+
+
मनोभाव :

विकासे भेलले बगायो हामीलाई

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८१ भदौ ३ गते १०:१२

बीसको दशकमा गाउँमा कसैलाई सराप दिनुपर्‍यो भने ‘तेरो गाउँमा कांग्रेस पसोस्’ भन्थे रे ! तीसको दशकमा पूर्वी तराईका गाउँमा मान्छे काटिन थाले । गाउँलेले भन्न थाले, ‘तेरा गाउँमा नक्सलवादी पसोस् !’ त्यसपछिको आन्दोलनताका पञ्चायती निरंकुश राजमा मण्डले जन्म्यो । ‘तेरो घरमा मण्डले पसोस्’ भन्न थाले । यो सराप चालीसको दशकसम्म धेरैका मुखमा झुन्डिएर रह्यो ।

पचासको दशकमा च्याउसरी एनजीओ उम्रिए । विदेशी र स्वदेशी एनजीओको रजगज देशैभरि चल्यो । गाउँ-शहर सबै विकासे परियोजनाले ढाकियो । गाउँलेका भाषामा एनजीओ (बहुदले झार) बढ्यो ।

यस्ता विकासेका सन्दर्भमा नन्दराम श्रेष्ठले आफ्नो पुस्तक ‘इन द नेम अफ डेभलपमेन्टः रिफ्लेक्सन अफ नेपाल’ मा एउटा रोचक प्रसंग प्रस्तुत गरेका छन् । किताबमा लेखिए अनुसार, उनको पाउल नाम गरेको एकजना विदेशी साथीले बताएको विवरण सारांशमा यस्तो छ :

कुनै एउटा विदेशी परियोजनाले त्यतिबेलाको राप्ती अञ्चलमा गाईको नश्ल सुधार गर्न विकासेको सल्लाहमा अमेरिकाबाट साँढे झिकायो । गाउँमा लगेर रैथाने गाईलाई उक्त साँढे लगाइयो । तर साँढेले कति गर्दा पनि बाली लाग्न मानेन । असिनपसिन भएका विकासे सल्लाहकारले नयाँ जुक्ति निकाले । गाउँका जान्ने हेराउने धामी बोलाइयो । धामीले सबै कर्म गरेर काम्दै जोखाना हेरे । अनि ढ्याङ्ग्रो ठोक्दै भने– ‘यो साँढे बाली लाग्न हैन, सल्लाह मात्र दिन आएको हो ।’ यसैबाट थाहा हुन्छ कि किन गरे एनजीओलाई मानिसहरूले सत्तोसराप । यसैको सेरोफेरोमा माओवादी जन्मियो । गाउँमा केही बनायो, धेरै भत्कायो । गाउँमा केही जगायो, धेरै तर्सायो ।

बितेका ६ दशकमा धेरै कुरा फेरियो । हाम्रो समृद्धि सपना फेरिएन । अहिले कसैलाई सराप्नु पर्‍यो भने ‘तेरा गाउँमा समृद्धि (विकास) पसोस्’ भन्न थालेका छन् । यस्तो सत्तोसराप गर्नुपर्ने विकास, राई माइलाको गाउँमा बाटो भएर आयो । नारायण वाग्लेको गाउँमा बस चढेर आयो । मेरो गाउँमा भने त्यही बाटो बसको छत, टिपर र ट्याक्टरमा चढेर आयो । सुदूर गाउँघरमा त यो चिलगाडा र हेली चढेर आयो ।

समृद्धि चटकेले चमक–धमकको दुनियाँ देखाउँदै लावालस्करसँगै भित्र्याएको विकासे कुम्लोभित्र के पो छैन र ? हामीलाई मगन्ते, परनिर्भर, लालची र लाचार बनाउने विनाशको ललिपप छ । यसैको बाँडचुँडले बढाएको फुट, गुट र लुटको जादुमन्त्र छ । यसले भाइ-भाइ फुटाएको छ । सोझा निमुखालाई लुटाएको छ । एकआपसमा कुटाएको छ । गाउँघर फुटाएको छ । घरभित्रदेखि गाउँ समाज सबैको सम्बन्ध टुटाएको छ । भाइमारा, भ्रष्ट र दलाल सबैलाई एकैठाउँ जुटाएको छ । यसलाई भान्सा, चोटा, चौतारामा पुर्‍याउन शहरिया खटाएको छ । यो संसद्को खाजादेखि हाम्रा गाउँको डहरसम्म जताततै अटाएको छ ।

