+

मनसुनी पर्यटनका पथप्रदर्शक

पूरा सूची
चालीस मुनिका चालीस- २०८१
कुनैबेला गालीको रूपमा बुझिने घुमन्ते शब्दको अहिले अर्थ नै बदलिन पुगेको छ । घुम्नु, हेर्नु र देख्नुले जीवन र समाजमा पार्ने सकारात्मक असर बुझ्दै गएपछि घुम्न रुचाउनेहरूको एउटा समूह ‘घुमन्ते’ अहिले चर्चित भएको छ । यसको मियोमा छन्, कञ्चन राई ।
कञ्चन राई 'घुमन्ते'

यो मनसुनमा घुमन्ते टिम मकालु वरुण पुग्ने योजनामा थियो । दुई, तीन वर्षदेखिको योजना बल्लबल्ल यो वर्ष जुर्दै थियो । तर, खै के मिलेन ! अन्तिममा फेरि ‘जान बाँकी ठाउँ’ कै सूचीमा अड्कियो । नेपालका कुनाकन्दरा घुम्दै हिंड्ने घुमन्तेले यसरी नै भित्ताभरि सूची बनाएको छ– जान बाँकी र गइसकेका ठाउँ ।

मकालु वरुण जान नपाए पनि घुमन्ते टोली केही दिनमै कास्की हिंड्दैछ । यसपालि माछापुच्छ्रे हिमालको आधारशिविरसम्म घुमन्तेले आफ्नो गन्तव्य बनाएको छ । ‘पहिले गइएको थिएन । यसपालि चाहिं माछापुच्छ्रेको रियल बेसक्याम्पसम्म पुगौं भन्नेछ’, घुमन्ते समूहका कञ्चन राईले भने ।

घुमन्ते घुम्न रुचाउनेहरूको एउटा समूह हो । यसका मियोमा छन्, कञ्चन राई (३७) । उनैले सन् २०१३ तिर बनाएको घुमन्तेले अहिले धेरै नेपालीको घुम्ने आनीबानी मात्रै फेरिदिएको छैन, लुकेर रहेका प्राकृतिक छटाहरूलाई पनि प्रवर्द्धन गरिरहेको छ । घुमन्ते समूहमा ५ जना छन् । तर, कहिलेकाहीं ८/९ जनासम्म पुग्ने राई सुनाउँछन् ।

कुनैबेला रहरले जन्माएको ‘घुमन्ते’ अहिले धेरै युवाको आकर्षण भइसकेको छ । धेरै ‘ट्राभल कन्टेन क्रियटर’ले उनलाई पछ्याइरहेका छन् । वास्तवमा ‘घुमन्ते’ शब्द कञ्चनले आफ्नो ब्लगिङ वेबसाइटको नाम खोज्दाखोज्दै राखेको नाम हो ।

‘वेब डिजाइनिङमा काम गर्ने भएकाले सबैले सम्झिने नाम खोजिरहेको थिएँ । घुमफिर, घुमघाम पनि खोजें । तर, सबै बुक भइसकेको रै’छ । पछि तीन–चार दिन लगाएर घुमन्ते जुराएँ’ कञ्चन भन्छन्, ‘कुनैबेला घुमन्ते एउटा कामै नलाग्ने गाली गर्ने शब्द थियो । अहिले यसको अर्थ नै बदल्न सफल भएको छु जस्तो लागेको छ । यसमा चाहिं घमण्ड लाग्छ ।’

मनसुन महिनामा घुम्ने चलन आफूहरूले चलाएको दाबी कञ्चनको छ । बर्खामासमा पानी पर्ने, पहाडी भेगमा जुका लाग्ने भएकाले पनि धेरैले यो याममा घुम्न मन पराउँदैनन् । घुमन्तेले मनसुनमा पनि घुम्ने चलन बढाउन अभियान नै चलाइरहेको छ ।

‘मनसुनलाई ‘अफसिजन’ भन्छन् । तर, यहीबेला मौसम एकदमै राम्रो हुन्छ । मनसुनमा फुल्ने फूल, कुहिरो र हावापानी सबै एकदमै राम्रो हुन्छ’ कञ्चन भन्छन्, ‘हामीभन्दा पहिले मनसुनमा घुम्ने भन्ने चलनै थिएन जस्तो लाग्छ । अहिले आएर हेर्दा मनसुनमा घुम्ने, भिडियो बनाउने एउटा ट्रेन्ड नै बसेको हो भन्ने लागेको छ ।’

