+
+
महेन्द्र राजमार्ग विस्तार :

१९ अर्बमा लाग्यो कमला–ढल्केबर–बागमती खण्डको ठेक्का

महेन्द्र राजमार्गलाई विभिन्न खण्डमा छुट्याएर चार लेनमा स्तरोन्नति गर्ने काम जारी छ । सोही क्रममा कमला–ढल्केबर–बागमती निर्माणको ठेक्का लागेको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८१ भदौ २ गते १८:३८
फाइल तस्वीर

२ भदौ, काठमाडौं । महेन्द्र राजमार्ग विस्तार अन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्ड निर्माण गर्न ठेक्का लागेको छ ।

सडक विभागले आइतबार सूचना प्रकाशित गर्दै उक्त खण्ड विस्तारका लागि निर्माण कम्पनी छनोट भएको जानकारी गराएको हो ।

सरकारले कमला–पथलैयासम्म यो खण्ड विस्तार योजना बनाएको छ । तर, बागमती–पथलैया खण्डमा मोडालिटी तय नभइसकेका कारण उक्त खण्डभन्दा अगाडिको खण्डमा मात्र ठेक्का लागेको हो ।

महेन्द्र राजमार्गलाई विभिन्न खण्डमा छुट्याएर चार लेनमा स्तरोन्नति गर्ने काम जारी छ । सोही क्रममा कमला–ढल्केबर–बागमती निर्माणको ठेक्का लागेको हो ।

सडक विभागले चैत २०८० मा ठेक्का आह्वान गरेको थियो । सोही क्रममा एक दर्जनभन्दा बढी निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए । तीन खण्डमा निर्माणको ठेक्का लागेको आयोजनामा एउटा ठेक्का भारतीय कम्पनीले पाएको छ । दुई ठेक्का भने चिनियाँ र नेपाली कम्पनीले हात पारेका छन् । आगामी तीन वर्षमा सम्पन्न गर्ने गरी यी ठेक्का कार्यान्वयन हुनेछन् ।

कुन खण्डमा कसले पाए ठेक्का ?

सडक विभागका अनुसार महेन्द्र राजमार्ग, कमला–ढल्केबर–बागमती खण्डको पहिलो २२ किलोमिटर सडक स्तरोन्नतिका लागि भारतीय कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेड छनोट भएको छ । यो खण्ड ५ अर्ब ७९ करोड ३७ लाख रुपैयाँमा ठेक्का लागेको हो ।

त्यसपछिको २९ किलोमिटर स्तरोन्नतिको जिम्मा चिनियाँ  र नेपाली निर्माण कम्पनी सान्सी वाटर रिसोर्स एन्ड हाइड्रोपावर इन्जिनियरिङ ग्रुप (स्वेग) र रसुवागढी कन्स्ट्रक्सन कम्पनी (आरसीसी) जेभीले पाएका छन् । यो खण्डको ठेक्का रकम ६ अर्ब ४३ करोड २५ लाख छ ।

तेस्रो खण्डमा कुल २३ किलोमिटर सडक निर्माणको ठेक्का लागेको हो । यो खण्डमा सोही स्वेग र आरसीसी जेभीले ठेक्का पाएका छन् । यस ठेक्काको रकम ६ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ छ ।

यस प्रकार कमला–ढल्केबर–बागमतीमा कुल ७४ किलोमिटरका लागि ठेक्काको टुंगो लागेको हो । अहिले महेन्द्र राजमार्गको ‘चेनेज २३८ प्लस ०३० देखि ३१२ प्लस ७८५’ सम्मका लागि ठेक्का लागेको हो । जसको कुल ठेक्का रकम १८ अर्ब ९५ करोड ४७ लाख बराबर छ ।

सरकारले महेन्द्र राजमार्गको कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नति गर्न विश्व बैंकबाट सहुलियतपूर्ण ऋण लिएको छ । जसमा नेपाल सरकारले आफ्नो स्रोतसमेत लगानी गर्छ । कमला–पथलैया सडक खण्डको कुल लम्बाइ १ सय ३० किलोमिटर हो । जसको कुल लागत ३७ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

कमला–ढल्केबर–पथलैया सडक खण्ड सिरहाको कमला नदीबाट सुरु हुन्छ । जुन बाराको पथलैयामा अन्त्य हुन्छ । यस खण्डले मधेश प्रदेशका सिरहा, धनुषा, सर्लाही, रौतहट र बारा गरी ६ जिल्ला छुन्छ । जसमा १५ नगरपालिका र १ उपमहानगरपालिका पर्छन् ।

महेन्द्र राजमार्ग विस्तार कहाँ–कहाँ ?

चालु आव २०८१/८२ को बजेटले महेन्द्र राजमार्गको स्तरोन्नति अन्तर्गत कमला–ढल्केबर–पथलैया र पथलैया–नारायणगढ खण्डमा स्तरोन्नतिको काम सुरु गर्ने घोषणा गरेको थियो ।

त्यस्तै बुटवल–गोरुसिंगे र भालुबाङ–लमही खण्डमा समेत यसै आवबाट स्तरोन्नतिको योजना सरकारको छ । अहिले नारायणगढ–बुवटल र कमला–कञ्चनपुर सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग विस्तारका लागिमात्र यस आवमा सरकारले २९ अर्ब ८८ करोड विनियोजन गरेको छ ।

हेर्नुहोस् सडक विभागको सूचना :

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?