+
+

संसद्को संयुक्त समितिको सभापतिमा एमालेका ठाकुर गैरे उम्मेदवार बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १९:५१

२९ साउन, काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा एमालेले ठाकुर गैरेलाई उम्मेदवार बनाउने भएको छ ।

यो संघीय संसदको दुवै सभा (राष्ट्रिय सभा र प्रतिनिधि सभा) संयुक्त समिति हो ।

नेताहरूका अनुुसार सुरुमा राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाउने गरी छलफल चलेको थियो । तर, प्रतिनिधि सभा सदस्यबाटै सभापति बनाउनुपर्ने मत बलियो भएपछि ठाकुर गैरेलाई समिति सभापतिको उम्मेदवार बनाउन लागिएको नेताहरु बताउँछन् ।

तथापि, प्रतिनिधि सभाकै अर्का सदस्य लालप्रसाद साँवा लिम्बु (एलपी साँवा) ले समेत यो समितिको सभापतिमा आकांक्षा राखेका छन् । मंगलबार मात्रै उनी राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सदस्य भएका छन् ।

यसअघि यो समितिमा रहेका हेमराज राईको ठाउँमा लालप्रसाद सावाँ लिम्बुलाई लगिएको छ । सदस्य हेरफेरको प्रस्ताव सभामुख घिमिरेले सभाको बैठकमा प्रस्तुत गरेका थिए । जसलाई सभाले सहमति दिएको छ ।

सभापतिका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डले सूचना निकालेर बुधबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जानकारी दिएका छन् ।

उम्मेदवारहरुको नामावली बुधबार दिउँसो ४ बजे सार्वजनिक हुनेछ । बिहीबार दिउँसो ३ बजे सम्बन्धित समितिको सभाकक्षमै सभापतिको निर्वाचन हुने कार्यतालिका छ ।
बिहीबार नै संसदीय सुनुवाइ समितिको सभापतिका लागि समेत निर्वाचन हुँदैछ ।

यो समिति सभापतिमा कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउन लागेको छ । संघीय संसदका दुई वटा संयुक्त समितिमध्ये कांग्रेस र एमालेले एक/एक सभापति लिन लागेका हुन् । सोही अनुसार उम्मेदवारी दर्ता गर्ने दुई दलका बीचमा समझदारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?