा यसबारे कुरा गरेका छैनन् । यसबारे कुरा गर्न कथा सोच्यौं । यो गीत पनि मायाको बारेमा हो । यो गीतलाई एलजीबीटीआईक्यू समुदायले पनि रुचाएको थियो’ भन्छन्, ‘उहाँहरू संगीतप्रति कनेक्ट हुनु नै हाम्रो लागि ठूलो कुरा हो ।’

‘एक अपराह्न लुप गर्दै बसेको थिएँ । त्यत्तिकैमा जन्मियो चिट्ठीभित्र । विस्तारै शब्दहरू जोड्दै यसलाई कसरी राम्रो बनाउनेमा मात्र ध्यान थियो’ भन्छन्, ‘रोमान्टिक कुराबारे मात्र गाउँछु भन्ने मात्र थियो, यस्तो उस्तो भन्ने कुरा थिएन ।’ यो गीतलाई यतिविधि रुचाइयो कि उनी यसप्रति गर्व गर्छन् ।

‘हवाईजहाजमा’ले उनलाई धेरै दर्शकमाझ फैलायो । ‘यो क्षण स्पेसल थियो । आफूले गीत लेख्दा भिजुअलको लागि पनि काम गरेका थियौं । आफूले लेखेको गीतमा भिडियो लेखिनु नै ठूलो कुरा भइसकेको थियो । त्यसलाई अर्थ दिएर आफ्नो बनाउनु भनेको मैले पनि अरूसँग कनेक्ट गर्न सक्दो रहेछु भनेर फिलिंग आयो, त्यो स्पेसल थियो’ यो गीतको भिडियो निर्माणबारे उनले भने ।

‘हतारिंदै बतासिंदै’ अर्को सुपरहिट गीत हो । यसको भिडियोको रेस्पोन्स गज्जबको छ । उनले मिल्ने साथीको कथामा यो गीत बनाएका रहेछन् । उनी सुरुदेखि नै अर्थपूर्ण भिडियो बनाउन चाहन्थे । यत्तिकैमा लैंगिक अल्पसंख्यक समुदाय एलजीबीटीआईक्यूबारे भिडियो बनाउने सोच आयो ।

‘धेरैले नेपालमा यसबारे कुरा गरेका छैनन् । यसबारे कुरा गर्न कथा सोच्यौं । यो गीत पनि मायाको बारेमा हो । यो गीतलाई एलजीबीटीआईक्यू समुदायले पनि रुचाएको थियो’ भन्छन्, ‘उहाँहरू संगीतप्रति कनेक्ट हुनु नै हाम्रो लागि ठूलो कुरा हो ।’

तर, सज्जन आफैंले गाएका गीतमध्ये ‘सुकुम्बासी’ र ‘लुकामारी’ मनपर्ने बताउँछन् । शब्द लेख्दा र रचनाको क्रममा ध्वनि सिर्जना गर्दा आफूलाई रमाइलो लाग्ने उनको अनुभव छ ।

‘शब्दहरू लेख्दा, प्रोडक्सनको क्रममा नयाँ साउण्ड हालिन्छ । सारंगी भयो, अर्को इलेक्ट्रोनिक एलिमेन्ट हुन्छ । यी दुइटा सबैभन्दा रमाइलो । आफूले महसुस गरेर गरिने कुरा हो’, संगीत रचनाबारे उनी खुले ।

गीत घरमै सिर्जना गर्छन् । ‘प्रविधिको विकास यति भयो कि, घरमै गर्न मिल्छ । घरमा बसेर रेकर्ड गर्न सकिन्छ । जसरी भए पनि गीत बनाइन्छ’, उनी भन्छन् । गीत सिर्जनापूर्व उनी कथा लेख्छन् । कथामा फोकस भएपछि त्यही मनोविज्ञान वरपर रहेर गीत बुन्छन् ।

‘यसको कथा यो हो, फोकस यो हो भनेपछि यहाँबाट यसको कथा लेख्न सुरु हुन्छ । यसको आइडिया बनेपछि सबैजना भिडियोमा काम गर्छन्, म म्युजिकमा काम गर्छु र घरमै रेकर्ड गर्छौं’– उनी सुनिए । रेकर्ड र प्रोडक्सनका लागि स्टुडियोमा निर्भर हुने अघिल्लो पुस्ताका लागि यो अनुकरणीय बन्न सक्छ ।

उनको ब्यान्ड छ । भिन्न देश र शहरमा बसेर प्रविधि मार्फत जोडिएर उनीहरूले काम गरिरहेका छन् । जस्तो नुर्बु न्युयोर्क बस्छन् । सौम्य नेदरल्याण्ड, सज्जन र कैलाश कोलोराडो र सरिफ काठमाडौंमा । यी पाँच जनाले एकसाथ भेटेर कहिल्यै गीतको काम सुरु गरेका छैनन् । भिडियो कल र च्याटिङ मार्फत जोडिन्छन् । भर्चुअल रूपमा काम गर्न सकिन्छ भन्ने उदाहरण हो, यो ।

संगीत सिर्जनामा कसरी सज्जन प्रेरित हुन्छन् ? ‘कहिलेकाहीं मान्छे, कहिलेकाहीं ठाउँ, कहिलेकाहीं फिल्म । कहिलेकाहीं मभन्दा १५ वर्ष पुरानो मान्छे र उसले गरेका कामबाट इन्स्पायर हुन्छु’ भन्छन्, ‘आफूखुसी बनाउने संगीत सुनेर आफूलाई मनपर्ने गीत बनाउन चाहन्छु ।’

