+

एएफसी च्यालेन्ज लिग : बलियो पारोविरुद्ध राम्रो नतिजा ल्याउने चर्च ब्वाइजको लक्ष्य

२०८१ साउन  २७ गते १८:२३ २०८१ साउन २७ गते १८:२३
एएफसी च्यालेन्ज लिग : बलियो पारोविरुद्ध राम्रो नतिजा ल्याउने चर्च ब्वाइजको लक्ष्य

२७ साउन, काठमाडौं। नेपाली फुटबलको पिरामिडमा लगातार सी देखि ए डिभिजन लिगको उपाधि जित्दै इतिहास बनाएको चर्च ब्वाइज युनाइटेड अर्को नयाँ परिक्षाको लागि तयार छ ।

पछिल्लो पटक भएको ए डिभिजन लिगको च्याम्पियन बनेको चर्च ब्वाइजले एसिया महादेशको क्लब प्रतियोगितामा पनि डेब्यु गर्दैछ । एसियाको तेस्रो श्रेणीको क्लब प्रतियोगिता एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

उक्त खेल चर्च ब्वाइजले घरेलु मैदान काठमाडौंमै खेल्दैछ । खेल यही साउन २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलका लागि चर्च ब्वाइजले डिफेन्डर अनन्त तामाङको कप्तानीमा राष्ट्रिय टिमका अन्य सिनियर खेलाडी र ३ विदेशीसहित २३ सदस्यीय टोली समेत घोषणा गरिसकेको छ ।

क्लबले गत साता पत्रकार सम्मेलन गर्दै टिमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउदै पारो एफसी विरुद्ध खेल्नका लागि तयार रहेको जानकारी गराएको छ । क्लबको प्रशिक्षकमा नेपाली फुटबलकै सफल प्रशिक्षक बालगोपाल महर्जन नै छ । उनै महर्जनको प्रशिक्षणमा चर्च ब्वाइजले ए डिभिजन लिगको उपाधि जितेको थियो ।

एएफसी च्यालेन्ज कपका लागि क्लबको तयारीबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउन प्रयास गर्ने महर्जनले बताएका छन् । ‘धेरै पछि विदेशी (भुटान) को टिम नेपाल आउँदैछ । हामीले घरेलु मैदानमा खेल्दैछौँ । राम्रो प्रदर्शन गर्ने आशा छ ।’

घरेलु मैदान र दर्शकको साथ

चर्च ब्वाइज र पारो एफसीबीचको खेलबाट दशरथ रंगशालाले फेरि अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गर्दैछ । यसअघि एएफसीले दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेल खेलाउन लायक नरहेको भनेपछि नेपालले विश्वकप छनोट अन्तर्गत बहराइन र युएई विरुद्ध घरेलु मैदानमा हुनुपर्ने म्याच न्युट्रल भेन्युमा गएर खेल्नुपरेको थियो ।

अहिले फेरि एएफसीले दशरथ रंगशालाई अन्तर्राष्ट्रिय खेल खेलाउन मान्यता दिएपछि चर्च ब्वाइज पारो एफसीबीचको खेल दशरथ रंगशालामै हुने पक्का भएको हो ।

चर्च ब्वाइज युनाइटेडका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेल हुन लागेको भन्दै दशरथ रंगशालमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिती हुने आशा राखेका छन् । यसअघि दशरथ रंगशालमा पछिल्लो पटक नेपालले विश्वकप छनोट अन्तर्गत यमन विरुद्धको खेल खेलेको थियो ।

‘रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो खेल हुँदैछ । त्यसमा फुटबल समर्थकको उत्साहजनक सहभागिताको आशा छ । नेपाली टिमले पनि राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छौँ ।’

दशरथ रंगशालमा अन्तर्राष्ट्रिय स्तरको फुटबल नभएपछि समर्थकहरु पनि कतै अब नेपालमा अन्तर्राष्ट्रिय स्तरको पुटबल हेर्न नपाउने हो कि भन्ने चिन्तामा थियो । तर चर्च ब्वाइज र पारो एफसीबीचको खेल नेपाली फुटबलमा माहोल फर्काउने क्लब र अखिल नेपाल फुटबल संघ एन्फाको विश्वास छ ।