मनसुनमै मकालु वरुण गएर त्यहाँको सुन्दरता नियाल्ने समय नमिलेकै कारण दुई/तीन वर्षदेखि आफूहरू ‘पेन्डिङ’मा बसेको कञ्चन बताउँछन् । ‘अरू समयमा गएर त्यसको भ्यालु नै हुँदैन । हामी पुगेको ठाउँको सर्वाधिक सुन्दर दृश्य आफू पनि हेर्ने र अरूलाई पनि देखाउने भन्ने हो’, उनी भन्छन् ।

घुमन्तेले २०१८ मा नेपाल पर्यटन बोर्ड र एनआरएनएले गरेको ‘टुरिजम प्रोमोसन च्यालेन्ज’ पुरस्कार पनि जितेको थियो ।

०००

त्यतिबेला त खोटाङको जाल्पा क्षेत्रमै हिउँ पर्थ्यो । काठमाडौंमै हुर्के–बढेका कञ्चन राई हिउँदे बिदा भयो कि गाउँ (जाल्पा) पुगिहाल्थे । त्यहाँ मन अघाउञ्जेल हिउँ खेलेर फर्किन्थे । ‘त्यतिबेला हिउँ पर्दा पहाडहरू कति सुन्दर देखिन्थे, अहिले त त्यो पनि पर्दैन’, कञ्चन भन्छन् ।

संयोग के भने घुमन्ते टोली जुन ग्रामीण भेगमा पुग्छ, त्यहाँको पर्यटन प्रचार–प्रसारले फड्को मारेको छ । ‘हामी पुगेको ठाउँ चम्किहाल्छ भन्ने होइन । तर, त्यहाँको राम्रो कुरा केही बाहिर आउन् भन्ने हिसाबले हामी काम गर्छौं’, कञ्चन भन्छन् ।

काठमाडौंदेखि खोटाङ गाउँ पुग्न अग्ला लेक काटेर जानुपर्थ्यो । तिनै लेक उक्लिंदा–उक्लिंदै र ओर्लिंदा–ओर्लिंदै कञ्चन पहाडसँगको प्रेममा परे । उनी भन्छन्, ‘ती दिनहरूलाई मेरो जीवनको पहिलो यात्रा भन्न चाहन्छु । सायद त्यतिबेला नहिंडेको भए, घुम्दाको मज्जा मलाई थाहा नहुन सक्थ्यो ।’

तर, कञ्चनले योजनाबद्ध रूपमा घुम्न भने सन् २०१३ तिरबाट थालेका हुन् । वेब डिजाइनिङको कामबाट बचेको समय साथीभाइसँग मिलेर डुल्दाडुल्दै आफूलाई त्यही बानी परेको उनी सुनाउँछन् । सुरुमा त उनी पौडी खेल्ने राम्रो खोलाको खोजीमा आफ्नो यात्रा सुरु गरेको बताउँछन् ।

‘सबै घुम्न मन पराउने साथीभाइ जम्मा भएपछि त्यही अनुसार प्लान बनाएर काम गर्न थाल्यौं । यो हप्ता कहाँ जाने, अर्को हप्ता कहाँ जाने भनेर प्लान बन्न थाल्यो’ कञ्चन भन्छन्, ‘सातदोबाटोमा स्वीमिङ खेल्न जान्थ्यौं । त्यहाँ वाक्क भएर अब नुहाउने नयाँ ठाउँ खोला खोज्दाखोज्दै घुम्न नै बानी पर्‍यो ।’

औपचारिक रूपमा घुम्न थालेको यो एक दशकमा घुमन्ते आफू मात्रै देश–देशाटन गरेन, अक्षरबाट होस् या दृश्यबाट देश–देशावरका थुप्रैलाई पनि घुमाइरहेको छ । सन् २०१५ बाट घुमन्तेले सामाजिक सञ्जालमा पनि आफूहरू घुमेको ठाउँहरू देखाउन थालेका थिए ।

