+
+

पर्सामा ४६८ हेक्टर वन अतिक्रमण

रासस रासस
२०८१ भदौ ३ गते ७:२६
फाइल फोटो

३ भदौ, वीरगञ्ज । पर्सा जिल्लामा ४६८  हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले पर्साभरिका ४६८  हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । ‘स्थानीयवासीले साझेदारी तथा धार्मिक वनलाई कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसिरहेका छन्’, उनले भने, ‘वन अतिक्रमण गर्ने स्थानीयवासीलाई राजनीतिक दलले पनि अघोषित रूपमा समर्थन गर्ने परिपाटीले पनि वनजङ्गल जोगाउन समस्या भइरहेको छ । अतिक्रमणमा परेको वन हटाउन जाँदा राजनीतिक तवरबाटै प्रतिरक्षा गर्ने गलत परम्पराको विकास भइरहेको छ ।’

डिभिजन वन कार्यालयका अनुसार पर्सामा ४६८.१४९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । ठोरी गाउँपालिका वराह नजिकै रहेको वन २००.७० हेक्टर अतिक्रमणमा परेको छ । यो पर्साको सबैभन्दा धेरै अतिक्रमणमा परेको वनक्षेत्र हो ।

त्यसैगरी, गादीमाई साझेदारी वनक्षेत्र १६७.६८ हेक्टर, मधुवन क्षेत्रको वन ३२.४७ हेक्टर स्थानीयवासीले कब्जामा लिएका छन् । सखुवापर्सौनी साझेदारी वन ३३.२० हेक्टर, सबैया साझेदारी वन २२.२३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२.०६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख कर्णले जिल्लाभरिमा अतिक्रमणमा परेको वनमा करिब १ हजार ५०० को हाराहारीमा घरटहरा निर्माण भएको बताए ।

‘कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरीवेक्षण गर्न सकिरहेका छैनौँ’, उनले भने, ‘बेलाबखतमा स्थानीय प्रशासनसँग समन्वयमा अतिक्रमणमा परेको वनलाई फिर्ता ल्याउने प्रयास भइरहेको छ ।’

डिभिजन वन कार्यालयमा कुल १०० जना कर्मचारीको दरबन्दी भए पनि अहिले ५९ जनामात्र कार्यरत छन् । जसले गर्दा पनि नियमित रूपमा वन अनुगनम र निरीक्षण गर्न समस्या भइरहेको छ ।

पर्सामा ११ हजार ५७५ हेक्टर वनक्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । साझेदारी वन ११ हजार ४०९.१४ हेक्टरमा फैलिएको छ भने धार्मिक वन ३४.६३ हेक्टर क्षेत्रफलमा रहेको छ । निजी वन ११० हेक्टर, राष्ट्रिय वन ७.५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?