‘चर्च ब्वाइज र पारोको खेलपछि साफ यू२० च्याम्पियनसिप, साफ वुमन्स च्याम्पियन जस्ता प्रतियोगिताहरु पनि आयोजना हुँदैछ । अहिले पुटबल नै नभइरहेको हो कि भन्ने अवस्थामा यी खेलले फुटबलको माहोल क्रिएट गर्छ सहयोग गर्छ ।’ एन्फा टुर्नामेन्ट कमिटीका निर्देशक सन्जिव मिश्रले भने ।

छोटो समयको तयारीमा नतिजाको आशा

चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगका लागि साउन १ गतेदेखि तयारी सुरु गरेको थियो । वर्षाको मौसममा छोटो समयमको तयारीमा चर्च ब्वाइजले राम्रो नतिजा ल्याउने लक्ष्य राखेको छ ।

मुख्य प्रशिक्षक महर्जनले तयारीका लागि पर्याप्त समय नभएपनि आफ्नो टिममा सन्तुष्टी रहेको बताए ।

‘हामीले साउन १ गतेदेखि प्रशिक्षण थालेका थियौँ । टिममा सिनियर राष्ट्रिय टिमकान खेलाडीहरु छन् । टिमप्रति म सन्तुष्ट छु,’ उनले भने । ‘छोटो समयमको तयारी पर्याप्त त हुँदैन । यद्यपी लामो सयम टिममा सँगै खेलेका खेलाडीहरु र ३ विदेशी खेलाडी भएकोले टिम राम्रो नै छ ।’

चर्च ब्वाइजले तयारीस्वरुप त्रिभुवन आर्मी एफसीसँग दुई र यू२० राष्ट्रिय टिमसँग तीन अभ्यास म्याच समेत खेलेको थियो ।

अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजमा राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक गोल गरेका अन्जन विष्ट देखि अहिले नेपाली घरेलु फुटबलमा उपलब्ध भएका खेलाडीहरु समावेश छ ।

ए डिभिजन लिग जित्दा अनन्त तामाङ अन्जन विष्ट एरिक विष्ट लगायत खेलाडी चर्च ब्वाइजमा थिए । त्यसमा आयुष घलान, लकेन लिम्बु, सनिश श्रेष्ठ, सन्जिव विष्ट, छिरिङ लामा, सन्तोष खत्री, योगेश गुरुङ आदित्य शाक्य लगायत खेलाडीहरु थपिएका छन् । यस्तै नेपालमा यसअघि खेलिसकेका विदेशी खेलाडीहरु नाइजेरियाका ओमालामा करिम र घाना मोजेस ग्याबा त्वाम तथा नयाँ खेलाडी जाम्बियाका पिटर बान्दा पनि अनुबन्ध भएका छन् ।

क्लबका अध्यक्ष रुवेन राईले यस खेलका लागि ९ जना नयाँ खेलाडी अनुबन्ध गरिएको दिए । अध्यक्ष राईले खेलाडीको सम्झौता कहिलेसम्म हुने प्रारम्भिक चरणको खेलको नतिजाले निर्धारण गर्ने बताए । ‘सम्झौता कति हुने प्लेअफको नतिजामा भर पर्छ । हामीले एक्सटेन्डेबल कन्ट्रयाक्ट गरेका छौँ ।’

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक चरणमा राम्रो नतिजा ल्याउँदै समूह चरणमा पुग्ने लक्ष्य रहेको बताएका छन् । ‘यस पटक विदेशी खेलाडीको कोटा अनलिमेटेड हुँदा पारोले त्यसको फाइदा लिएको छ । पारोमा ९-१० विदेशी खेलाडी छन् । तर हाम्रोमा पनि सँगै खेलेका खेलाडीहरु छन्,’ महर्जनले भने, ‘तर फुटबल हो भन्न सकिन्न । होम ग्राउण्ड र दर्शकको साथमा राम्रो नतिजा ल्याएर समूह चरणमा पुग्ने आशा छ ।’

‘हामीसँग घरेलु फुटबलका राम्रा खेलाडीहरु का साथै नेपालमा खेलिरहेका दुई विदेशी खेलाडी ओमालामा र मोजेसको पनि साथ हुनेछ ।’

फेरिएको पारो टिम

हाल भुटानमा शीर्ष श्रेणीको फुटबल भुटान प्रिमियर लिग भइरहेको छ । त्यसको शीर्षस्थानमा पारो एफसी नै छ । पारोले १२ खेलबाट ३१ अंक जोडेको छ ।

