+

मुटुले कसरी शरीरमा रक्त प्रवाह गर्छ ?

२०८१ भदौ  ५ गते १२:५१ २०८१ भदौ ५ गते १२:५१
मुटुले कसरी शरीरमा रक्त प्रवाह गर्छ ?

मुटु शरीरको मुख्य अङ्ग हो । यसको मुख्य काम शुद्ध रगत शरीरका सबै अङ्गमा आपूर्ति गर्नु हो । किनकि मुटुले रगत पम्प गर्ने काम गर्छ । यस प्रक्रियामा मुटु खुम्चिने र फुक्ने हुन्छ । यस कार्यमा अवरोध आएमा हृदयरोगको जोखिम बढ्छ ।

हृदय मार्फत रक्त प्रवाह

मुटु एक शक्तिशाली मांसपेशीयुक्त अङ्ग हो, यसको आकार एक मुठ्ठी बराबरको हुन्छ । हरेक क्षण यसले शरीरमा पोषक तत्त्व र अक्सिजनयुक्त रगत पम्प गर्छ । प्रत्येक मुटुको धड्कनसँगै मुटुले रक्तसञ्चार प्रणाली मार्फत रगत पठाउँछ । मुटुबाट पम्प गरिएको रगतले शरीरभरिका अन्य तन्तुहरूमा अक्सिजन र पोषक तत्त्वहरू पुर्‍याउँछ । यसले तन्तुहरूबाट कार्बन डाइअक्साइड जस्ता फोहोर उत्पादनहरू पनि हटाउँछ । यसरी मुटुबाट रक्त सञ्चालन भइरहेको हुन्छ ।

रक्तसञ्चार प्रणाली

रक्तसञ्चार प्रणाली रक्त वाहिकाहरूको नेटवर्क हो । रक्तनलीहरु शरीरको वरिपरि रगत बोक्ने सानो ट्युबहरू हुन् । मुटुमा रगत प्रवाह तीन प्रकारका रक्त नलीबाट हुन्छ । जसमा धमनीहरूले अक्सिजनयुक्त रगतलाई हृदयबाट टाढा लैजान्छ । कोषिकाहरु सानो र पातलो रक्तवाहिकाहरू हुन्, जुन शिराहरू र धमनीहरूबीच जोडिएका हुन्छन् । शिराहरूले शरीरको तन्तुबाट कार्बन डाइअक्साइडयुक्त रगतलाई हृदयमा फर्काउँछ ।

मुटुबाट रगत कहाँ बग्छ ?

मुटु आफैंमा रक्तनलीहरूबाट पोषित मांसपेशीहरू मिलेर बनेको हुन्छ । मुटुमा चारवटा कोठा हुन्छ । ती कोठाहरू घरको कोठा जस्तै हुन्छन् । मुटुको रेखाचित्र हेर्दा यी कोठाहरू माथिल्लो र तल्लो, दायाँ र बायाँ गरेर चारवटा कोठामा विभाजित हुन्छन् ।

एट्रिया मुटुका माथिल्ला कोठाहरु हुन् । एट्रियम पनि दायाँ र बायाँमा छुट्याइएको हुन्छ । भेन्ट्रिकल्स  मुटुका तल्ला कोठाहरु हुन् । यसलाई दाहिने भेन्ट्रिकल र बायाँ भेन्ट्रिकल छुट्याइएको हुन्छ ।

तल्लो र माथिल्लो कोठाहरूको बीचमा मुटुको भल्बहरु हुन्छ । यी भल्बहरु मुटु खुम्चिने र फुक्ने क्रममा रक्तप्रवाह हुँदा बन्द र खुला हुने हुन्छन् ।  यिनीहरूले रगतको प्रवाहलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

एओर्टिक भल्ब : यसले बायाँ भेन्ट्रिकल र मुख्य धमनी (एओर्टा) लाई जोड्छ । यो शरीरभरि रगत बोक्ने ठूलो धमनी हो ।

माइट्रल भल्ब : यसले बायाँ एट्रियम र बायाँ भेन्ट्रिकल जोड्छ ।

पल्मोनरी भल्ब : यसले दाहिने भेन्ट्रिकल र फोक्सोमा रगत पुर्‍याउने धमनीलाई जोड्छ ।

ट्राइकस्पिड भल्ब : दायाँ एट्रियम र दायाँ भेन्ट्रिकल जोड्छ ।

मुटु मार्फत रक्त प्रवाह कसरी नियन्त्रण गरिन्छ ?