संयोग के भने घुमन्ते टोली जुन ग्रामीण भेगमा पुग्छ, त्यहाँको पर्यटन प्रचार–प्रसारले फड्को मारेको छ । ‘हामी पुगेको ठाउँ चम्किहाल्छ भन्ने होइन । तर, त्यहाँको राम्रो कुरा केही बाहिर आउन् भन्ने हिसाबले हामी काम गर्छौं’, कञ्चन भन्छन् ।

कास्कीको कोरी, कोर्चाङ, खुमै डाँडालगायत ठाउँ घुमन्ते आइसकेपछि नै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको त्यहाँका जनप्रतिनिधि पनि विश्वास गर्छन् । घुमन्तेले आफू घुम्ने मात्रै होइन, त्यसलाई फोटो/भिडियोबाट राम्रो प्रस्तुतिका साथ देखाउँदा ठाउँको पनि प्रचारप्रसार हुने उनीहरू बताउँछन् ।

‘उहाँहरूले गरिराखेको काम एकदमै राम्रो छ । हाम्रै पालिकामा आएर उहाँहरूले भिडियो बनाएपछि पर्यटक धान्नै नसक्ने गरी आए’ माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङ भन्छन्, ‘उहाँहरू जस्तो टिमसँग सहकार्य गरेर हामीले आ–आफ्नो ठाउँको पर्यटन प्रवद्र्धन राम्रोसँग गर्न सक्छौं भन्ने पनि देखाएको छ ।’

कञ्चनको घुमन्ते टोली केही समय घुमिसकेपछि त्यसलाई प्रविधिको उच्च प्रयोग गरेर बाहिर ल्याउँछ । ‘घुमन्ते’ आफैंमा एउटा ब्लग वेबसाइटको नाम हो, जो उनले रोजे । त्यही नामलाई घुम्न रुचाउनेहरूको बीचमा ब्रान्डका रूपमा स्थापित गरेका छन् ।

‘घुम्नका लागि पनि समय हुन्छ । हामी घुमिसकेर पनि टिमले प्रोडक्सन, पोस्ट–प्रोडक्सनमा बढी समय लगाउँछौं, त्यही भएर कुनै कुनै ठाउँको भिडियो आउन ढिलो हुन्छ’ कञ्चन भन्छन्, ‘देखेको चिज देखाउन पनि जान्नुपर्छ भन्ने हो ।’

घुमन्तेको टिम यो याममा कास्की जाँदैछ । कास्कीको माछापुच्छ्रे बेसक्याम्पसम्म पुग्ने योजना छ । कञ्चनलाई व्यक्तिगत रूपमा पनि कास्की प्रिय ठाउँ हो । अन्तिम पटक पनि उनको टोली पोखराबाट ‘रोयल ट्रेक’–लमजुङका गुरुङ गाउँ हुँदै मनाङ पुगेर फर्किएको थियो ।

घुम्नु त कञ्चनको रहर, सपना र एकप्रकारले बानी भइसकेको थियो । रोजगारकै सिलसिलामा पाँच वर्ष थाइल्यान्ड पुगे पनि त्यहाँको रमझममा आफूलाई भुलाउन सकेनन् । सन् २०१९ मा नेपाल फर्किएर पूर्णकालीन घुमन्ते बने ।

‘त्यहाँ काम गर्दा पनि छुट्टी लिंदै नेपाल घुम्न आइरहन्थें । म उता (थाइल्यान्ड) भएको बेला पनि घुमन्ते अपटेड थियो’ कञ्चन भन्छन्, ‘पछि सबै छोडेर नेपाल फर्किएँ र फुलटाइमर यसैमा लागें ।’

०००

केही समयअघि घुमन्तेले सामाजिक सञ्जालमा एउटा पोस्ट राख्दै गुराँस लगायत फूलहरू टिपेर भिडियो नबनाउन आग्रह गरेको थियो । रहरका लागि एक/दुई जनाले फूल टिप्दाटिप्दै पर्यावरणीय सौन्दर्यमै असर गर्ने भएकाले आफूहरूले जंगली फूल टिप्ने कामलाई निरुत्साहन गर्न चाहेको कञ्चन बताउँछन् ।

