+
+

नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा नयाँ तथ्य भेटिएन

प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुझाएको अभियोगपत्रमा नयाँ तथ्य उल्लेख छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १८:४९
नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो पटक मुद्दा दायर गरिएका बेचन झा ।

३१ साउन, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा प्रहरीले नयाँ तथ्यहरु फेला नपारीकन प्रतिवेदन बुझाएको छ ।

भारतबाट समातेर ल्याइएका बेचन झामाथि काठमाडौं प्रहरीले अनुसन्धान चलाइरहेको थियो । झाविरुद्ध अनुसन्धान सकेर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार अदालतमा दायर गरेको अभियोग पत्रमा प्रकरणबारे कुनै नयाँ तथ्यहरु उल्लेख छैनन् ।

उनीसँगको बयानमा उच्च राजनीतिक तहको संलग्नताबारे उल्लेख नभएको प्रहरी स्रोत बताउँछ । झाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरीका अनुसार, सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालत, काठमाडौंमा दायर गरेको अभियोग पत्र हेर्दा तत्काललाई झाको अनुसन्धानले थप नेक्सस खोतल्न सक्ने देखिँदैन ।

उनी भन्छन्, ‘झामाथिको अनुसन्धान प्रक्रिया हेर्दा तत्काललाई यसबारे थप खोजी हुने बाटो बन्द भएको देखिन्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले प्रहरीसँग बयान दिँदै शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रुपमा विकास गरिएको र झामार्फत यसको गहिराइमा पुग्न सकिने बयान दिएका थिए ।

शरणार्थी प्रकरणका आरोपी रामशरण केसीले उनलाई दुई करोड रुपैयाँको चेक दिएको समेत प्रहरीले भेट्टाएको थियो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, मुख्य योजनाकारमध्येका एक सानु भण्डारीले भुटानी शरणार्थी बनाएर अमेरिका लैजान ‘केही निर्णय गराउन’ भन्दै झालाई त्यो रकम बराबरको चेक दिन भनेका थिए ।

‘उनले मन्त्रिपरिषद् बैठकबाट केही निर्णयहरु गराउन बेचन झाले रकम मागेका छन्, उनलाई ग्यारेन्टीका लागि चेक काटी दिनु भनेका थिए’, उनले भनेका छन्, ‘मेरो र अरु मानिसहरुको ठूलो रकम भण्डारीलाई दिइसकेको हुनाले मैले बाध्य भएर ८ मंसिर २०७८ को राति ८ बजे हिमालयन बैंकको खाताको दुई करोड रुपैयाँ बराबरको चेक मैले दिएको हुँ ।’

१३ मंसिर २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘पुनर्स्थापना पश्चात् हाल नेपालमा बाँकी रहेका भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानका उपायहरुको प्रतिवेदन उपर छलफल भई निर्णय भएका विकल्पहरु स्वीकृत गर्ने’ निर्णय गरेको थियो ।

अनुसन्धान अधिकृतहरुले भने अनुसार, झाले त्यसबेला शरणार्थी प्रकरणमा मुख्य बिचौलियाको भूमिका खेलेका थिए । त्यसैले उनी दोस्रो चरणको अनुसन्धान गर्ने बाटो खुलै राखेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

पूर्वडीआईजी मल्लका अनुसार, दोस्रो चरणको अनुसन्धान गहिराइमा नपुगेपछि यो अपराधको अनुसन्धान पहिले चर्चा भएजस्तो तहसम्म पुग्न अब कठिन देखिन्छ । ‘कुनै नसोचेको फरार आरोपीबाट केही खुलिहाल्यो भने बेग्लै कुरा, नत्र यो प्रकरण यही तहबाट अदालती जाँचमा पुगेको छ’, उनी भन्छन् ।

भारतमा समातेर १५ असारमा काठमाडौंमा सार्वजनिक गरिएका झाले पनि पूर्णतः इन्कारी बयान दिएका छन् । उनले भुटानी शरणार्थी प्रकरणबारे समेत थाहा नभएको दाबी गरेका छन् ।

आफूमार्फत प्रकरणको गहिराइमा पुग्न सकिन्छ भन्ने बताएका तत्कालीन सचिव पाण्डेलाई झाले चिन्दै नचिन्ने जिकिर गरेका छन् ।

‘चिनजान सम्पर्क समेत केही नभएका निजले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुन्, चेकको सम्बन्धमा मलाई केही जानकारी छैन’, उनले दाबी गरेका छन्, ‘अडियोहरुमा भएको संवाद मेरो होइन, भिडियोमा देखिएका व्यक्तिहरु को को हुन् मलाई थाहा छैन ।’

झाले पोलिग्राफ जाँच गर्न समेत इन्कार गरेका छन् । प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) अञ्जु कँडेलले हस्तान्तरण गरेको यसबारेको प्रतिवेदन समेत प्रहरीले मिसिलमा संलग्न गराएको छ ।

झाले प्रहरीले बरामद गरेको अडियो जाँच गर्न भने तयार रहेको बताएका छन् । पक्राउ परेका बेला झाबाट प्रहरीले नयाँ मोबाइल मात्र बरामद गरेको थियो ।

‘पुरानो मोबाइल भएको भए केही रिकभर गर्न सक्ने अवस्था बन्थ्यो होला’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘तर, किनेको एक वर्ष पनि नभएको मोबाइल उहाँले बोक्नुभएको थियो ।’

केसीले रेकर्ड गरेको अडियोमा ‘सिस्टमले अटो’ देखाएको नम्बर र झाले बयानमा उल्लेख गरेको आफूले प्रयोग गर्ने नम्बर एउटै भएको उनी बताउँछन् ।

भुटानी शरणार्थीको अमेरिका लगायत तेस्रो मुलुक पुनर्बास कार्यक्रम बन्द भइसके पनि मन्त्रिपरिषद्बाट निर्णय गरेर फेरि प्रक्रिया थाल्ने वातावरण बनाउने आश्वासन उनले दिएको अधिकृतहरु बताउँछन् । त्यसपछि शरणार्थी समस्याबारे अध्ययन गर्न बनेको बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन नै कीर्ते गरेर नक्कली शरणार्थी बनाउने प्रयास भएको थियो ।

अधिकृतहरुका अनुसार, पन्थी कार्यदललाई नै प्रभावमा पारेर ८७५ जनाको नाम थप्ने तयारी गिरोहको थियो । तर, अनुकूल प्रतिवेदन नआएपछि त्यसमाथि पुनः अध्ययन गर्न भन्दै बालकृष्ण खाँण गृहमन्त्री भएका बेला गृह प्रशासनले उपसमिति समेत बनाएको थियो ।

प्रहरीले झामाथि अनुसन्धानका क्रममा उनीसँग नेपाली नागरिकतासँगै भारतको आधार कार्ड समेत रहेको फेला पारेको थियो । उनले १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत वीरगञ्जबाट जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए भने बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ बाट आधार कार्ड लिएका थिए ।

प्रहरीले आधार कार्ड मिसिलसँगै संलग्न गराएपनि नागरिकता ऐन अनुसार भने मुद्दा चलाएको छैन । झा नेपालमा विद्युत् उपकरणको आयातकर्ताको रुपमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?