+
+

कोशीमा सत्तापक्षमा बसेर प्रतिपक्षको सुविधा लिँदै कांग्रेस नेता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १६:५४

५ भदौ, विराटनगर । गत असारमा सत्ता समीकरण फेरिएपछि सत्तापक्षमा पुगेको नेपाली कांग्रेसले कोशी प्रदेशमा भने प्रतिपक्षी दलको सुविधा लिइरहेको पाइएको छ ।

१२ साउनमा चारवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंग्याउन सकेको छैन, तर गत साउनमा प्रदेशसभा बैठक बस्दा सत्तापक्षकै बेन्चमा बसेको थियो ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पाउने सुविधा पनि प्रदेशसभा सचिवालयबाट लिइरहेको पाइएको छ । प्रदेशसभा सचिवालय स्राेतका अनुसार साउनको सेवा सुविधा सांसद तथा पदाधिकारीलाई पठाइसकिएको छ।

काेशी प्रदेशसभा सचिवालयका सचिव गाेपाल पराजुलीले प्रदेशसभाकाे अभिलेखमा माओवादी केन्द्र सत्तापक्ष र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेकाे जानकारी दिए ।

‘माओवादीका मन्त्रीले राजीनामा दिएपनि संसदलाई सरकार छाडेको जानकारी गराएकाे छैन, सरकारमा सहभागी हुने निर्णय गरेकाे कांग्रेसले पनि संसदलाई कुनै जानकारी दिएको छैन । हाम्रो अभिलेखमा माओवादी सत्तापक्ष र कांग्रेस प्रतिपक्षमा छ’, उनले भने, ‘लिखित जानकारी आएको छैन ।’

प्रमुख प्रतिपक्षी दलका नेताले अन्य सांसदले भन्दा बढी तलब र सुविधा पाउँछन् । प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा कांग्रेस सांसद थापाले मासिक पारिश्रमिक ५९ हजार रुपैयाँ पाउँछन् । त्यस बाहेक गाडी, सवारी चालक र हरेक महिना १२५ लिटर इन्धन सुविधा पाउँछन् । आवास सुविधा बापत २१ हजार, सञ्चार सुविधा ३ हजार र अतिथि सत्कारका लागि हरेक महिना ५ हजार सुविधा प्राप्त गर्छन् ।

प्रमुख प्रतिपक्षी दलको नेता बाहेक सत्तापक्षका प्रमुख सचेतक र सचेतकले पनि प्रदेशसभाका अरु दलका पदाधिकारीले भन्दा बढी सुविधा प्राप्त गर्छन् । प्रमुख सचेतकले पारिश्रमिक बापत मासिक ५७ हजार ८२०, सञ्चार सुविधा ३ हजार, सवारी साधन पनि पाउँछन् ।

गाडी नभए मासिक १५ हजार पाउँछन् । प्रमुख प्रतिपक्षी दलको सचेतकले पनि पारिश्रमिक ५५ हजार ४६० र यातायात खर्च मासिक ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।

कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दलको सुविधा कांग्रेस दलका नेता उद्धब थापा, प्रमुख सचेतक गोपाल तामाङ र सचेतक शोभा चेम्जोङले प्राप्त गरिरहेका छन् ।

सरकारमा सहभागी भएको दुई महिनासम्म प्रतिपक्षी दलको सुविधा कांग्रेसले नछोड्नु आश्चर्यजनक रहेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् ।

‘उहाँहरु सत्तापक्षमा गएको दुई महिना भइसक्यो, तर प्रमुख प्रतिपक्षीको सुविधा लिइरहनुभएको छ’, उनले भने, ‘सत्तापक्ष बन्ने अनि प्रतिपक्षीको सुविधा पनि काम भइरहेको छ ।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले भने १४ भदौपछि प्रतिपक्षी दलका रुपमा पाएको सुविधा त्याग्ने बताए ।

कोशी प्रदेशसभामा माओवादी केन्द्रले पनि मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता नलिएकाले प्रतिपक्षी दलको दाबी गर्न नमिल्ने तामाङले बताए ।

‘अहिले माओवादी प्रतिपक्षी हो भन्ने देखिएको छैन, सदन पनि बसेको छैन’, उनले भने, ‘सदन सुरु भएपछि सत्ता पक्षमा बस्छौं, सुविधा पनि छाड्छौं ।’ कोशीमा १४ भदौमा प्रदेशसभा बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?