+
+

इलामको देउमाईले रोक्यो एकल पुरुष र अविवाहित महिलालाई दिँँदै आएको भत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते ९:४०

६ भदौ, इलाम । इलामको देउमाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका नाममा एकल पुरुष, अविवाहित महिला, तेस्रोलिंगी भत्ता, जेष्ठ नागरिक पोशाक भत्तालगायत शीर्षकमा बाँड्दै आएको भत्ता रोकेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण नगर्न नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन र संघीय मामिला मन्त्रालयले पत्र पठाएपछि देउमाईले भत्ता वितरण रोकेको हो । देउमाई नगरपालिकाको आर्थिक वर्ष ०७५/७६ को नगरसभाले एकल पुरुष, अविवाहित महिला (४५ माथि), तेस्रोलिंगीलगायतलाई मासिक रुपमा भत्ता दिने निर्णय गरेको थियो ।

देउमाईले ती शीर्षकमा मात्रै बर्सेनि  लाखौं रुपैयाँ खर्चिँदै आएको थियो । नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्ममा एक सय ९८ जना एकल पुरुषले २३ लाख २७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई मासिक १ हजार रुपैयाँका दरले भत्ता दिँदै आएको हो ।

देउमाईले आर्थिक वर्ष २०७९/८० मा नगरक्षेत्रका २०७ जना एकल पुरुषलाई २४ लाख ८४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।

त्यस्तै, आर्थिक वर्ष ०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई १० लाख ८९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । तेस्रो लिंगीका लागि मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताए ।

‘ग’ वर्ग अपांगता भएका ९२ जनालाई ५ लाख ४५ हजार पाँच सय र आर्थिक वर्ष ०८०/८१ मा ‘ग’ वर्ग अपांगता भएका ९२ जनाले ५ लाख ४५ हजार पाँच सय रुपैयाँ भत्ता पाएका छन् ।

देउमाईका मेयर सूर्यप्रसाद पोखरेलले हाललाई केही भत्ता कार्यक्रम स्थगन गर्ने कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको जानकारी दिए ।

‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन भए पनि सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ ।

देउमाईले सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत पाँच हजार रुपैयाँका दरले दुई पटकसम्म, दाहसंस्कारमा पाँच हजार र दीर्घरोगीलाई एकपटक पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?