+
+

भारतीय विदेश सचिव आज नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते ७:४९

२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् ।

नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।

भारतस्थित विदेश मन्त्रालयले मिश्रीको यो भ्रमणबाट नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको र ‘छिमेकी पहिलो नीति’ अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने जनाएको छ ।

दुई देशबीच सदियौं पुरानो सभ्यतागत, साँस्कृतिक र जनता-जनताबीचको सम्बन्ध रहेको भन्दै मन्त्रालयले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुने पनि जनाएको छ ।

भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिंदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको भारतीय अधिकारीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?