मुटुको दायाँ र बायाँ छेउले शरीरभरि उचित रक्त प्रवाह सुनिश्चित गर्न एकसाथ काम गर्छ । मुटुको मध्यम भागबाट रगतको प्रवाह चरणबद्ध रूपमा हुन्छ ।

दायाँतर्फ

शरीरभरिबाट कम अक्सिजन भएको रगत दुईवटा ठूला नसाहरु (इन्फेरियर भेनाकाभा र सुपेरियर भेनाकाभाबाट दाहिने कोठा (एट्रियम) मा प्रवेश गर्छ । रगतलाई दाहिने एट्रियमबाट दाहिने भेन्ट्रिकलमा जाने क्रममा अनुमति दिन ट्राइकस्पिड भल्ब खुल्छ ।

जब दाहिने भेन्ट्रिकल भरिन्छ, यो संकुचित हुन्छ, यसबेला ट्राइकस्पिड भल्ब बन्द हुन्छ र पल्मोनरी भल्ब खुल्छ । रगत पल्मोनरी धमनीबाट फोक्सोमा पुग्छ, जहाँ कार्बन डाइअक्साइड फ्याँकी अक्सिजन प्राप्त गर्छ ।

बायाँतर्फ

अक्सिजनयुक्त रगत फोक्सोबाट पल्मोनरी शिराहरू हुँदै बायाँ एट्रियममा आउँछ । बायाँ एट्रियमबाट बायाँ भेन्ट्रिकलमा रगत पठाउन माइट्रल भल्ब खुल्छ ।

जब बायाँ भेन्ट्रिकल भरिन्छ, यो संकुचित हुन्छ, जसले माइट्रल भल्ब बन्द हुन्छ भने एओर्टिक भल्ब खुल्छ । मुटुले एओर्टिक भल्भ मार्फत रगत शरीरका विभिन्न भागतिर पठाउँछ ।

मुटुले कति रगत पम्प गर्छ ?

मुटुले हरेक दिन करिब २ हजार ग्यालेन बराबर रगत पम्प गर्छ । त्यो ८ बाइ १० फिटको स्वीमिङ पुल भर्न पर्याप्त हुन्छ । यो प्रतिदिन लगभग एक लाख पटक धड्कन्छ । लगभग ७९ वर्षको औसत आयुमा मुटु लगभग २.९ बिलियन पटक धड्किन्छ ।

मुटुको माध्यमबाट हुने रक्त प्रवाह केही स्वास्थ्य अवस्थाहरूले प्रभावित हुनसक्छ ।

एरिथमिया

मुटुको चाल अनियमित हुनु एरिथमिया हो । यसको अर्थ हृदयको धड्कन सामान्य चालले चलिरहेको छैन । यो अवस्थाले हृदयबाट रक्त प्रवाहलाई असर गर्न सक्छ ।

हार्ट फेलियर

हृदयको मांसपेशीमा क्षति हुँदा हार्ट फेलियर हुन्छ । जसले गर्दा मुटुले शरीरको बाँकी भागमा रगत पम्प गर्न गाह्रो हुन्छ र मुटुको माध्यमबाट रक्त प्रवाहलाई असर गर्छ ।

कोरोनरी आर्टरी डिजिज

कोरोनरी आर्टरी डिजिजमा मुटु आफैंलाई अक्सिजनयुक्त रगत आपूर्ति गर्ने धमनीहरूमा प्लाक जम्मा हुन्छ । जसले मुटुको मांसपेशीमा रगत पुर्‍याउने धमनीहरूलाई कडा र साँघुरो पार्छ । जसकारण मुटुको रक्तसञ्चार प्रभावित हुन्छ ।

हृदयघात

कोरोनरी धमनीमा अचानक अवरोध आउँदा मुटुको मांसपेशीमा अक्सिजनको आपूर्ति बन्द हुन्छ । जसकारण मुटुको रक्तसञ्चारमा नराम्रो असर पर्छ ।

मुटुको जन्मजात समस्या

गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री आकृति तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘कन्जेनाइटल हार्ट डिफेक्ट’ भनिन्छ । यस्तो समस्यामा पनि रक्तसञ्चारमा प्रभाव पर्छ ।

मुटुको स्वास्थ्य सुधार गर्न के गर्ने ?

– तौल नियन्त्रण गर्ने र स्वस्थ वजन कायम राख्ने

– फलफूल, सागसब्जी र सम्पूर्ण अन्न लगायत पोषक तत्त्वले भरिपूर्ण तथा सन्तुलित खाना खाने

– साप्ताहिक रूपमा लगभग १५० मिनेट एरोबिक व्यायाम गर्ने

– चुरोट, रक्सी सेवन नगर्ने

– योग र ध्यान गरेर तनाव व्यवस्थापन गर्ने ।

डा. अभिषेक ठाकुर मुटु स्वास्थ्य
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?