‘गुराँस त एकपटक टिपे अर्को वर्ष फुल्ला, बोटहरू सारेर अर्को ठाउँमा विस्तार गर्न सकिएला ! तर, कति धेरै जंगली फूलहरू छन्, जो मानवीय गतिविधिले हराउँदै गइरहेका छन्’ कञ्चन सुझाव दिन्छन्, ‘ती फूलहरूलाई नछोइकनै बचाएर राख्ने हो भने अर्को पटक जाने वा अर्को पुस्ताले पनि देख्छन् ।’

पछिल्लो समय सामाजिक सञ्जालमा फोटो/भिडियो राख्नकै लागि घुम्ने प्रचलन बढेकोमा भने कञ्चनको चित्तदुखाइ छ । त्यसले गर्दा स्थानीयमा पर्यटनप्रति सकारात्मक भन्दा बढी नकारात्मकता बढिरहेको पनि उनी सुनाउँछन् ।

‘हामी नेपालीहरू वास्तवमा घुम्न नै जान्दैनौं जस्तो लाग्छ । जेका लागि घुम्न निस्केको हो, हामी अधिकांशले त्यसको मज्जा नै लिन जानेका छैनौं । यसले न आफूलाई यात्राको मज्जा दिन्छ न फ्रेस नै भइन्छ’ कञ्चन भन्छन्, ‘गाउँगाउँ पुगेर पनि शहरकै जस्तो लाइफस्टाइल खोजियो भने त जहिले पनि भातै खोजे जस्तो भइहाल्यो नि !’

उनी अहिलेसम्म करिब ६० जिल्ला घुमिसकेका छन् । ‘जिल्ला त सबै–सबै नै टेकिसकियो होला ! तर, टेकेर मात्रै पुगेको भन्न मिल्दैन’ उनी भन्छन्, ‘एकदिन, एकछिन बिसाएर एउटा बजार चिने जस्तो होइन घुम्नु ।’

कञ्चन आफ्नो पहिलो रोजाइमा नेपालका ग्रामीण भेगलाई राख्छन् । शहरको कोलाहलभन्दा धेरै–धेरै परको ठाउँमा उनी पर्यटक भएर होइन, बटुवा भएर पुग्न चाहन्छन् । उनी भन्छन्, ‘बटुवाहरू आफ्नो बाटो आफैं पहिल्याउँछन् । स्थानीयहरू पनि उनीहरूसँग मज्जाले आफ्नो कुरा राख्न सक्छन् ।’

कञ्चन दोहोर्‍याएर गएका ठाउँ कमै छन् । आफूलाई धेरै मन परेको ठाउँमा दोहोर्‍याएर जाँदा पहिलो पटक महसुुस गरेको आनन्द नहराओस् भन्नेमा उनी सतर्क देखिन्छन् ।

‘एकपटक घुमिसकेको ठाउँ दोस्रो पटक जान मन लाग्दैन । एकपटक महसुस गरेको आनन्द दोस्रोपटक नभेटिन पनि सक्छ । सगरमाथाको कालापत्थरमा पुग्दा अर्कै अनुभव गरें । खै के भयो ? यत्तिकै आँसु झरेको थियो । त्यहाँ जान्न अब’ कञ्चन भन्छन्, ‘गोक्यो, हुम्लाको लिमी भ्याली लगायत ठाउँ पनि एकदमै मन पर्‍यो ।’

नेपालका हरेक ठाउँ घुम्न लायक भए पनि सरकारले त्यसलाई प्रवद्र्धन गर्न नसकेको कञ्चनको बुझाइ छ । तत्काल नतिजा खोज्दा भएका पर्यटकीय गन्तव्य पनि ओझेलमा परेको उनी बताउँछन् । पछिल्लो समय उनी स्थानीय सरकारहरूसँग पनि सहकार्य गर्दै नेपालका विभिन्न ग्रामीण भेगहरूको प्रचार–प्रसारमा लागेका छन् ।

‘घुमन्ते जस्ता टोलीले गरिरहेको काममा स्थानीय तहले पनि साथ दिन सक्यो भने हामीले पर्यटन प्रवद्र्धनमा धेरै टाउको दुखाउनुपर्दैन भन्ने महसुस भएको छ, उहाँहरूलाई पछ्याउने ठूलो जमात भएकाले त्यसलाई हामीले अवसरमा बदल्न सक्नुपर्छ’, कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङ भन्छन् ।

विकास रोकामगर