+
+

टीआरसी विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गर्नेछन् : देउवा

‘नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय र अनुकरणीय’

सबै दलहरु मिलेकाले अब शान्ति प्रक्रिया मौलिक रुपमै टुंगोमा पुग्ने दिशातिर अगाडि बढेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १४:२०

३० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यतालाई बोकेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले स्वागत गर्ने विश्वास व्यक्त गरे ।

‘संसदमा प्रस्तुत यो विधेयकले संक्रमणकालीन न्यायको सबै आधारभूत मान्यता बोकेको छ । सत्यको अन्वेषण गर्ने, न्याय गर्ने र पीडितलाई परिपुरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यो विधेयक संक्रमणकालीन न्यायको मूल्य मान्यता, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुसार रहेको छ’ कांग्रेस सभापति देउवाले भने ।

यो विधेयक कानुन बने पश्चात सबै पीडितले न्यायको अनुभूति गर्ने विश्वास आफूले लिएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने बताएका हुन् ।

सबै दलहरु मिलेकाले अब शान्ति प्रक्रिया मौलिक रुपमै टुंगोमा पुग्ने दिशातिर अगाडि बढेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।

‘…अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको छ । यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपुरणको व्यवस्था गरेको छ,’ उनले भने ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढ्नुलाई ऐतिहासिक उपलब्धिको रुपमा ब्याख्या गर्दै उनले विधेयक कानुनमा रुपान्तरित भएसँगै सक्षम आयोग गठन हुने उनले बताए । ‘अब सक्षम आयोग गठन गर्नुपर्ने छ । यो प्रक्रियाको सहज अवतरण आयोगका माध्यमबाट हुनेछ’ उनले भने ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सबै दलहरु एक ठाउँमा रहेको भन्दै उनले थपेका, ‘मुलुकलाई अप्ठ्यारो पर्दा राजनीतिक दलहरु एक ठाउँमा उभिने गरेका छन् । यसपटक पनि सबै एक ठाउँमा उभिएका छौं ।’

सबै दलहरु मिलेकाले अब शान्ति प्रक्रिया मौलिक रुपमै टुंगोमा पुग्ने दिशातिर अगाडि बढेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।

२०६३ साल मंसिर ५ गते बृहत शान्ति सम्झौता भएपछि दश वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य भएको उल्लेख गर्दै उनले थपे, ‘शान्ति सम्झौता पछिको १८ वर्षको अवधिमा नेपालले हातहतियारको व्यवस्थापन, सेना समायोजन, संविधान सभाबाट संविधान जारी भइसकेका छन् ।’

संविधान कार्यान्वयन गर्दै मौलिक शैलीमा नेपाललाई शान्तिको बाटोमा डोर्याउन नेपालीहरु सफल भएको उल्लेख गर्दै उनले थपे, ‘शान्ति प्रक्रियाको काम नसकिँदा पीडितको न्याय पाउने काममा बिलम्ब भएको थियो ।’

केही ढिलो भए तापनि नेपालले मौलिक शैलीमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन लागेको र यो विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको सभापति देउवाले बताए ।

‘नेपालीहरु आफ्नो काम आफैं गर्न सक्छन् भन्ने यो सहमतिले सिद्ध गरेको छ । यो विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको छ,’ सभापति देउवाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?