+
+

बलबहादुरसँग अब बल छैन !

बलबहादुरको शरीरमा बनेका घाउ यति गहिरा र विकराल छन् कि मासु कुहिएर हड्डीहरु बाहिर निस्किएका छन्, र त्यसमाथि कीरा पनि सल्बलाउन थालेका छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ साउन २९ गते १८:०७

२९ साउन, काठमाडौं । जीवनको कठोर यथार्थले थिचिएको चिसो कोठा । यत्रतत्र छरिएका सामान अनि खाटमा पल्टिएको एउटा जीवन । लाग्छ कि त्यहाँ कुनै जिजीविषाका किरणहरु मुस्कुराउँदैनन् ।

५८ वर्षीय बलबहादुर कामीको जीवनयात्रा यसरी थिचिएको छ कि उनको मुखबाट शब्दहरू निस्कँदैनन्, आफ्ना पीडा पोख्न पनि इशाराको सहारा लिनुपरेको छ । शरीरभरि फैलिएका घाउहरूले कष्टकर जीवन बिताइरहेका छन् ।

बलबहादुरको शरीरमा बनेका घाउ यति गहिरा र विकराल छन् कि मासु कुहिएर हड्डीहरु बाहिर निस्किएका छन्, र त्यसमाथि कीरा पनि सल्बलाउन थालेका छन् ।

बलबहादुरलाई हेर्दा लाग्छ- उनले पीडाबोध विनाको आरामदायी जीवन नै बिर्सिसके ।

गरिबीकै कारणले बलबहादुरले सुखपूर्वक बाँच्न त सकेनन्, आरामले मुक्ति यात्रामा निस्कन पनि सकेका छैनन् । उनी आफ्नो शरीरलाई सामान्य रूपमा यताउता फर्काउन पनि सक्दैनन् । आफ्नै मलमूत्रको दुर्गन्धमाथि छन्, उनी ।

***

०८० कात्तिक महिना । काठमाडौं बौद्धको तीनचुलीमा बलबहादुर एक्लै कोठामा बस्ने गरेका थिए ।  त्यहीबेला अचानक खाटबाट भुइँमा खसे र बेहोस भए । परिवारले सुइँको पाउँदासम्म उनी ढलेको २ दिन भइसकेको थियो ।

त्यसपछि उनलाई वीर अस्पताल पुर्‍याइयो, त्यतिबेलासम्म उनको खुट्टा नचल्ने भइसकेको थियो । उच्च रक्तचापको कारण भएको यो दुर्घटनाले उनलाई पक्षघात गरायो, र उनको बायाँ खुट्टा पूर्ण रूपमा काम नगर्ने भयो ।

दुई महिनासम्म अस्पतालमा राखेर उपचार त गरियो, कुनै सकारात्मक नतिजा निस्केन ।

डाक्टरहरूले थेरापीको सुझाव दिए, तर गरिबीको कारण परिवारले त्यसको खर्च जुटाउन सकेन ।
जसोतसो केही समय परिवारले थेरापी नगराएका पनि होइनन्, त्यतिबेला अलिअलि खट्टा पनि चलमलाउन थालेको थियो । तर, लगातार थेरापी गर्न विस्तारै पैसा अभाव हुन थाल्यो । केही समयपछि त्यो थेरापी पनि रोकियो ।

काभ्रेपलान्चोकको चौंरीदेउराली गाउँपालिका–४ मा रहेको जमिन, जसलाई बलबहादुरले आफ्नो पसिनाले सिंचेका थिए आज त्यो पनि उनकै जीवन बचाउन बेच्नुपर्‍यो ।

‘बुबाको उपचारका लागि गाउँमा जोडेको जग्गा बेच्यौं’ छोरा मौसमले सुनाए, ‘बुबा र मैले मिलेर जग्गा किनेका थियौं । जग्गा बेचेको पैसा पनि सकियो । रोग पनि निको भएको छैन ।’

बलबहादुर पहिले ट्याक्सी चलाउँथे । त्यसैबाट परिवारको आवश्यकता जोहो गरेका थिए । अहिले उनी बिरामी भएसँगै न त परिवारसँग दिगो आम्दानीको स्रोत रह्यो न त गतिलो स्वास्थ्योपचार नै ।

सबै विकल्पका ढोका बन्द भएपछि अब उनीसँग बेडमा सुतिरहनुको विकल्प रहेन । दाहिने खुट्टाको भरमा उनी यताउति गर्थे । त्यो खुट्टामा पनि घाउ बन्यो । त्यसपछि दाहिने खुट्टाको भर पनि रोकियो । ‘घाउ बल्झिदै गएपछि अप्रेशन नै गर्नुपर्‍यो,’ छोरा मौसमले भने ।

पछि हेरचाह पनि राम्रो भएन । दिसापिसाबको संक्रमणले घाउ थप बल्झिंदै गयो । यतिबेला उनको शरीर पूरै कुहिएको अवस्थामा छ । उपचार गर्दा १५ लाख खर्च भएको मौसम सुनाउँछन् । ‘अस्पताल लैजान पैसा छैन । कोठामा राख्न विवश भएका छौं’, मौसम नीरस सुनिन्छन् ।

जनस्वास्थ्य सेवा ऐनले प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अधिकार दिएको छ, तर बलबहादुरको जीवनमा यो ऐन केवल एक निरर्थक शब्द सावित बन्न पुगेको छ ।

‘मौलिक हकको रुपमा सरकारले स्वास्थ्यलाई लिएको छ । तर, के गर्ने भाषण गरेर कागजी पानामा लेखेर हुँदैन’ मौसम भन्छन्, ‘उपचार भएको सबै सम्पत्ति सकियो । न रोग निको भयो ।’

काठमाडौं तिनचुलेस्थित साँघुरो गल्लीभित्रको एक कोठामा बलबहादुर उपचारको पर्खाइमा छन् । मौसमले बुबाको १० महिनादेखि रेखदेखमा लाग्दा काम गर्न पाएका छैनन् । ‘बुबालाई छोड्न मिल्दैन । काम गर्न कहाँ जानु’, उनले भने ।

सानैमा आमा गुमाएका मौसम आज बुबाको यो स्थिति देख्दा भक्कानिन्छन् । ऋणले थिचिएका मौसम उपचारका लागि बुबालाई अस्पताल लैजान पैसाको अभावले हिम्मत जुटाउन सकेका छैनन् । उपचारका लागि सबैसँग याचना गर्छन् उनी ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?