+

योनी दुखिरहनुको कारण के हो ?

२०८१ भदौ  ४ गते ११:४८ २०८१ भदौ ४ गते ११:४८
योनी दुखिरहनुको कारण के हो ?

कहिलेकाहीं महिलाले योनीमा अचानक पीडा महसुस गर्छन् । कुनैबेला लामो समयसम्म एकै अवस्थामा बस्दा वा यौन सम्पर्क गरेपछि योनीको दुखाइको अनुभव हुनसक्छ । जुन स्वभाविक हो ।

तर कतिपय महिलालाई भने पटक-पटक दुखाइ हुनसक्छ । त्यो दुखाइले दैनिकीमा नै प्रभाव पारेको छ भने त्यसलाई सामान्य र स्वभाविक रुपमा लिनु हुँदैन । यो स्वास्थ्य समस्याको संकेत हुनसक्छ ।

कतिपय महिला गुप्तांगमा दुखाइ भए पनि संकोच मानेर लुकाएर बस्न सक्छन् । कालान्तरमा त्यो सानो समस्या जटिल बन्न सक्छ ।

कारण के हुनसक्छ ?

बार्थोलिनको सिस्ट

योनीमा दुखाइ हुने सतही गाँठो छन् भने दुख्न सक्छ । यो एक प्रकारको संक्रमण हो, जसलाई बार्थोलिन सिस्ट भनिन्छ ।

योनीमा बार्थोलिन ग्रन्थीहरु हुन्छन् । जसमा कुनै कारणले अवरोध भएर  तरल पदार्थ जम्मा भई डल्लोको रूप लिन्छ । यदि बार्थोलिन सिस्टको आकार ठूलो छ भने यसले थोरै घर्षण हुँदा पनि पोल्ने र दुखाइ हुनसक्छ ।

के गर्ने ?

यो समस्या भएमा तुरुन्त स्त्रीरोग विशेषज्ञलाई देखाउनुपर्छ । विशेषज्ञले अवस्था हेरेर जमेको तरल पदार्थ निकाली बार्थोलिन ग्रन्थीमा भएको अवरोध खोलिदिन्छन् ।

यौन प्रसारित रोग

यौन प्रसारित रोग ब्याक्टेरिया वा भाइरसले लाग्ने गर्छ । यी दुईको सङ्क्रमण महिलाको यौनांगको भागमा असर गर्छ । जसकारण योनी दुखाइ हुनसक्छ ।

फंगल इन्फेक्सन, पिसाबजन्य संक्रमण, क्लायमेडिया, गोनोरिया, भिरिङ्गी जस्ता रोगले दुखाइ मात्र होइन, चिलाउने, पोल्ने र पिसाब फेर्दा समेत असहज गराउँछ ।

के गर्ने ?

माथि उल्लेखित लक्षण देखिए सरसफाइमा ध्यान दिनुका साथै चिकित्सकलाई जाँच गराउनुपर्छ । यसको जति छिटो उपचार हुन्छ, त्यति छिटो निको पनि हुन्छ । चिकित्सकले अवस्था हेरेर संक्रमणविरुद्ध खाने र लगाउने औषधि दिन सक्छन् । यसको नियमित सेवन गरेमा लक्षण पनि बिस्तारै कम हुँदै जान्छ ।

महिनावारी

कतिपय महिलालाई महिनावारी हुँदा पेटका साथै योनीमा पनि मध्यमदेखि तीव्र दुखाइ हुनसक्छ ।

महिनावारी भएको पहिलो दिन योनीमा भारीपन हुँदै दुखाइ अनुभव हुनसक्छ । तर यो दुखाइ सबैले गर्छन् भने हुँदैन ।

के गर्ने ?

हल्का दुखाइ हुनु सामान्य हो । तर तीव्र दुखाइ भइरहन्छ भने अन्य समस्याको कारण पनि हुनसक्छ । यस्तोमा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

फाइब्रोइड

पाठेघरमा फाइब्रोइड हुँदा पनि लक्षणको रुपमा योनीमा दुखाइ हुनसक्छ । फाइब्रोइड ३० देखि ५० वर्षको उमेरको कतिपय महिलालाई हुनसक्छ । फाइब्रोइडको आकार ठूलो छ भने योनीमा दुखाइ र घोचेको अनुभव हुनसक्छ । फाइब्रोइड हुँदैमा आत्तिहाल्नु पर्दैन । किनकि यी फाइब्रोइड क्यान्सरजन्य हुँदैनन् ।

के गर्ने ?

