+

चालीस मुनिका चालीस – छनौट प्रक्रिया

‘चालीस मुनिका चालीस’ कर्मशील युवाको अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको सूची तयार पारेको थियो ।

यसमा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको थियो ।

यसरी तयार भएको १५० माथिको सूचीलाई अनलाइनखबरको समाचार कक्षले राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा शीर्षकमा विभाजन गरी तिनमा स्पष्ट मापदण्ड बनाएर विवेकसम्मत तरिकाले ८० मा झारेको थियो ।

यसरी तयार भएको ८० जनाको सूचीलाई स्वतन्त्र जुरी समक्ष प्रस्तुत गरिएको थियो । १७ र २१ असार २०८१ मा बसेको जुरीको बैठकको निर्णय बमोजिम यो ४० जनाको सूची तयार गरिएको हो ।

अन्तिम नाम छनोट गर्ने जुरीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हा, संयोजक, पूर्व बैंकर तथा नेपाल प्राइभेट इक्विटी एशोसिएसनका अध्यक्ष सिद्धान्तराज पाण्डे, त्रिभुवन विश्वविद्यालय समाजशास्त्र संकायकी उप–प्राध्यापक नीति अर्याल खनाल र अनलाइनखबरका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए । र, ‘४० मुनिका ४०’ को संयोजन गरेका थिए अनलाइनखबरका विचार सम्पादक सुदर्शन खतिवडाले ।

(क्रमशः बायाँबाट दाँया) अनलाइनखबरका प्रधानसम्पादक तथा जुरी सदस्य शिव गाउँले, जुरी संयोजक अनिल सिन्हा, सदस्यहरू सिद्धान्तराज पाण्डे र नीति अर्याल खनाल र ‘४० मुनिका ४० संयोजन’ गरेका अनलाइनखबरका विचार सम्पादक सुदर्शन खतिवडा । तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर

४० जनाको नाम छनोट गर्दा पहुँच बाहिरको परिस्थितिका कारण कोही उपलब्ध हुन नसकेमा वा कसैले अनिच्छा देखाएमा वैकल्पिक सूचीका नाम मध्येबाट छनोट गर्न पाउने गरी जुरीले ४ जनाको वैकल्पिक सूची पनि छनोट गरेको थियो ।

छनोटको उद्देश्य
समाजका विभिन्न क्षेत्रमा प्रभावकारी नतिजा दिएर क्रियाशील भइरहेका युवाको पहिचान गर्न तथा उनीहरूको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्न ।

छनोटको मापदण्डः

१. पछिल्ला एक वर्षमा समाज रूपान्तरणका लागि विशिष्ट काम गरेका ४० वर्षभन्दा तलका युवा पहिचान गरिएको ।

२. समाजलाई प्रोत्साहन गरिरहेका, आफ्नो कर्म/सोचद्वारा प्रेरित र तरङ्गित गरिरहेका, जसको कथाले समाजको उल्लेख्य हिस्सालाई ठूलो मात्रामा सकारात्मक प्रभाव पार्न सक्छ, त्यस्ता युवा ।

३. कुनै खास क्षेत्रमा उल्लेखनीय काम र निरन्तर संघर्षद्वारा समाज र समुदायमा अद्वितीय/विशिष्ट योगदानकर्ता युवा ।

४. प्रचलित कुरीति र हानिकारक तथा गलत परम्परागत मान्यतालाई चुनौती दिएर समाजलाई लाभ पुर्‍याएका युवा ।

५. समाजमा इन्नोभेटिभ आइडिया दिएका, असल अभ्यासकर्ता जसको योग्य कामले पनि मूलप्रवाहको ध्यानाकर्षण गर्न सकेको छैन, त्यस्ता युवा ।

६. नेपाली समाजको विविधता झल्किने, उमेर र भूगोल समेतलाई ख्याल गरेर छनोटमा परेका युवा ।