लिग खेलिरहेको र जापानबाट विश्वकप खेलिसकेका केसुके होन्डासहित विदेशी खेलाडीहरु भेला गरेको पारो एफसी अहिले फरक टिम बनेको छ । जापान घाना र सर्वियाबाट गरेर पारोले ११ खेलाडी अनुबन्ध गरेको छ र यसले टोली बलियो देखिएको छ ।

चर्च ब्वाइजका प्रशिक्षक महर्जनले पनि पारो विगतमा भन्दा फरक टिम बनेको बताएन । ‘पारो एफसी विगत भन्दा फरक छ । लिग टेबलको टपमा छ । उनीहरु तीन चार महिनादेखि सँगै खेलिरहेका छन् र टिम सेट भइसकको छ ।’ महर्जनले भने ।

विश्वकप खेलिकसका होन्डा सहित विदेशी खेलाडीले पारो टिम राम्रो बनेको महर्जनले विश्लेषण छ । ‘चर्च ब्वाइज र पारोको टिममा यही कुरा फरक छ । उनीहरु लगातार खेलिरहेका छन् र विदेशी खेलाडी धेरै छ । जसले बढी लगानी गरेर विदेशी खेलाडी राख्यो उसलाई फाइदा हुन सक्छ ।’

तर विदेशी खेलाडी धेरै राख्दा भुटानको टिम जस्तो पनि नदेखिने पनि महर्जनले बताए । ‘धेरै विदेशी खेलाडी राख्दा त्यो भुटानी टिम जस्तो पनि देखिँदैन । कुनै विदेशी क्लब जस्तो देखिन्छ । उनीहरुको फिटनेस र टिम कम्बिनेसन राम्रो छ । हामीसँग त्यो कमी भएपनि खेलाडीहरु राम्रो छन् डराउनुपर्ने केही छैन ।’

पारोले एएफसी कपलाई नै मध्यनजर गर्दै कूल ११ विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा जापानबाट होन्डासहित ५ खेलाडी छन् भने घाना र सर्वियाबाट ३-३ खेलाडी छन् । नेपालमा आएर नेपाल सुपर लिग खेलिसकेका घानानका विलियन ओपोकु र एभान असान्टे तथा सर्वियाका मार्को इभानोभिच पनि पारोको टिममा छन् ।

च्यालेन्ज लिग कस्तो प्रतियोगिता हो ?

एएफसीको एकजुकेटिभ कमिटीले २०२३ अगष्टमा एसियन क्लब फुटबलमा तीन नयाँ क्लब प्रतियोगिता गर्ने निर्णय गरेको थियो । जसमा एएफसी च्याम्पियन्स लिग इलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग रहेको छ ।

च्याम्पियन्स लिग इलाइट र टुमा सिधै छनोट हुन नसकेका सदस्य राष्ट्रका क्लबहरुका लागि एएफसीले च्यालेन्ज कप आयोजना गर्न लागेको हो । यसअघि सन् २००५ देखि २०१४ सम्म एसियाको तेस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता एएफसी प्रेसिडेन्ट कप आयोजना भएको थियो ।

तर एएफसीले २०२१४ पछि प्रेडिसेन्ट कप हटाएर त्यसमा सहभागि हुने क्लबहरुलाई दोस्रो श्रेणीको एएफसी कपको प्रारम्भिक चरणमा खेल्ने अवसर दिएको थियो ।

अहिले फेरी एएफसीले तीन श्रेणीको क्लब फुटबल प्रतियोगिताको रुपमा रिब्राण्डिङ गरेको छ ।तेस्रो श्रेणीको एएफसी च्यालेन्ज लिगमा २० टोलीको सहभागिता हुने एएफसीले जनाएको छ ।

जसमा वेष्ट रिजनबाट १० र इस्ट रिजनबाट ६ क्लबहरु सिधै समूह चरणमा छनोट हुनेछन् । यस्तै इस्ट रिजन र वेष्ट रिजनबाट २-२ क्लब प्लेअफबाट समूह चरणमा छानिनेछन् ।

एएफसी च्यालेन्ज कपको समूह चरणको खेलहरु अक्टोबर नोभेम्बरमा हुनेछ । प्लेअफका खेलहरु सकिएपछि समूह चरणको ड्र गरिनेछ । प्लेअफको खेल जित्ने टोलीले समह्यू चरणमा सथ्न पक्का गर्दै एएफसीबाट १ लाख डलर पनि पाउनेछन् ।

एएफसी च्यालेन्ज लिग
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय