+

साफ यु-२० च्याम्पियनसिप : अनुभवी खेलाडीबाट उपाधिको आशा

२०८१ साउन  ३१ गते १३:३६ २०८१ साउन ३१ गते १३:३६

कुशल देउवाको कप्तानीमा रहेको यू-२० टोलीमा यस पटक सिनियर टोलीबाट खेलिसकेका फरवार्ड समिर तामाङ र घरेलु फुटबल खेलिरहेका खेलाडीहरु छन् ।

साफ यु-२० च्याम्पियनसिप : अनुभवी खेलाडीबाट उपाधिको आशा

३० साउन, काठमाडौं । आउने आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू-२० च्याम्पियनसिप) मा नेपाली टोलीको चाहना उपाधि जित्ने हो ।

उमेर समूहको प्रतिस्पर्धा भए पनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट र घरेलु लिगहरुमा खेलेको अनुभवी खेलाडी रहनु बलियो पक्ष रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन् ।

‘यु-२० भनेको क्लबमा खेल्ने र नेशनल टिमबाट खेल्ने खेलाडीहरुकै टिम हो । यसमा अनुभवी खेलाडी नै हुन्छन् । यो प्रतियोगिता राष्ट्रिय टिमका लागि खेल्न तयारी हुने बेला हो’, उनले भने ।

कुशल देउवाको कप्तानीमा रहेको यू-२० टोलीमा यस पटक सिनियर टोलीबाट खेलिसकेका फरवार्ड समिर तामाङ र घरेलु फुटबल खेलिरहेका खेलाडीहरु छन् ।

कप्तान कुशल देउवासँगै गोलकिपर जियारथ शेख, डिफेण्डर सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मिडफिल्डर निनसाङ लिम्बु, अविनाश स्याङ्तान, लक्षु थापा, फरवार्ड हरिशराज भट्ट, अनिल बम्जन, समिर तामाङ र निराजन धामीले गत वर्ष साफ यु-१९ च्यामपियन समेत खेलेका थिए । कुशल, निराजन, अश्विन, हरिशले गत वर्ष नेपाल सुपर लिग (एनएसएल) पनि खेलेका थिए ।

कप्तान कुशलले पनि यस पटक टिम राम्रो र बलियो रहेको बताए । ‘यस पटक युवा जोशसहितको अनुभवी खेलाडीहरु छन् । गत वर्ष यु-१९ खेलेको टिमका खेलाडी र नयाँ खेलाडीहरु पनि आएका छन् । ए डिभिजन लिग र एनएसएल खेलेको अनुभव पनि खेलाडीहरुमा छ’, उनले भने ।

फरवार्ड समिर तामाङले गत चैतमा विश्वकप छनोट अन्तर्गत बहराइनविरुद्धको खेलमा नेपालको सिनियर टोलीबाट डेब्यु गरेका थिए ।

समिरको सिनियर टिमको अनुभव काम लाग्ने कुशलले बताए । ‘त्यो हाम्रो लागि एडभान्टेज हुन्छ । एक्सपोजर पाएका खेलाडीहरु छन् र टिम कम्पोज्ड बनेको छ’, कुशलले भने ।

दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह बी मा छन् ।

नेपालले १८ अगष्टमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।

कस्तो छ तयारी ?

साफ यु-२० च्याम्पियनसिपको लागि नेपालले असारको अन्तिम सातादेखि तयारी गरिरहेको छ । जिल्ला, प्रदेश र केन्द्रस्तरको छनोटबाट प्रारम्भिक चरणमा ४० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर ३० जना हुँदै अन्तिम २३ सदस्यीय टोली घोषणा गरिएको हो ।

प्रशिक्षक उर्जन श्रेष्ठले यस पटक तयारीका लागि पर्याप्त समय पाएको र तयारी राम्रो भएको बताए । ‘तयारीका लागि धेरै समय पायौं, गत वर्ष यु-१९ खेलेका, सी डिभजन लिग खेलेका अनुभवी र केही नयाँ खेलाडी पनि आएका छन् । सन्तुलित टिम बनेको छ’, उनले भने ।

तयारीका क्रममा यु-२० टिमले लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग तीनवटा अभ्यास खेल खेलेको थियो । ‘हाम्रो प्लस प्वाइन्ट भनेको राम्रो टिमसँग अभ्यास खेल खेल्न पायौँ । चर्च ब्वाइज अनुभवी टोली हो । उनीहरुसँग राष्ट्रिय टिमका खेलाडीहरु र विदेशी पनि थिए’, मुख्य प्रशिक्षक श्रेष्ठले भने ।