यो कुम्लोभित्र नचाहिने र नपाइने धेरै छ र चाहिने र पाइने थोरै छ । यसभित्र भोटसँग साट्न मिल्ने सजिलै ढाँट्न मिल्ने आश्वासनको पोको छ । यति हुँदा पनि मेरा गाउँमा विकास भित्र्याउने धोको छ । भौतिक विकासको चमकधमक छ । गाउँमा सिंहदरबार भित्रिएसँगै सयौं ‘राजा’हरू बनेका छन् । डोजर आतंक फैलाउँदै भित्ता, पहरा र चुरे सबै खनेका छन् । बाटा बनाउन आफैं इन्जिनियर बनेका छन् । बिजुली, खानेपानी, पाइखाना, विद्यालय भवन, भ्यूटावर, स्वागतद्वार र स्मारक छ ।

अझ अहिले त पानीजहाज र चुच्चे रेल समेत यसैमा थपिएको छ । खोलाभित्रै बस्ती पसेको छ, अन्यत्रको के कुरा गर्नु, काठमाडौं शहरमै डुवानको कहर छ ।

गाउँमा आएको विकासले अरू कसैलाई राहत थमाएको छ । तर मलाई आहत बनाएको छ । यसले हाम्रो स्वाभिमान लुटेको छ । नयाँ हुन् या पुराना भाषण मात्र गर्ने प्रति भरोसा टुटेको छ । गरेर खाने आत्मविश्वास र विवेक हराएको छ । सिंगो गाउँ शहर हुँदै विदेश निर्यातित भएको छ

खेती गरी खाने बेंसी फाँटमा ठड्याएका सलाइबट्टे कंक्रिटका घरमा आयात गरिल्याएको चामल, दाल र डाल्डा घिउ छ । सात समुद्रपारबाट आइपुगेको पत्रुखाना मात्र हैन शहरबाट पठाएको चाउचाउ, कुरमुरे, रक्सी, कोक र ड्यू छ । छिमेक देशबाट ल्याएको विषाक्त तरकारी फलफूल र पोकाको तेल छ । बियरदेखि देशी रक्सीसम्मको ठेलमठेल छ ।

नसड्ने प्लाष्टिकले गाउँशहर सबैै कब्जा गरेका छन् । पानी बग्ने ढल यिनैले भरिएका छन् । यिनैले थुनेको ढलबाट बाटैभरि फैलिएको मलमूत्रका भेल छन् । निगालो, बाँसका चोया, पटुवा र खरका डोका, खर्पन, डोरी नाम्लो, दाम्लो, नेती, जोतारा सारा हराएका छन् । सबै प्लाष्टिकका बाहिरैबाट आएका छन् । बर्थ डेदेखि बाको मुख हेर्दासम्म लगाउने यिनैको ताज छ । यिनको मात्र के कुरा, सुराही, गाग्री, मग, बाल्टी, थाल, कचौरा, सुपो र कुचोमा यिनैको मात्र राज छ । यो सबै देखेर ङिच्च दाँत देखाउने विकासेकोे चर्तिकला नाजवाफ छ ।

खेतबारी कैयौं वर्षदेखि बाँझै थाती छ । अलि अलि लगाएको बाली खान बाँदर, बँदेल, नीलगाई र दुम्सीको ताँती छ । मेरो बाख्राको टाट्ना र घरमा भएको पक्की पाइखानाभित्र जतनसँग थन्क्याएर राखेको अनुदानको हाते ट्याक्टर छ । खोपामा झार मार्ने विषादीको बट्टासँगै राखेको हजुरआमाले खाने सुगरको चक्की छ । आँगनको डिलमुनिको सुर्कोमा हावाको झोक्काले फिरफिराउँदै गरेको झुत्रो प्लाष्टिक टनेलको बुख्याँचा छ । बाटाघाटा र बारीभरि गुट्का, चाउचाउ र चकलेटको खोल छ । ढोकैनेरको भित्तामा अडेस लगाएको चिनीमलको धोक्रो छ ।

आयआर्जनका नाममा विकासेले बाँडेका १-२ बाख्रा र १०–२० कुखुराका चल्ला छन् । नानी भन्दा आची ठूला यिनै विकासका हल्ला छन् । यिनको हिसाब राख्ने समूह-समूहका भेला छन् । यो हेर्न आउने विकासेको मेला छ । काम भए-नभएको जाँच्न आउने विकासेको करोडौं पर्ने गाडी छ । आफ्नो समूह चिनाउन एकैनासको साडी छ । विकासेको स्वागतमा जाँदा यो लाउने हतारो छ । यिनका स्वागत गर्न फूलमाला बनाउने चटारो छ ।

मेरा गाउँमा के छैन ? विकासेले बनाइदिएको भूतबंगला जस्तो भवन छ । हामीलाई घाँस-दाउरा गर्न समेत नदिने वन छ । घर-घर पुग्ने चिप्लेटी बाटो छ । बंगला जान टुक्रिएको माटो छ । पानीको मुहान सुकेको छ । विकासको मुल पाखैभरि फुटेको छ । पानी नआउने धाराका टुटी र खुल्ला दिसामुक्त क्षेत्र भनी टाँसिएका बोर्ड यत्रतत्र छ । गाउँघरमा यस्ता विकासको हिसाब अलपत्र छ । कति बयान गरुँ, भनेर सकिंदैन । मलाई थाहा छ मुर्कुट्टाको शासन रहेसम्म यो केही रोकिंदैन ।

गाउँमा सरकारी स्कुल छ । १२ विद्यार्थी, ५ जना शिक्षक र ४ वटा भवन छन् । सँगै जोडिएको ठूलो होर्डिङ बोर्ड झुन्ड्याएको बोर्डिङ स्कूल छ । मनी एट्याक्स मनी (पैसाले पैसा तान्छ) भनी पढाउने पाठ छ । यी सबैको पैसा मात्र फलाउने साँठगाँठ छ ।

गाउँ बस्तीमा जब यो विकास पसेको छ, छेउछाउ बस्ने गरिब निमुखा सबैलाई डसेको छ । यिनैका नाममा बाँड्न आएको राहत छ । दिनभरि कुर्दा समेत यो नपाएर फर्केको रित्तो हात छ । यो विकास कता जान हिंडेको हो धेरैलाई थाहा छैन । थाहा पाउनेले भन्न नि भा’छैन । यसलाई नल्याई तल्लाघरेको घर चल्दैन । साँझ उसको चुलोमा आगो बल्दैन ।

नजिकैको चोटामा उठ्ने बित्तिकै फेसबुक चलाउन तम्तयार ९ मा पढदै गरेको छोरा छ । पर पिंढीमा टिकटक बनाउन भर्खर सजिएकी छोरी छ । मेरा गाउँमा सबै छ, युट्युब, फेसबुक र टिकटक चलाउने स्मार्ट मोबाइल छ । मोबाइलमा ४० कटेपछि रमाउँला गीत घन्केको छ । यसको खुराक सजिलै पुर्‍याउन क्यूआर कोड, ई–सेवाको इन्टरनेट सुविधा छ । तर मलाई यतै बसांै कि शहर पसौं द्विविधा छ ।

यो सब जोहो गरेर घरव्यवहार चलाउने पैसा छैन । गोजीमा पैसा नभए गाउँमा पात पनि हल्लिंदैन । मेरा गाउँमा विकासका नाममा झोलेलाई बाँड्ने अनुदान छ । यो थाप्न गाउँमै बसेको नेता जातिको हनुमान छ । विकास भित्र्याउँछु भन्दै यसले करोडौं कुम्ल्याएको मेरो अनुमान छ । उल्टै, हामीलाई ऋण दिने समूह, सहकारी र मिटरब्याजीको झेल छ । यिनैसँग मिलेर हामीलाई सिध्याउने खेल छ । गाउँमा पैसै नभएको त कहाँ हो र ? अरु घोडा चढे भनेर म धुरी चढेर भो र ?

खै मेरै त गाउँमा मन अडिएकै छैन । शहरको बाटो हुँदै युरोप, अमेरिका भासिने रहर नभएको, गाउँमा बस्ने मन भएको मान्छे छैन । के भनौं खै, जसरी होस् शहर पस्ने दाउ हेरेको साइलो छ । मलेसिया जान नपाएर झोक्राएको माइलो छ । दलालले ठगेर थेचारिएको कान्छो छ । इजरायल जान नपाएर निहुरमुन्टी परेकी छोरी छे । यूट्युब हेरेर तरकारी डढाउने तर के हेरिस्या बा भनेर उल्टै कराउने बुढी छे ।

पानी जस्तै बगेर गाउँको जवानी रित्तिएको छ । गाउँभरि फैलिएको विकासले निस्सासिएर छाती चिसिएको छ । जिन्दगी घुन जस्तै पिसिएको छ । के खाने के नखाने हरेसमा समेत विष मिसिएको छ । यस्ता दृश्य बयान गरेर हिसाब छैन । गणतन्त्र आयो भन्छन्, तर हाम्लाई निसाफ छैन ।

अन्त्यमा, गाउँमा आएको विकासले अरू कसैलाई राहत थमाएको छ । तर मलाई आहत बनाएको छ । यसले हाम्रो स्वाभिमान लुटेको छ । नयाँ हुन् या पुराना भाषण मात्र गर्ने प्रति भरोसा टुटेको छ । गरेर खाने आत्मविश्वास र विवेक हराएको छ । सिंगो गाउँ शहर हुँदै विदेश निर्यातित भएको छ । समृद्ध नेपाल र सुखी नेपाली भन्ने नेताको चहाना पूरा भएको छ । विकास पसे के के नै होला भन्ने मेरो सपना भने अझै अधुरै रहेको छ । अरू कति भनौं र हजुर अब त केही होला कि भन्ने आश समेत मरेको छ ।

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?