योनीमा कुनै समस्या छैन । तर गुप्ताङ्ग दुखेको, घोचेको र तल्लो ढाड दुखेको अनुभव दैनिकजसो अनुभव हुन्छ भने तुरुन्त चिकित्सकलाई भेट्नुपर्छ ।

चिकित्सकले लक्षणको आधारमा भिडियो एक्स-रे गरेर फाइब्रोइड छ कि भनेर हेर्न सक्छन् । फाइब्रोइड देखिएमा त्यसको बनावट र आकारको आधारमा उपचार प्रक्रिया अगाडि बढ्छ ।

नर्मल डेलिभरी

नर्मल डेलिभरीबाट प्रसूति गराउँदा योनीमा दबाब पर्ने हुँदा दुख्न सक्छ । त्यस्तै, त्यसमा रहेको नरम तन्तु च्यातिएमा टाँका राख्नुपर्ने हुन्छ । यो अवस्थामा पनि अत्यधिक दुखाइ हुन्छ । यसबाट भएको दुखाइ केही दिनमा ठीक हुँदै जान्छ ।

टाँका लगाइएको केसमा त सो भाग चिलाउने र पोल्ने पनि हुनसक्छ ।

के गर्ने ?

दुखाइ ६ साता भन्दा बढी रहेमा चिकित्सकलाई समस्या उल्लेख गर्नुपर्छ । घाउको अवस्था हेरेर त्यसको उपचार हुनसक्छ ।

योनी सुक्खा हुनु

योनीमा सुक्खापन हुनु आम महिलाको समस्या हो । यो अवस्थामा योनी तन्किएको जस्तो अनुभव हुनसक्छ । जसकारण योनीमा असह्य दुखाइ अनुभव हुन्छ । यो अवस्थामा यौन सम्पर्क गरेमा घर्षण हुँदा योनीमा पोल्ने र दुख्ने हुनसक्छ । योनीमा सुक्खा हुने कारण हर्मोनल परिवर्तन हुनसक्छ । रजोनिवृत्ति हुँदा, तनाव र कुनै औषधिको ओभर डोज हुँदा पनि महिलाको योनीमा चिल्लोपन कम हुन्छ । जसकारण दुखाइ हुनसक्छ ।

के गर्ने ?

चिकित्सकको सल्लाहमा केमिकल रहित लुब्रिकेन्टको प्रयोग गरेमा यो समस्या समाधान हुनसक्छ ।

एन्डोमेट्रिओसिस

एन्डोमेट्रिओसिस एक दुर्लभ समस्या हो । जसमा पाठेघरभन्दा बाहिर रहेको तन्तु बढ्छ । पेटसँगै योनीमा पनि दुखाइ हुनसक्छ ।

एन्डोमेट्रिओसिसले महिनावारी हुँदा रगत पाठेघर बाहिर झरेर जम्मा हुन थाल्छ । यो रगतको कारण, सिस्ट वा गाँठो बढ्न थाल्छ । योसँगै दुखाइ पनि बढ्न थाल्छ ।

सबैभन्दा बढी महिनावारीमा र यौनसम्पर्क गर्दा योनी पोल्ने र दुख्ने गर्छ । यद्यपि एन्डोमेट्रिओसिसका लागि कुनै ठोस उपचार छैन । तर लक्षणहरू व्यवस्थापन भने हुनसक्छ ।

के गर्ने ?

केही दुखाइ व्यवस्थापन र हर्मोन थेरापीले पनि यसको लक्षण कम हुनसक्छ । जुन चिकित्सकको सल्लाहमा मात्र लक्षणको आधारमा दिइन्छ । एन्डोमेट्रियोसिसको आकारप्रकार बढेको छ भने शल्यक्रिया गरेर निकालिन्छ । जसमा अहिले विना चिरफार ल्याप्रोस्कोपी, इन्टरभेन्सनल पद्धति र शल्यक्रियाको सुविधा नेपालमा छ ।

कतिपय महिलालाई एउटै शल्यक्रियापछि आराम मिल्छ भने कसैलाई तीन–चारवटा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

डा. उपमा बस्नेत योनी दुखाइ स्त्रीरोग
डा. उपमा बस्नेत
लेखक
डा. उपमा बस्नेत
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. बस्नेत हाल वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१११२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?