हरेक खेल फाइनलजस्तै

दक्षिण एसियामा सबै टोलीको स्तर उस्तै उस्तै भएकाले खेल प्रतिस्पर्धात्मक हुनेछ । प्राविधिक र रणनितिक रुपमा मात्र खेलाडी र टिमको स्तर छुट्टिने गर्छ ।

प्रतियोगितामा कसैलाई पनि कमजोर नठानेको श्रेष्ठले बताए । ‘हामीले यो टिम कमजोर यो बलियो भन्ने अवस्था देख्दिन’, भुटानको यु-२० टिम पारो एफसीसँग ३-२ गोल अन्तरले पराजित भएको उदाहरण दिँदै उनले भने, ‘सबैले आफ्नो योजना बनाइरहेका हुन् । त्यसैले कसैलाई कमजोर ठान्नु गलत हुन्छ ।’

प्रशिक्षक श्रेष्ठले हरेक खेल नै फाइनल जस्तो ठानेर खेल्नुपर्ने बताए ।

कप्तान कुशल देउवा दक्षिण एसियामा उमेर समूहमा नेपाल बलियो टोलीमै पर्ने बताउँछन् । यद्यपि अरु टिमलाई कमजोर नठानेको उनको भी बताउँछन् । ‘हरेक टिम हाम्रो लागि कम्पिटेटिभ नै हुन् । यो टुर्नामेन्टमा भारत बलियो छ । बंगलादेश पनि राम्रो छ । भुटानले पनि सुधार गरिराछ । उनीहरुलाई हामीले त्यसै अनुसार लिएका छौं’ उनले भने ।

कुशलले थपे, ‘हाम्रो बलियो टिम छ अनुभव पनि छ । हामी अझ राम्रो हुन सक्छौँ । हाम्रो जित्ने मेन्टालिटी छ ।’

च्याम्पियन बन्ने लक्ष्य

घरेलु मैदानमा नै हुने भएकाले नेपाललाई घरेलु दर्शकको समर्थनको फाइदा हुनेछ । अझ घरेलु मैदलानमा खेल्दा उपाधि जित्नुपर्ने दबाब पनि उत्तिकै हुने गर्छ । अझ घरेलु मैदानमा खेल्दा उपाधि जित्ने दबाब पनि उत्तिकै हुन्छ ।

प्रशिक्षक उर्जन श्रेष्ठले गत वर्ष च्याम्पियन बन्न नसकेको स्मरण गर्दै यस पटक एक मात्र लक्ष्य च्याम्पियन बन्ने रहेको बताए ।

गत वर्ष नेपालमै भएको साफ यु-१९ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । तर भारतसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि घरेलु मैदानमा उपाधि जित्ने चाहना पूरा हुन सकेन ।

‘पहिला गरेको गल्तीलाई सच्याउँदै साफ यु-२० को ट्रफी घरमै राख्न चाहन्छौँ’, उनले भने ।

कप्तान कुशलले पनि गत वर्ष उपाधि जित्न नसकेको पीडा बिर्सेका छैनन् । त्यसैले उनले यस पटक आफ्नो कप्तानीमा नेपाललाई च्याम्पियन बनाउने लक्ष्य राखेका छन् ।

‘हाम्रो लक्ष्य च्याम्पियन हुने नै छ । खेल नेपालमै हुँदैछ । त्यसैले हाम्रो लागि यो ठूलो प्ल्याटफर्म र ठूलो अवसर पनि हो । यसले हाम्रो लाइफ पनि चेन्ज हुन सक्छ’, कुशलले भने ।

साफ यू२०/१९/१९ च्याम्पियनसिपको यो छैटौं संस्करण हो । नेपाल सन् २०१५ मा नेपालमै भएको पहिलो संस्करणको च्याम्पियन बनेको थियो । २०१७ मा भुटानमा पनि च्याम्पियन बनेको थियो । तर त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ ।

सन् २०१९ मा नेपालमै भएको च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । २०२२ मा भारतमा भएको च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा पराजित भएको थियो ।

पाँच संस्करण खेल्दा नेपाल दुई पटक विजेता दुई पटक सेमिफाइनल पुगेको छ भने एक पटक समूह चरणबाटै बाहिरिएको छ ।

नेपाली टोली :

जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।

फुटबल यु-२० साफ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय