+
+

१७ अस्पतालले पठाए ९ बुँदे निर्देशनको प्रगति विवरण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १०:०३

२७ साउन, काठमाडौं । संघीय सरकार मातहतका अस्पताल सुधार्न गरेको परिपत्र अनुसार १७ अस्पतालले निर्णय कार्यान्वयन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साउन ४ गते मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखसँग ओपीडी सेवा दुई सिफ्टमा चलाउने, औषधि पर्याप्तता, अस्पालको भिड व्यवस्थापनलगायत ९ बुँदे निर्णय गरेर कार्यान्वयनका लागि परिपत्र गरेको थियो ।

सोही निर्णयअनुसार आफ्नो मातहतका अस्पतालले सेवा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न विभिन्न उपाय अपनाउन थालेको मन्त्रालयले जानकारी दिएको हो । पहिलो चरणमा १७ वटा संघीय अस्पतालहरुबाट प्रगति विवरण प्राप्त भएको र बाँकी प्रतिष्ठान तथा अस्पतालबाट पनि विवरण आउने क्रम जारी रहेको जनाएको हो ।

अस्पतालहरुको विवरणमा भिड नियन्त्रण गर्न विस्तारित स्वास्थ्य सेवा, ओपीडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना/डिस्चार्ज बीचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका तय, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानी जस्ता कार्यलाई प्राथमिकता दिएको उल्लेख छ ।

मन्त्री प्रदीप पौडेलका अनुसार टेकु अस्पताल, थापाथली अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, नारायणी अस्पतालले प्रगति विवरण पठाएका छन् ।

त्यस्तै, मोनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, डडेलधुरा अस्पताल, वीर अस्पताल, आयुर्वेद चिकित्सालय र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि आफ्नो प्रगति विवरण पठाएका छन् ।

अस्पतालहरुले पठाएका विवरणमा अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउने पानीको निशुल्क व्यवस्था प्रयास सुरुआत गरिएको उल्लेख छ ।

त्यस्तै, औषधिहरूको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएको बिरामीहरूको लागि फार्मेसी सेवाहरूलाई व्यवस्थित गरिएको अस्पतालले उल्लेख गरेकना छन् । बिरामी तथा आगन्तुकका लागि नेभिगेसन र सूचना प्रणाली, सुरक्षित र सफा पिउने पानी, सफा र पहुँचयोग्य शौचालयहरूको व्यवस्था र अस्पताल परिसरको सरसफाइलाई प्राथमिकता दिइएको उनीहरुले जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नु परेको, अलमलिनु परेको र झन्झटिलो रहेको गुनासो अन्त्य गर्ने प्रयास थालिएको बताए ।

‘लामो समयदेखि रहेको यो अव्यवस्थालाई हटाउन सम्बन्धित निकायले पनि प्रयास गरिरहेकै थिए । हाम्रो पनि त्यसमा प्राथमिकता रहँदा सेवालाई व्यवस्थित, सहज र सुलभ बनाउन उहाँहरुलाई सहयोग पुगेको हुन सक्छ’, उनले भनेका छन्, ‘त्यही अनुसार उहाँहरुले आफूले गर्दै आएको र अहिले थप गरेका सेवाहरुको प्रगति विवरण पठाउनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?