‘केवल संगीतको फ्यान’

पेशाले सफ्टवेयर इन्जिनियर भए पनि उनी आफूलाई सुरुमा संगीतकर्मीको रूपमा चिनाउन चाहन्छन् । उनी हरेक जनरामा काम गर्न रुचि राख्छन् । ‘रोमान्स मात्र नभएर अरू पनि गर्न मन छ । आशा गर्छु, उदास गीतहरू लेखियो, हुनसक्छ खुसीका गीत पनि लेखिन्छ कि’– उनी सुनिए ।

उनीसँग जीवनको उद्देश्य ठ्याक्कै यही भन्ने छैन । हिजोभन्दा आफूलाई सुधार गर्ने उनको लक्ष्य छ । संगीतमा पनि उनी यही दार्शनिकता खोजिरहेका छन् । ‘घर बनाउँदा सात तला, पाँच तला, चार तलामा त रोकिन्छ नि ! तला छैन भन्दैमा घर छैन भन्न त मिल्दैन नि ! सजाउने आफूले हो । बनाउने आफूले । फर्किएर जाने त्यहीं नै हो’, उनको तर्क छ ।

तर, यहाँनेर के कुरालाई बेटर मान्ने ? उनको भनाइमा केही नयाँ गीत, ठूलो भेन्युमा गीत गाउनु र आफूले माया गर्ने मान्छेमाझ गीत गुन्गुनाउनु उनको लागि ‘बेटर’ अन्तर्गत पर्छ ।

सज्जन फेसबुक, इन्स्टाग्राम र युट्युबबाट मानिसलाई सचेत तुल्याउनु महत्वपूर्ण कुरा हुने बताउँछन् । ‘हामीले यसतर्फ धेरै काम गर्नुपर्छ । यसतर्फ प्रयत्न गर्न जरूरी छ’, उनले भने ।

‘म सधैं आफूले माया गर्ने मान्छेसँग गीत गाउन र बजाउन चाहन्छु । किनभने म संगीतको माध्यमबाट उनीहरूसँग जोडिन सक्छु’ उनी आशावादी देखिन्छन्, ‘कहिलेकाहीं म बृहत् रूपमा कन्सर्ट गर्न चाहन्छु । त्योभन्दा पनि महत्वपूर्ण कुरा संगीत मार्फत कथा भन्न चाहन्छु ।’

उनी ठूला कन्सर्ट मात्र नभएर साना कन्सर्टमा दर्शकसँग अन्तरक्रिया गर्दै गीत गाउन चाहन्छन् । ‘म फ्यानसँग अझै धेरै रूपमा जोडिन सकूँ । यहाँसम्म म आइपुग्नु भनेको मलाई सुनेर नै हो’ भन्छन्, ‘मलाई मान्छेको कथा सुनेर साना कन्सर्टमा पनि गीत गाउन मन छ । म उनीहरूसँग जोडिन सकूँ । किनभने मान्छेले गीतमा आफ्नो कथा सुन्न चाहन्छन् ।’

सज्जन सफलताको निश्चित सूत्र नभएको तर मिहिनेत गर्ने कुरालाई निरन्तरता दिनुपर्ने मत राख्छन् । ‘मान्छेलाई सुझाव दिने अधिकार म राख्दिनँ । यो गर र त्यो गर पनि भनेर सक्दिनँ । म पनि संघर्ष गरिरहेको छु र सिकिरहेको छु’ भन्छन्, ‘मिहिनेत गर्न छाड्नुहुन्न ।’

उनले चर्चित संगीतकर्मी स्किरलेक्सको एक उद्धरण सम्झिए । उनले एक अन्तर्वार्तामा भनेका थिए– ‘सफलता भनेको पछ्याउने कुरा मात्र होइन, आफूतिर आकर्षित गर्न सक्ने पनि हुनुपर्छ । मेरो सुझाव हुन्छ– आफूले चाहेको कुरा गर । त्यसलाई पछ्याऊ र राम्रोसँग गर्ने प्रयास गर ।’

सज्जन फेसबुक, इन्स्टाग्राम र युट्युबबाट मानिसलाई सचेत तुल्याउनु महत्वपूर्ण कुरा हुने बताउँछन् । ‘हामीले यसतर्फ धेरै काम गर्नुपर्छ । यसतर्फ प्रयत्न गर्न जरूरी छ’, उनले भने ।

सज्जनको सांगीतिक पहिचान के हो ? हालैको एक अन्तर्वार्तामा उनले भनेका छन्– म केवल संगीतको फ्यान हुँ जो गीत बजाउन र गाउन चाहन्छु । साथै आफूलाई मनपर्ने गीत लेख्न चाहन्छु ।’

नेपाली संगीतलाई विश्वसँग जोड्ने प्रयत्न । नेपाली संगीतको पुस्ता हस्तान्तरण । डायस्पोरामा नेपाली संगीतको प्रवर्धन । स्पोटिफाई, एप्पल म्युजिक लगायत प्लाटफर्म र नयाँ बजारको खोजी सज्जनका सांगीतिक योगदान हुन् । अनलाइनखबरले थालनी गरेको चालीस वर्षभन्दा मुनिका चालीस युवाको सूचीभित्र सज्जनराजको छनोटको मुख्य कारण पनि यही हो ।

विष्णु शर्मा