
५ भदौ, काठमाडौं । भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ ।
एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले बुधबार सूचना जारी गरी नेपाली कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलपत्र पेस गर्ने म्याद आगामी ११ सेप्टेम्बर अर्थात् २६ भदौसम्म छ ।
जलाशययुक्त ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना डोटी जिल्लामा बन्ने छ ।
चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता तोडिएपछि अलपत्र पारेको पश्चिम सेती आयोजना तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एनएचपीसी इन्डियालाई दिएको थियो ।
लगानी बोर्डले भदौ २०७९ मा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र एनएचपीसीलाई दिएको थियो ।
सोही वर्षको माघ महिनामा एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक (इन्सेप्सन) प्रतिवेदन लगानी बोर्डलाई बुझाएको थियो ।

प्रतिक्रिया 4