+
+

वैदेशिक रोजगारमा महिला : तीन वर्षमा २ लाख विदेशिए

अवैध रुपमा जाने महिला तथ्यांक बाहिर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १८:००

३२ साउन, काठमाडौं । पछिल्लो तीन वर्षमा २ लाख नेपाली महिलाहरु रोजगारीको खोजीमा विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार बर्सेनि करिब ६० हजार जना महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

विभागका अनुसार बितेको ३ वर्षमा २१ लाख ४२ हजार वैदेशिक रोजगारीमा जाँदा २ लाख महिलाहरु विदेशिएका छन् । यो सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको कुल संख्याको ९.३३ प्रतिशत हो । विभागले उपलब्ध गराएको यो तथ्यांक श्रम स्वीकृति लिएर जानेहरुको मात्रै हो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ४९ हजार महिलाहरु वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष ०७९/०८० मा ७२ हजार जना महिलाहरु हजार विदेश गए । आर्थिक वर्ष ०८०/०८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेर ८० हजार पुग्यो ।

तथ्यांकअनुसार हरेक वर्ष वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या १० हजारले उकालो लागिरहेको छ । ‘रोजगारीका खोजीमा विदेश जानेक्रम अहिले एक तिहाइ संख्या पुरुषको नै छ’, विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी भन्छन्, ‘तर रोजगारी खोज्दै विदेश जाने महिलाहरुको संख्या पनि उत्तिकै बढिरहेको छ ।’

खाडीमा धेरै

वैदेशिक रोजगारीमा जाने महिलाहरुको पहिलो रोजाइ खाडी मुलुक देखिन्छ । विभागका अनुसार सबैभन्दा धेरै यूएई, कुबेत, कतार, साउदी र मलेशिया जाने महिलाको संख्या धेरै छ ।

पछिल्लो तीन वर्षमा यूएईमा ७२ हजार, कुबेतमा २७ हजार, कतारमा २४ हजार, मलेशियामा ११ हजार जना महिला कामदारका रुपमा गएका छन् ।

विभाग प्रमुख सुवेदीका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा यूएईमा २१ हजार १३०, कतारमा ७ हजार १३८, कुबेतमा ५ हजार ३६५ र मलेशिया १ हजार ४६४ र साउदीमा ७२६ गए थिए ।

त्यस्तै, आर्थिक वर्षमा ०७९/०८० यूएईमा २४ हजार ९१, कुवेतमा ११ हजार ८१६, कतारमा ६ हजार ६९९, मलेसिया ७ हजार २९९ र साउदीमा ९ सय ३३ जना गएका छन् ।

आर्थिक वर्षमा ०८०/०८१ मा यूएई २७ हजार ४३४, कतारमा १० हजार ८१५, कुबेतमा १० हजार ७५, मलेसियामा २ हजार ४४२ र साउदीमा ८३६ जना महिला कामदारका रुपमा गएको विभागको तथ्यांक छ ।

खाडीमा मात्रै सीमित छैनन्

वैदेशिक रोजगारीको खोजीमा जाने महिलाहरु अहिले खाडीमा मात्रै सीमित छैनन् । विभागका अनुुसार पछिल्लो समय युरोप, दक्षिण कोरिया, जापानजस्ता मुलुकमा पनि महिलाहरु रोजगारको सिलसिलामा जान थालेका छन् । ‘खाडीबाहेका मुलुकहरुमा रोजगारीमा खोजीमा जाने महिलाहरुको संख्या पनि बढिरहेको छ’, विभाग प्रमुख सुवेदी भन्छन् ।

वैदेशिक रोजगार व्यवसायीहरु खाडी मुलुकमा महिला श्रमिकको माग पनि बढिरहेको बताउँछन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलका खाडी तथा विभिन्न राष्ट्रका बहुराष्ट्रिय कम्पनीहरुमा महिला कामदारको माग बढ्दो छ ।

तर यूएई, कतार र कुबेत बाहेकका खाडी मुलुक तथा मलेसियामा ‘सर्भिस’ अर्थात् सेवामूलक क्षेत्रमा महिला कामदारलाई पठाउन नेपाल सरकारले रोक लगाएको छ । यही कारण पनि माग अनुसारको महिला श्रमिकहरु पठाउन नसकिएको उनी बताउँछन् ।

‘सरकारले मापदण्ड तोकेरै भए पनि सेवा मुलुक क्षेत्रमा महिलाहरुलाई पठाउन खुला गर्न सके, ठूलो संख्यामा श्रमिकहरु पठाउन सक्छौं’, उनी भन्छन् ।

विभागका अनुुसार वैदेशिक रोजगारमा गएका महिलाहरु अधिकांश क्लिनर, होटल, फ्याक्ट्री ओर्करलगायतमा कार्यरत छन् । उनीहरुले न्यूनतम मासिक ३० देखि ४० हजारसम्म कमाइरहेका छन् भने दक्ष श्रमिकले भने ६० देखि ८० हजारसम्म कमाउने गरेका छन् ।

अवैध रुपमा जाने महिला तथ्यांक बाहिर

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेबारे तथ्यांक राखे पनि अवैध रुपमा जाने महिलाको तथ्यांक सरकारसँग छैन । वैदेशिक रोजगारी मामलाका जानकार महिलाहरुलाई विभिन्न प्रलोभन देखाएर मानव तस्करी र तीनका एजेन्टहरुले विभिन्न मुलुक पु¥याइरहेको बताउँछन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुुुसार खाडी मुलुक कुबेत, साउदी, ओमन, बहराइन र इराकमा ठूलो संख्यामा महिलाहरु घरेलु कामदारमा लैजाने गरेका छन् । ‘सरकारले घरेलु कामदार प्रतिबन्ध लगाए पनि भिजिट भिसा र भारतको बाटो हुँदै खाडी देशहरुमा गइरहेका छन्’, ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्र भन्छन्, ‘तथ्यांक नभए पनि यसरी जानेको महिलाहरुको आँकडा ठूलो छ ।’

विभिन्न संघसंस्था तथा सरोकारवालाहरुका अनुसार खाडी राष्ट्रहरुमामात्रै झण्डै ६० हजार महिलाहरु घरेलु कामदारमा गएको अनुमान छ । श्रम विज्ञ रामेश्वर नेपालका अनुसार विभिन्न प्रलोभन देखाएर आज पनि महिलाहरुलाई अवैध रुपमा लैजानेक्रम रोकिएको छैन । भन्छन्, ‘महिलाहरुलाई अवैध रुपमा पठाउने तस्करीको जालो ठूलो भए पनि नियन्त्रण हुन सकेको छैन । सरकार पनि यो विषयमा गम्भीर छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?