+
+

सर्वोत्तम सिमेन्टको आम्दानी बढ्दा पनि घट्यो नाफा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते ८:१३

३१ साउन, काठमाडौं । सर्वोत्तम सिमेन्टको गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा कम्पनीको नाफा १८.५१ प्रतिशत घटेको हो । अघिल्लो आर्थिक वर्षमा २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा १७ करोड ४२ लाख रुपैयाँ कमाएको छ ।

कम्पनीको सञ्चालन आम्दानी १८ प्रतिशत बढ्दा पनि नाफा घटेको देखिन्छ । बिक्री लागत बढ्दा यस्तो स्थिति देखिएको हो । सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ३८ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३७ करोड रुपैयाँ छ ।

बिक्री लागत बढ्दा कम्पनीको अघिल्लो आवमा ४ अर्ब ४० करोड रहेकोमा गत आर्थिक वर्षमा ५ अर्ब ५७ करोड पुग्यो । मुख्यतः यहीं कारण कम्पनीको नाफा घट्न गयो ।

नाफासँगै प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी ३ रुपैयाँ ७५ पैसा छ । अघिल्लो आर्थिक वर्षमा ५ रुपैयाँ २८ पैसा थियो । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा छ ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ छ । कम्पनीको दीर्घकालीन ऋण १३ करोड ५७ लाख मात्रै देखिए पनि छोटो अवधिका ऋण तथा सापटी भने २ अर्ब ९२ करोड छ । कम्पनीको बजार मूल्य हाल प्रतिकित्ता ९९० रुपैयाँ छ । सिमेन्ट कम्पनीमा सर्वोत्तमको मूल्य सबैभन्दा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?